कोहलपुर हत्या घटनाः आरोपितको बहिनीको घरमा भेटियो चन्द्रबहादुरको टाउको



बाँके ।

कोहलपुरमा दसैँको राति चन्द्रबहादुर कामीको टाउको नभएको शव फेला परेको दुई दिनपछि प्रहरीले शवको टाउको पनि फेला पारेको छ । कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेटाएको दुई दिनपछि टाउको भेट्टिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर घरको सेप्टिको ट्यांकी भित्र सोमबार फेला परेको हो । हत्यामा प्रयोग भएको हँसिया पनि सेप्टिक ट्यांकीमै भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) आयुष्मान जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट रोल्पा घर भई कोहलपुर– १८ पिपिरीमा बहिनीको घर बस्दै आएका २७ वर्षीय अनिल परियारको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले बताएका छन् । टाउको भेटिएको सेप्टिक ट्यांकी अनिलकी बहिनी अनिताको घरको हो । अनिल भने फरार रहेको र उनको खोजी भइरहेको उनले बताए ।

दसैँका दिन चन्द्रबहादुर र अनिलले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसक्रममा उनीहरूबीच विवाद उत्पन्न भएपछि अनिलले धारिलो हतियार प्रहार गरी रामचन्द्रको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

रामचन्द्रको टाउको र शरीर अलग भएपछि अनिलले प्लाष्टिकको झोलामा राखेर टाउको लिएर गएको दृश्य सिसिटिभी फुटेजबाट देखिएको थियो ।

सोमबार अनिल बस्दै आएको घरमा प्रहरी पुगेको थियो । सोही क्रममा शंकास्पद देखिएपछि प्रहरीले सेप्टिक ट्यांकी खोलेर हेरेको थियो ।
टाउको भेटिएपछि प्रहरीले अनिलकी बहिनीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

फरार रहेका अनिल यसअघि वैशाखमा मात्रै जेलबाट रिहा भएको खुलेको बाँके प्रहरीले जनाएको छ । उनी बलात्कार मुद्दामा दोषी ठहर भई जेल सजाय काटेर रिहा भएका थिए ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार