चन्द्रबहादुरका हत्या आरोपित पक्राउ



दसैँको दिन राति कोहलपुर– ८ का चन्द्रबहादुर कामीको घाँटी रेटेर हत्या भएको थियो । हत्याको केही समयमै उनको शरीर फेला परे पनि टाउको भने सोमबार मात्रै भेटिएको थियो । घटनाको अनुसन्धानका लागि तीन जना प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धान टोली खटिएका थिए ।

बाँके ।

दसैँको दिन कोहलपुरमा हत्या गरिएका चन्द्रबहादुर कामीको हत्या आरोपमा प्रहरीले तीन दिनपछि एक जनालाई पक्राउ गरेको छ । गत शनिबार राति कोहलपुर–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्वमा स्थानीय ४० वर्षीय कामीको घाँटी रेटेर हत्या भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले मंगलबार एक पुरुषलाई राप्ती सोनारी गाउँपालिका–१ तिनघारी टोलस्थित भौवा नाका जाने बाटोबाट पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ पर्नेमा माडी गाउँपालिका–६ का २४ वर्षीय अनिल परियार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।

परियारलाई इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्ट कमाण्डको खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको थियो । एसपी कार्कीका अनुसार अनिल एक स्थानीयको घरको शौचालयमा लुकेर बसेको अवस्थामा फेला परेका थिए । चन्द्रबहादुरको हत्यापछि अनिल जंगलको बाटो हुँदै भौवा नाका हुँदै भारत प्रवेश गर्ने योजनामा रहेका थिए ।

पक्राउ परेका आरोपी अनिल वैशाखमा मात्रै जेलबाट रिहा भएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको थियो । वैशाखमा मात्रै जेलबाट उनी रिहा भएका हुन् ।

दसैँको दिन राति १२ बजे आसपासको समयमा कोहलपुर–८ सरस्वती चोक नजिकै कच्ची सडकमा चन्द्रबहादुरको शरीर फेला परेको थियो । तर उनको टाउको भने फेला परेको थिएन । शव फेला परेपछि अनुसन्धानकै क्रममा सोमबार चन्द्रबहादुरको टाउको फेला परेको थियो । घटनास्थलबाट झन्डै ५ सय मिटर टाढा आरोपी अनिलकै बहिनीको घरको सेप्टि ट्यांकीमा टाउको फेला परेको हो । उक्त ट्यांकीबाट घटनामा प्रयोग भएको हतियारसमेत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरी अनुसन्धानबाट घटनास्थलबाट नजिकै रहेको सरस्वती चोकमा रहेको सिसीटिभी क्यामेरामा सुनसान रातमा एक जना युवक कैद भएको देखिएको थियो । फुटेजमा युवकले केही सामान बोकेको समेत देखिएको थियो । उनी साइकलमा सवार थिए ।

ती पुरूषबारे खोजी गर्दै जाँदा त्यस ठाउँबाट झन्डै पाँच सय मिटर टाढा प्रहरी अनिता परियारको घरमा पुगेको थियो । प्रहरीले उनको घरको आँगनमा रहेको एउटा ढुंगामा रगतको खतसमेत फेला पारेको थियो । सिसीटिभीमा देखिएका व्यक्तिबारे अनितालाई प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो दाइ नाता पर्ने बताएका थिए ।

त्यसपछि प्रहरी अनिलको खोजीमा लागेको थियो । एसपी कार्कीले सिसीटिभीको फुटेज समयमै अध्ययन गरी घटना अनुसन्धानमा नलागेको भए र त्यो साइकलको खोजी नभएको भए घटना अनुसन्धानमा थप जटिल बन्नसक्ने बताए ।

साइकल फेला परेपछि हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न र घटना अनुसन्धान गरी फरार अनिल समक्ष पुग्न प्राविधिक विश्लेषणसमेत प्रहरीले गरेको थियो । सिसीटिभी फुटेजमै मृतक चन्द्रबहादुर र अनिलबीच भएको झगडा समेत प्रष्टसँग कैद भएको छ ।

अनुसन्धानका लागि तीन जना प्रहरी निरीक्षकको कमाण्डमा तीन वटा छुट्टाछुट्टै टोली खटिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक भट्ट र प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक नवीन चापागाइँको नेतृत्वमा पनि टोली अनुसन्धानका लागि खटिएको थियो । कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधबार