‘मुख्य चुनौती सवारी दुर्घटना हो’



मेरा लागि मुख्य चुनौती राजमार्ग रहेको छ । किनभने यहाँ दैनिक करिब ७ वटासम्म दुर्घटना हुने गर्छन् । ती दुर्घटना हुँदा घाइतेको उद्धार, उपचार र दुर्घटनामा संलग्नको पहिचान, पक्राउ, कानुनी दायरामा ल्याउन गर्नुपर्ने काम चुनौतीपूर्ण रहेको छ । सबै ठाउँहरूमा सिसिटिभी जडान नहुँदा कतिपय स्थानहरूमा दुर्घटनापश्चात फरार हुने, भाग्ने र पहिचान गर्न समस्या हुने गरेको छ ।

धर्मराज भण्डारी । प्रहरी नायब उपरीक्षक (डिएसपी) । इलाका प्रहरी कार्यालय कोहलपुर

 

१. कोहलपुरमा शान्ति शुरक्षा कायम गर्न के कस्तो प्रयास गर्नुभएको छ ?

कोहलपुर पश्चिम क्षेत्र लुम्बिनी र कर्णाली प्रदेशकोे ट्रान्जिट प्वाइन्ट हो । यस्ता सहर अर्थात बजारमा पहाडी तथा हिमाली जिल्लाबाट बसाइसराइ गरेर आउने उल्लेखनीय मानिसहरूको संख्या रहेको छ ।

त्यस अनुसार अन्य ठाउँको भन्दा अपराधको संख्यामा अलि बढोत्तरी छ । खासगरी मेरो कार्यक्षेत्रमा धेरै राजमार्गहरू पर्ने भएकाले दुर्घटनाजन्य क्रियाकलापहरू धेरै हुने गरेका छन् । त्यसका अलावा लागूऔषध दुव्र्यसन सङ्ख्या पनि उल्लेखीय छ । म कोहलपुर आएपश्चात यी कुराहरूलाई फोकस र मध्यनजर गरेर शान्ति सुरक्षा कायम गर्न लागिपरेको छु ।

२. कोहलपुर छिमेकी नाका रुपैडिया नजिक रहेकाले पनि लागूऔषध नियन्त्रण गर्न के कस्ता कठिनाइहरू छन् ?

पक्कै पनि लागूऔषध दुव्र्यसन कोहलपुरको मुख्य चुनौतीको रूपमा नै रहेको छ । भारतीय सीमा रुपैडिया नजिकै रहेको र खुला सिमानाका कारण जताबाट पनि आयात गर्न सकिने सहजताले नै थप समस्या निम्त्याएको हो ।

त्यसका बाबजुद पनि हामीले यसको कारोबार गर्ने र सेवन गर्ने दुवै पक्षलाई नियन्त्रणमा लिने गरेका छौँ । यसको समाधान र नियन्त्रण गर्न नेपाल प्रहरीले मात्र एक्लै सक्ने अवस्था छैन । घरदेखि कलेज हुँदै समाजसम्म यसको फैलावट रहने गरेको छ । तर पछिल्लो समय यहाँ लागूऔषध दुव्र्यसन घट्दो अवस्थामा छ ।

३. राप्ती सोरानी बिनौनामा भएको घटनाको अनुसन्धान कसरी अघि बढाउनुभएको छ ? यस्ता अपराध नियन्त्रण गर्न कसरी लागि पर्नु भएको छ ?

राप्ती सोरानी गाउँपालिका बिनौनामा धारिलो हतियार प्रहारले दुई जना घाइते भएका थिए । त्यसलगत्तै हामीले ४ जना व्यक्तिलाई पक्राउ गरेका छौँ । उनीहरूलाई पीडितको जाहेरीका आधारमा अहिले अनुसन्धान भइरहेको छ । अर्काे कुरा अपराध व्यक्तिको मानसिकतामा हुन्छ । उसको क्रियाकलापमा हुन्छ । प्रत्येक आपराधिक मानसिसकता भएका मान्छे प्रहरीको पहुँचमा हुँदैनन् ।

किन भने प्रहरी सीमित ठाउँमा मात्र हुन्छ । उनीहरूले अपराध गर्ने र जाने ठाउँहरू असीमित हुन्छन् । त्यसैले उनीहरूले त्यस्तो उचित अवसरको खोजी गर्ने हुन् । अपराध हुनु दुःखद कुरा हो । यदि त्यस्तो भइहाले प्रहरीको भूमिका कस्तो रह्यो ।

त्यो मुख्य कुरा हो । प्रहरी समयमै घटनास्थल पुग्यो पुगेन ? पक्राउ ग¥यो गरेन ? अनुसन्धानलाई अघि बढायो, बढाएन ? भन्ने कुरा मुख्य कुरा
हो । ती कुराहरू हामीले गरेका छौँ ।

४. तपाईंका लागि मुख्य गरेर चुनौती के छ ?

मेरा लागि मुख्य चुनौती राजमार्ग रहेको छ । किनभने यहाँ दैनिक करिब ७ वटासम्म दुर्घटना हुने गर्छन् । ती दुर्घटना हुँदा घाइतेको उद्धार, उपचार र दुर्घटनामा संलग्नको पहिचान, पक्राउ, कानुनी दायरामा ल्याउन गर्नुपर्ने काम चुनौतीपूर्ण रहेको छ ।

सबै ठाउँहरूमा सिसिटिभी जडान नहुँदा कतिपय स्थानहरूमा दुर्घटनापश्चात फरार हुने, भाग्ने र पहिचान गर्न समस्या हुने गरेको छ ।

५. यसको समस्या समाधानका लागि के गर्नुभएको छ ?

हामीले यो समस्या समाधानका लागि मुख्यतया दुर्घटना हुने क्षेत्र अर्थात राजमार्ग पहिचान गरेर प्रहरी परिचालन गरेका छौँ ।

छाडा पशुचौपाया व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाको अगुवाइमा नगर प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त पहलमा हामीले राप्ती सोनारी गौशालामा पु¥याउने गरेका छौँ ।

यसले गर्दा पनि केही मात्रामा दुर्घटना कम हुने विश्वास छ । यसलाई निरन्तरता दिनका लागि स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ ।

६. सामाजिक सञ्जालको दुरुपयोगका के कस्ता मुद्दा प्रहरीसम्म पुग्ने गरेका छन् ?

पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दो छ । सबैको दैनिक क्रियाकलापहरू यसैमा केन्द्रित हुने गर्छन् । फेसबुक, टिकटक हेर्नेदेखि बैंकको करोबार मोबाइलाटै हुने गरेको छ । स्वाभाविक् रूपमा हामी सबै सामाजिक सञ्जालमा जोडिएकाले केही समस्या त आइहाल्छन् ।

प्रायः सामाजिक सञ्जालको दुरुपयोगका मुद्दा अर्थात समस्याहरू आउने गरेका छन् । फेक आइडी खोल्ने, ह्याक हुने, बदनामी गर्ने, कसैको ओटिपी चोरेर पैसा चोरी गर्ने जस्ता गुनासा आउँछन् । हामीले यताबाटै समाधान गर्न सक्ने यतैबाट गर्छाँै र नसकिने खालका मुद्दाहरू काठमाडौँ केन्द्रमा पठाउने गरेका छौँ ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार