बाँके बर्दिया पर्यटनका लागि अर्गानिक क्षेत्र हो



राज्यले सहुलियत दिएर होमस्टेहरूलाई दर्ता त ग¥यो तर त्यसमा नियमित अनुगमन गर्न सकेन । अनुगमनकारी निकायले अनुगमन गर्न नसक्दा यसको उद्देश्य पूर्ति हुन सकेन । गाउँ–गाउँबाट पर्यटकीय गतिविधि गर्ने, स्थानीय कृषि उत्पादन, स्थानीय कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने ठाउँमा होमस्टेहरूले त्यो कुरालाई त्यति महत्व दिएनन् ।

भागीराम ओली
सचिव, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)
नेपालगन्ज च्याप्टर

१. लामो समय पर्यटन क्षेत्रसँग सम्बन्धित रहेर काम गर्दै आइरहनुभएको छ, यस क्षेत्रका पछिल्ला पर्यटकीय गतिविधि के–के छन् ?

नाट्टाको केन्द्रीय समितिअन्तर्गत पश्चिमको नेपालगन्जमा पनि नाट्टा नेपालगन्ज च्याप्टर गठन भएको छ । यसैका माध्यमले हामीले विभिन्न पर्यटकीय गतिविधि अगाडि बढाउँदै आइरहेका छौँ । पश्चिम क्षेत्र पर्यटकीय विकासका लागि अर्गानिक क्षेत्र हो । यहाँको भौगोलिक वनावटसँगसँगै यहाँको पर्यापर्यटन, धार्मिक, सांस्कृतिकलगायतका कुरा पर्यटकीय महत्वका छन् ।

त्यसैले हामीले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर वेस्टर्न ट्राभल मार्टमार्फत यिनै क्षेत्रहरूको प्रवद्र्धन र विकासमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ । हामीले पहिलो चरणमा गतवर्ष मात्र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्व, यस क्षेत्रका पर्यटन व्यवसायी, यस क्षेत्रका ब्लगर र सञ्चारकर्मीहरूको सहभागितामा बाँके बर्दियाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गरेका थियौँ । विशेषगरी बाँके र बर्दियालाई फोकस गरेर बाँकेबाट प्रवेश गरेर गुलरिया कृष्णसार संरक्षित क्षेत्र, नेपालकै लामो गेरुवा पुल हुँदै बर्दियाको ठाकुरद्वारामा पुगेर ठूलो कार्यक्रम गरेका थियौँ ।

त्यसैगरी अहिले धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न यहाँका धार्मिक क्षेत्रहरूको पहिचान र प्रवद्र्धन गर्ने काम गरिरहेका छौँ । बागेश्वरी, ठाकुरद्वारालगायतका मन्दिरहरूमा आरतीका कार्यक्रम गरेका छौँ । बाँके र बर्दियाका पर्यटकीय क्षेत्र जोड्नका लागि नेपालगन्ज, गुलरिया, ठाकुरद्वारा, कर्णाली पुल हुँदै बाँके राष्ट्रिय निकुञ्जसम्मको पर्यटकीय ट्रान्जिट बनाउनका लागि हामीले गुरुयोजना पनि बनाएका छौँ ।

बाँकेमा पनि अहिले हामीले जंगल सफारी सुरु गरेका छौँ । यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि प्रचारप्रसारमा जोड दिने काम भइरहेको छ । प्रत्येक पालिकाहरूसँग समन्वय गरेर पर्यटकीय क्षेत्र पहिचानका काम पनि भइरहेका छन् ।

२. बाह्य पर्यटक आकर्षित गर्नका लागि हामीले उनीहरूलाई देखाउन सक्ने वा त्यसलाई विकास र प्रवद्र्धन गर्नसक्ने खालका कुरा बाँके बर्दियामा के–के छन् ?

यस क्षेत्रको महत्वपूर्ण सम्भाव्य पर्यटन भनेको टे«किङ हो । हामी ४२ डिग्रीको नेपालगन्जको तापक्रमबाट केही किलोमिटरको दूरीमै ३० डिग्रीको तापक्रममा पुग्न सक्छौँ । यसका लागि बाँके राष्ट्रिय निकुञ्ज विशेष टे«किङ गन्तव्य हो ।

३. बाँकेमा टे«किङ रुट कहाँ–कहाँ छन् ?

गाभर भ्यालीदेखि माथि टे«किङ जान सकिन्छ । त्यसैगरी धार्मिक पर्यटनका लागि बाबा बर्फानी, सन्तानेश्वरलगायतका क्षेत्र यहाँका उत्कृष्ट टे«किङ गन्तव्य हुन् । पछिल्लो समय यी क्षेत्रको राम्रै प्रचारप्रसारमा पनि भइरहेको छ । यहाँ (बजार)को र त्यहाँको तापक्रममा नै कति हो कति फरक छ ।

४. बाँके र बर्दियालाई नै टार्जेट गरेर आउने विदेशी पर्यटकको सङ्ख्या पछिल्लो समयमा कस्तो छ ?

कोभिडकालमा थला परेको यहाँको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै छ । पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्यामा केही सुधार आएको छ । गत वर्षभन्दा यो वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । तर राज्यको संरचना, नीति निर्माणलगायतका कतिपय कुराले यहाँ पर्यटक बढ्ने कुरामा रोकावट आएको छ ।

जस्तो नेपालगन्ज नाकाबाट तेस्रो मुलुकका पर्यटक आउने गरेका छैनन् । भारतीय पर्यटक यहाँबाट नेपाल भित्रिए पनि अन्य मुलुकका पर्यटक यो बाटो आउन पाउँदैनन् । त्यसले पनि यहाँको पर्यटन आगमनको सङ्ख्यामा प्रतिकूल असर परिरहेको छ । हामी यस क्षेत्रका बासिन्दाका लागि सबैभन्दा ठूलो दुर्भाग्य नै यही बनेको छ ।

५. किन के कारणले तेस्रो मुुलुकबाट आउने पर्यटक यो नाकाबाट भित्रिन पाउँदैनन् ?

यसको स्पष्ट कारण त हामीलाई पनि थाहा हुन सकेको छैन । तर भारतीय पक्षको रोकावटका कारण यो नाकाबाट तेस्रो मुलुुकका पर्यटक नेपाल भित्रिन नपाएको हामीले सुनेका छौँ । पर्यटक यो नाकाबाट बाहिरिन पाउँछन् तर भित्रिन पाउँदैनन् ।

जसका कारण यहाँ आउने पर्यटक पनि कि त भैरहवाबाट यता आउनुप¥यो कि त सुदूरपश्चिमबाट आउनुप¥यो जुन निकै टाढा पर्छ । यो समस्या समाधानका लागि हामीले पटकपटक मन्त्रालय र प्रदेश कार्यालयहरूसँग लिखित मौखिक रूपमा समेत अनुरोध ग¥यौँ । तर त्यसको अझै सुनुवाइ भएको छैन ।

६. सुदूरपश्चिमबाट नेपाल भित्रिने पर्यटक त बाँके बर्दियाकै बाटो भएर पोखरा, चितवन, काठमाडौँलगायतका ठाउँमा जाने गरेका छन् । तर तिनलाई पनि हामीले यहाँ दुई चार दिन रोकेर घुमाउन किन सकिरहेका छैनौँ त ?

यो एक्सेसका हिसाबले पनि होला । पोखरा, चितवन, काठमाडौँ भनेका पर्यटकीय गतिविधिका हिसाबले धेरै पहिलादेखि नै चलायमान भएका क्षेत्र हुन् । उहाँहरूले प्याकेट बनाउँदा पनि तिनै स्थानहरूका प्याकेज बनाउँदै आउनुभएको छ । तर खुसीको कुरा के छ भने पछिल्लो समय यस्ता प्याकेज बनाउँदा नेपालगन्जलाई पनि जोड्ने गरिएको छ ।

नाटा, टानलगायतका संस्थाहरूको समन्वयमा नै यो काम भइरहेको छ । नेपालगन्ज–पोखरा फ्लाइट नेपालगन्जकै पर्यटन विकासका लागि गरिएको हो । त्यस्तै, हामीले मानसरोवरको पहिलो मर्निङ फ्लाइट गरेका थियौँ । नेपालगन्जलाई जनकपुर र अयोध्यासँग जोड्नका लागि नेपालगन्ज जनकपुर हवाई उडान पनि ग¥यौँ । पछिल्लो समयमा यस क्षेत्रमा बढी पर्यटक आउने भनेको मानसरोवर यात्राका लागि हो । मानरोवर दूरदर्शनका लागि उल्लेख्य भारतीय र तेस्रो मुलुकका पर्यटक आउने गरेका छन् ।

७. मानसरोवरका लागि आउने पर्यटकबाट बाँके र बर्दियाले पर्याप्त लाभ लिन सकेका छन् त ?

पर्याप्त लाभ लिएको भन्न त मिल्दैन । तर यसको स्तरोन्नति हुँदै छ । जस्तो हामीसँग दुई–तीनवटा फ्लाइट हुँदा पर्यटकको जुन आगमन बढ्दै गयो त्यसबाट पर्यटकहरूले यहाँका अन्य भ्रमण गर्न मिल्ने ठाउँहरू के–के छन् त भनेर चासो दिन थाले । उनीहरू बाँके, बर्दिया, सुर्खेत हुँदै विभिन्न स्थानमा भ्रमण गर्न थाले ।

उनीहरूको सुविधाका लागि ध्यानमा राखेर हस्पिटालिटी क्षेत्रमा पनि हामी अगाडि बढ्दै छौँ । अहिले हामीसँग ३ वटा त फाइभ स्टार होटल नै छन् । हामी यहाँ आउने पर्यटकहरूलाई गुणस्तरीय सेवा दिन सक्छौँ । अब राज्यले पनि बाँके बर्दियालाई पनि पर्यटकीय गन्तव्यका क्षेत्रमा समेटेर नीति निर्माण गर्न जरुरी छ ।

८. तपाईंले राज्य तहको जिम्मेवारीको कुरा गरिरहँदा हालै बाँकेको कोहलपुरमा रहेको पर्यटक कार्यालयलाई समेत यहाँबाट स्थानान्तरणको निर्णय गरिएको छ । यसले त यहाँको पर्यटन गतिविधिमा पक्कै पनि नकारात्मक असर पर्छ हैन र ?

पक्कै पनि । राज्यले अझ लुम्बिनी प्रदेशले के सोच्नुप¥यो भने– बाँके र बर्दिया पनि लुम्बिनी प्रदेशमै छन् । यस क्षेत्रको पर्यटकीय गतिविधिले बाँके र बर्दियाले पनि महत्वपूर्ण योगदान दिएका छन् भन्ने कुरा राज्यले सोच्नुप¥यो । बाँके, बर्दिया देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य हुन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ ।

यस विषयमा हामीले संस्थागत रूपमै हाम्रो धारणा राखेका थियौँ । मन्त्रीज्यूलाई भेटेरै पनि हामीले यस क्षेत्रको पर्यटकीय विकासका लागि पर्यटन कार्यालयको महत्वपूर्ण योगदान रहने कुरा अवगत गराएका छौँ ।

९. यस क्षेत्रका अन्य सम्भाव्य क्षेत्र जस्तै धार्मिक, सांस्कृतिक, पर्यापर्यटन, सासहिक, पदमार्ग, जलयात्रालगायतका नयाँ क्षेत्रको खोजी गर्ने काम कत्तिको भइरहेको छ ?

धार्मिक पर्यटन त बाँके र बर्दियामा अति राम्रो छ । त्यसका अलावा हामीले यहाँका नदीहरूमा ¥याफ्टिङको सम्भावनाबारे विस्तृत अध्ययन गरेका छौँ । त्यसैगरी हामीले ट्रेकिङलाई प्राथमिकतामा राखेका छौँ । तर यसमा पर्यटकको आ–आफ्नो च्वाइसको कुरा पनि हुन्छ । हामीकहाँ आउने बढी पर्यटकहरू धार्मिक पर्यटनका लागि आउने गर्नुहुन्छ ।

१०. बाँके बर्दियामा पनि पर्यटकीय महत्वका धेरै कुरा छन् जस्तै दुईवटा त राष्ट्रिय निकुञ्ज नै भए । त्यस्तै, धार्मिक पर्यटनका लागि मानसरोवर महत्वपूर्ण गन्तव्य हो । हामीसँग अनेकौँ सीमसार क्षेत्रहरू छन् । विविध स्थानीय कला, संस्कृति, परम्परा छन् । यी कुरालाई हामीले किन बेच्न सकिरहेका छैनौँ ? बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएको पर्यटकलाई बाँकेमा पनि पस्ने र दुई चार दिन बस्ने वातावरण किन बनाउन सकिरहेका छैनौँ ?

मुख्य कुरा त हामीले बनाउने टुर प्याकेजमै यसलाई समावेश गर्नुपर्ने हुन्छ । हामीले बनाउने प्याकेजहरूमा यसलाई समावेश गर्ने गरेका छौँ । बर्दियामा जंगल सफारी छ भने बाँकेमा नजिकै ट्रेकिङको सम्भावना पनि छ । पछिल्लो समय बाँकेमा पनि हामी जंगल सफारी सुरु गरेका छौँ । यसमा सबै निकायको उत्तिकै चासो हुनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा त पर्यटकको चाहना नै हो ।

१. अहिले नेपालगन्जमा आउने पर्यटकहरूमा विशेषगरी क्यासिनो खेल्न आउने भारतीय पर्यटकहरू बढी हुने गरेको बताइन्छ नि ?

पर्यटकीय पहिचानका निम्ति विविध विधा छन् । कोही धार्मिक उद्देश्यले आउँछन्, कोही टे«किङ गर्ने उद्देश्यले । कोही वन्यजन्तु हेर्न त कोही हिमाल चढ्न । पर्यटक आ–आफ्ना रुचि लिएर हामीकहाँ आउने हुन् ।

उनीहरूको रुचि अनुसार हामीले उनीहरूलाई सेवा सुविधा दिने हो । यसैअन्तर्गत नेपालगन्जमा पछिल्लो समय क्यासिनो खेल्ने पर्यटकहरू पनि आउने गरेका छन् । तर उनीहरूलाई क्यासिनोमा मात्र सीमित नगरेर यहाँका अन्य पर्यटकीय गन्तव्यसम्म पनि लैजाने वातावरण हामीले मिलाउन सक्नुपर्छ ।

१२. सरकारले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले जुन ‘होमस्टे’को अवधारणा ल्याएको थियो, तर यो त्यति प्रभावकारी बन्न नसकेको देखिन्छ । यसले पर्यटनको विकासमा कत्तिको भूमिका निर्वाह गर्न सकेको जस्तो लाग्छ तपाईंलाई ?

वास्तवमा राज्यले जुन उद्देश्यका साथ होमस्टेको अवधारणा अघि सारेको थियो त्यो लागू हुन सकेजस्तो मलाई पनि लाग्दैन । राज्यले सहुलियत दिए यिनीहरूलाई दर्ता त ग¥यो तर त्यसमा नियमित अनुगमन गर्न सकेन भन्ने मलाई लाग्छ ।

अनुगमनकारी निकायले अनुगमन गर्न नसक्दा यसको उद्देश्य पूर्ति हुन सकेन । गाउँगाउँबाट पर्यटकीय गतिविधि गर्ने, स्थानीय कृषि उत्पादन, स्थानीय कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने ठाउँमा होमस्टेहरूले त्यो कुरालाई त्यति महत्व दिएनन् ।

१३. यस क्षेत्रको पयर्टनको मूल आधार के हो ?

यस क्षेत्रमा हामीलाई प्रकृतिले दिएको नै पर्यापर्यटन हो, जुन कुरा प्राचीनमै थियो । हामीले समयमै यसको प्रचारप्रसार र विकास गर्न सकेनौँ । यसको प्रचारप्रसार मात्र गर्न सक्यौँ भने दु्रतगतिमा हाम्रो पर्यटन बढ्छ । वर्षौंअघिदेखि बर्दिया राष्ट्रिय निकुञ्ज छ । यो निकुञ्जजस्तो ठ्याक्कै नेपालमा अर्को निकुञ्ज छैन ।

अर्को कुरा पर्यटकलाई ग्रासरुटसँग पनि जोड्न सकिन्छ । सँगसँगै जलयात्रालाई पनि हामीले जोड्न सक्छौँ । यो प्रयास पनि हामीले थालेका छौँ । पछिल्लो समय यहाँका राप्ती, भेरी, कर्णाली जस्ता नदीहरूमा जलयात्राको सम्भावना छ । हामीले यस्ता पर्यटकलाई प्याकेज पनि दिने गरेका छौँ । सुर्खेतको होमस्टेदेखि कर्णालीसम्म र कर्णालीदेखि टीकापुरसम्मको जलयात्रा प्याकेज पनि हामीले बेच्ने गरेका छौँ ।

१४. अहिले प्रदेश वा स्थानीय सरकारहरूले पनि आफ्नो ठाउँका पर्यटकीय सम्भाव्यता भएका स्थानहरूको पहिचान गर्ने गरेका छन् । प्रदेश वा स्थानीय सरकारहरूसँग यहाँहरूको समन्वय र सहकार्य कत्तिको हुन सकेको छ ?

हामीले स्थानीय निकायहरूसँग समेत सहकार्य गरेर स्थानीय रूपमा भएका पर्यटकीय क्षेत्र पहिचान र प्रवद्र्धन गर्ने काम गर्दै आएका छौँ ।

पछिल्लो समय बाँके र बर्दियाका आठ–आठवटै पालिकामा त्यहाँका स्थानीय सम्भाव्य पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन भ्रमण गर्ने काम हामीले गरिरहेका छौँ । स्थानीय निकायले पनि त्यसलाई आधार मानेर गतिविधि गर्ने काम भइरहेको छ । तर कतिपय स्थानीय तहमा पर्यटकीय गतिविधि सञ्चालनका लागि बजेट नै नछुट्याएको अवस्था पनि पाइयो ।

अर्कोतिर पर्यटकहरूले सेवाका साथसाथै आर्थिक पाटोलाई पनि हेर्ने गर्छन् । सरकारले पछिल्लो समयमा प्रत्येक वस्ु्तुमा करको व्यवस्था गरेको छ । हरेक वस्तुमा भ्याट लिन थालिएको छ । जसले गर्दा प्रत्येक सेवा सुविधामा मूल्य अभिवृद्धि हुँदै गयो ।

हाम्रो मुलुकमा एक बस्दा बस्नु पुग्ने पैसाले अर्को मुलुकमा १०–१२ दिन बस्न पुग्ने भयो भने पर्यटक त्यही मुलुकतिर आकर्षित हुन्छन् । संक्रमणकालीन अवस्थामा सबै क्षेत्रमा कर लगाएर हुँदैन । यो अवस्थामा अलिकति कस्ट मिनिमाइज गर्न सक्यो भने कर त पछि लगाउँदै गरे पनि भयो नि !

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार