ऐतिहासिक भएकाले मेरो जीत सुनिश्चित छ: धिताल



विगत केही समयदेखि संघमा नेपाली कांग्रेसले बहुमतसहित नेतृत्व सम्हाल्दै आएको अवस्था हो । त्यतिमात्र होइन, स्थानीय सरकारमा समेत बहुमतसहित नेपाली कांग्रेसकै नेतृत्व छ । यति हुँदाहुँदै पनि संघको वर्तमान नेतृत्वले आफ्नै पार्टीको नेतृत्वमा रहेको स्थानीय सरकारसँग समेत समन्वय गरेन । यसले गर्दा पनि कतिपय व्यापारी साथीहरूले दुःख पाउनुपरेको अवस्था रह्यो । यी सबै कुराको विश्लेषण गर्दा मेरो जीत सुनिश्चित छ भन्ने मलाई लाग्छ ।

अन्जना धिताल
अध्यक्ष पदका उम्मेदवार
प्रगतिशील व्यावसायिक प्यानल

१. कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि यहाँको उम्मेदवारी परेको छ । तपाईंको यो उम्मेदवारी किन, केका लागि ?

पछिल्लो समय कोहलपुर उद्योग बाणिज्य संघको लोकप्रियता घट्दै गएको छ । यसको प्रत्यक्षदर्शी म पनि हुँ । हिजोका दिनमा कोहलपुर उद्योग बाणिज्य संघको बेग्लै छवि र लोकप्रियता थियो । उत्साहपूर्वक व्यापारीहरू यसमा आबद्ध भएका थिए ।

तर पछिल्ला दिनमा त्यो कायम रहन सकेन । त्यसैले व्यापारीहरूलाई संगठित गरेर संघको पुरानो विरासत र लोकप्रियतालाई फर्काउन नै अध्यक्षका लागि मेरो उम्मेदवारी परेको हो ।

२. चुनावमा तपाईंले नै जित्ने आधारहरू के छन् त ?

मलाई लाग्छ, यसपटक म र मेरो नेतृत्वमा रहेको प्रगतिशील व्यावसायिक समूहले नै विजय हासिल गर्छ । यसमा म निकै आशावादी छु । किनभने कोहलपुर बाणिज्य संघको इतिहासमै पहिलोपटक एक जना महिलाको नेतृत्वको टिम खडा भएको छ ।

संघको २५ वर्षको इतिहासमा अहिलेसम्म नेतृत्वका लागि महिलाले उम्मेदवारी नदिएको अवस्था थियो । करिब ७५ प्रतिशत महिला दिदीबहिनी भोटर रहेको संघमा अहिलेसम्म महिलालाई नेतृत्व दिने कुरामा उदासिनता देखाइयो । त्यो अवस्थालाई चिर्नका लागि मेरो नेतृत्वमा समूह तयार भएको छ ।

यो यस क्षेत्रका उद्योगी व्यापारीहरूका लागि पनि गौरवको कुरा हो । अर्कोतिर वर्तमान नेतृत्वले गरेका काम कारबाहीबाट यस क्षेत्रका उद्योगी व्यापारी साथीहरू कत्ति पनि सन्तुष्ट हुनुहुन्न । म आफैँ पनि वर्तमान कार्यसमितिप्रति सन्तुष्ट छैन । संघको वर्तमान कार्यसमितिको टोली एकपटक पनि व्यापारीको घरदैलोमा पुग्ने कष्ट गरेन ।

व्यापारी साथीहरू अनेकौँ समस्याहरूबाट गुज्रिरहँदा पनि उनीहरूलाई सान्त्वना दिनसम्म वर्तमान नेतृत्वले रुचि देखाएन । त्यसैले सबै व्यापारी साथीहरूलाई समेट्नका लागि पनि यसपटक वैचारिक हिसाबले पनि नेतृत्व फेर्नुपर्छ भन्ने धेरै साथीहरूको मत छ । मलाई धेरैतिरबाट सहयोग र समर्थन पनि छ ।

हाम्रो जीतका लागि अर्को दर्बिलो आधार के हो भने विगतमा संघमा ३४ सयभन्दा बढी सदस्य बनाइएको थियो । चुनावमा दुरूपयोग गर्नकै लागि बर्दिया, राप्ती सोनारीलगायतका अन्य पालिकाबाट समेत सदस्यता वितरण गरिएको थियो । भोटिङ गर्ने केही सदस्य त यहाँका केही सहकारीका केही कलेक्टर साथीहरू पनि हुनुहुन्थ्यो । त्यस्ता सदस्यताहरू कटौती गर्दै अहिले हामीले १७ सय हाराहारीमा सदस्य सङ्ख्या झारेका छौँ । अहिले यहाँका विशुद्ध व्यापारी मात्र सदस्य हुनुहुन्छ ।

३. आममानिसहरूमा दलहरूप्रति वितृष्णा बढ्दै गएका बेला तपाईंले दलीय प्रतिनिधित्वका आधारमा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएको छ । यस्तो अवस्थामा चुनाव थप चुनौतीपूर्ण देख्नुभएको छैन ?

तपाईंको प्रश्नसँग म सहमत छु । पछिल्लो समयमा आमसर्वसाधारण राजनीतिक दलहरूप्रति असन्तुष्ट छन् । अहिले मैले एमालेका तर्फबाट उम्मेदवारी दिए पनि म संघमा मूलतः यहाँका उद्योगी व्यापारीका समस्या समाधान गर्नका लागि नै जान लागेको हो ।

एउटा व्यक्तिले आफैँले केही गर्न सक्ने कुरा हुँदैन । संगठन नै सबैभन्दा ठूलो बल हो । तर संघमा पुगेपछि यहाँका सबै उद्योगी व्यापारीहरूलाई समेटेर, उनीहरूका समस्या समाधानका लागि उनीहरूसँग एकाकार भएर नै म अगाडि बढ्नेछु ।

४. विगत लामो समयदेखि प्रजातान्त्रिक समूहले नै संघमा बहुमतसहित नेतृत्व लिँदै आएको अवस्थामा तपाईंको चुनाव जित्ने दाबीलाई कसरी बुझ्ने ?

हो, यो कुरा साँचो हो । विगत केही समयदेखि संघमा नेपाली कांग्रेसले बहुमतसहित नेतृत्व सम्हाल्दै आएको अवस्था हो । त्यतिमात्र होइन, स्थानीय सरकारमा समेत बहुमतसहित नेपाली कांग्रेसकै नेतृत्व छ ।

यति हुँदाहुँदै पनि पछिल्लो समय विकसित घटनाक्रमहरूले पनि हाम्रो नेतृत्वको माग गरिरहेको मैले महसुस गरिरहेकी छु । संघको वर्तमान नेतृत्वले आफ्नै पार्टीको नेतृत्वमा रहेको स्थानीय सरकारसँग समेत समन्वय गर्न नसक्दा पनि कतिपय व्यापारी साथीहरूले दुःख पाउनुपरेको अवस्था रह्यो ।

यी सबै कुराको विश्लेषण गर्दा मेरो जीत सुनिश्चित छ भन्ने मलाई लाग्छ । फेरि अर्कोतिर म विगत २५ वर्षदेखि यहीँ सामाजिक, राजनीतिक र आर्थिक गतिविधि गर्दै आएकी व्यक्ति हुँ । मैले अहिलेसम्म कुनै व्यक्ति र समाजको अहित हुने काम गरेकी छैन ।

आफ्नो आर्थिक, सामाजिक वा राजनीतिक जीवनमा दाग लाग्ने कुनै काम गरेकी छैन । त्यसैले पनि यसपटक यहाँका व्यापारी साथीहरूले मलाईं छान्नुहुन्छ भन्ने कुरामा म ढुुक्क छु ।

५. चुनावमा एमालेले अन्य दलहरूसँग सहकार्य गर्ने कुरामा किन रुचि नदेखाएको ?

हैन, हामीसँग अन्य दलका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू दलीय रूपमै नखुले पनि हाम्रो प्रगतिशील प्यानलकै छातामुनि रहेर उम्मेदवारी दिनुभएको छ । हामीले अन्य दलका साथीहरूलाई पनि मिलाएर लगेका छौँ ।

६. बाणिज्य संघजस्तो व्यावसायिक संस्थामा सबैलाई मान्य हुने साझा सर्वसम्मत नेतृत्वको पनि त खोजी गर्न सकिन्थ्यो । त्यतातिर प्रयास किन नगरिएको ?

खोजी गरेको भए त्यो पनि सम्भव त थियो होला । हाम्रो दलका तर्फबाट समन्वय र सहकार्यलाई खुला राख्ने नीतिअन्तर्गत कांग्रेसका साथीहरूसँग केही छलफल पनि चलेको थियो । तर कांग्रेसले मुख्य नेतृत्वमा आफ्नो दाबी नछोडेपछि सहमतिको सम्भावना देखिएन । तर पनि कतिपय कांग्रेसमा आस्था राख्ने साथीहरूले पनि यसपटक मेरो नेतृत्वलाई स्वीकार गर्नुहुन्छ र मतदान गर्नुहुन्छ भन्ने आशा छ ।

७. पछिल्लो समय चुनावमा दलभित्रैबाट अन्तर्घातका कुराहरू पनि हुने गरेका छन् । यसमा तपाईं कत्तिको सचेत हुनुहुन्छ ?

म यसप्रति निकै सचेत छु । राजनीतिमा पछिल्लो समय अन्तर्घातका कुरा धेरै हुने गरेका छन् । तर अहिलेको सन्दर्भमा मेरो उम्मेदवारीप्रति दलभित्रका सबै साथीहरू सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लाग्छ । सबै साथीहरू ऐक्यबद्ध भएर लागिरहनुभएको छ । र हाम्रो जीत नजिकिँदै छ भन्ने मलाई लागेको छ ।

८. मुलुकमा आर्थिक मन्दी चलिरहेको छ, व्यापार नभएर व्यापारी निराश छन् यस्तो अवस्थामा उनीहरूलाई उत्साहित गर्ने तपाईंका योजना के छन् ?

त्यसका लागि एउटा व्यक्तिको मात्र पहल पर्याप्त हुँदैन । समग्र मुलुक नै यतिबेला आर्थिक मन्दीको चपेटामा छ । अब योभन्दा तल जाने ठाउँ नै छैन । म आफैँ पनि एक जना व्यापारी भएका कारण मलाई यसको राम्रो अनुभव छ ।

विगत दुई वर्षयता व्यापार निकै खस्केको छ । तर स्थानीय स्तरमा हामीले पहल गरेर हुनेखालका सुधार गर्न म सधैँ तत्पर रहनेछु । सम्भव भएसम्म स्थानीय बजारबाटै खरिद र बिक्री गरिनुपर्छ भन्ने मेरो मान्यता छ ।

९. तपाईंको नजरमा अहिले यस क्षेत्रका व्यापारीले भोग्नुपरेका प्रमुख समस्याहरू के हुन् ?

अहिले व्यापारीहरूको प्रमुख समस्या भनेको चर्को बैंक ब्याज नै हो । साथीहरूले पहिले एउटा ब्याजदरमा बैंक लोन गर्नुभयो पछि त्यो बढेर निकै माथि पुग्यो । कोभिडपछि देश यसरी आर्थिक चपेटामा प¥यो कि हामीले त्यसको अनुमान नै गर्न सकेनौँ ।

अर्कोतिर खुला सिमाना यहाँको प्रमुख चुनौतीको रूपमा देखिएको छ । खुला सीमा नाकाले यहाँको बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । यी कुरा नियन्त्रण गर्न हामी एक्लैले सम्भव छैन ।

त्यसैले राज्य तहबाटै यो समस्याको पहलकदमी लिइनुपर्छ । स्थानीय छिमेकी बाणिज्य संघहरू र स्थानीय सरकारहरूसँग समन्वय गरेर नाकालाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसमा गम्भीर छलफल चलाउन सकिन्छ ।

अर्कोतिर सीमापारिबाट ल्याइने खाद्यलगायतका सामग्रीहरू कति स्वस्थकर र गुणस्तरीय छन् भनेर हामीले उपभोक्तालाई पनि बुझाउन जरुरी छ । भारतले नेपालका लागि भनेर छुट्टै विषादीयुक्त खाद्य सामग्री र गुणस्तरहीन सामान पठाउने गरेका कैयौँ उदाहरण छन् । यसबारे हामी सबै सचेत हुनु जरुरी छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधबार