उद्घाटनको एक महिनासम्म नगर अस्पतालमा भएन स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन



कोहलपुर ।

कोहलपुर नगरपालिका नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तामझामका साथ गत साउन २५ गते उद्घाटन गरे । भदौ १ गतेबाट सञ्चालनमा ल्याउने गरेर स्वास्थ्य बिमा कार्यक्रमको मन्त्री पौडेलले उद्घाटन गरेका थिए ।

तर, उद्घाटन गरेको एक महिना बितिसक्दा पनि स्वास्थ्य बिमा कार्यक्रम अझै सञ्चालनमा आउन सकेको छैन । ‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने मूल नाराका साथ उद्घाटन भएको स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्म सञ्चालनमा आउन नसक्दा सेवा लिन पुगेका सेवाग्राहीहरू त्यत्तिकै फर्किनुपर्ने अवस्था रहेको छ ।

नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आउन नसक्दा अहिले पनि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नगरपालिकाभित्र रहेका नागरिकलाई बैजनाथ गाउँपालिका नै पुग्नुपर्ने बाध्यता छ । कोहलपुर नगर अस्पतालबाट भदौ १ गतेदेखि सञ्चालनमा आउने खबरले हर्षित भएका नागरिकहरू अस्पतालमा पुग्दा निराश भएर फर्कने गरेको स्थानीय बताउँछन् ।

बिमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भए पनि नगरपालिका खाता सञ्चालन नहुँदा औषधि खरिदका लागि केही समय लागेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार नगरपालिका खाता सञ्चालन गर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुँदा केही समय लागेको हो ।

बिमाअन्तर्गत १२ सय प्रकारका औषधि खरिद गरेर ल्याउन केही समय लागेकाले अब छिट्टै सञ्चालनमा आउने उनले जानकारी दिए । ‘स्वास्थ्य बिमा भएकाले नागरिकहरूलाई निःशुल्क औषधि उपचार गर्नुपर्छ,’ वडाध्यक्ष शाहाले भने, ‘त्यसैले औषधि खरिदका लागि खाता सञ्चालन नहुँदा केही समय लाग्यो ।’

कोहलपुरबाटै स्वास्थ्य बिमा कार्यक्रम लागू हुने खबरले नगरपालिकाका बासिन्दालाई निकै सहज हुने आशा गरे पनि सञ्चालनमा आउन नसक्दा दुःख लागेको स्थानीय अनिता थारूले बताइन् । ‘बनकटुवा गएर रेफरल लेटर लिएर भेरी अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता हट्ने आशा गरेका थियौँ,’ उनले भनिन्, ‘तर, अहिले पनि नगरबासीका स्वास्थ्य समस्या ज्यूँका त्यूँ छन् ।’

कोहलपुरबासीलाई बनकटुुवा पुगेर चिठी ल्याउन र भेरीमा गएर दशौँ दिनसम्म पालो कुरेर उपचार गराउनुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘नगर अस्पतालबाटै यो सेवा सुरु भएपछि कोहलपुरबासीलाई धेरै सुविधा हुने आशा लिएका थियौँ,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार