‘कोहलपुरको खानेपानीका लागि दीर्घकालीन योजना नबनाई हुँदैन’



टेकनारायण भुसाल अध्यक्ष कोहलपुर सहरी खानेपानी तथा सरसफाइ संस्था

कोहलपुरमा खानेपानी समस्याले विकराल रूप लिँदै गएको छ । अहिले खानेपानीका समस्या लिएर उपभोक्ता दैनिक खानेपानी कार्यालय धाउने क्रम जारी छ । वास्तवमा के कारणले यो समस्या बढिरहेको छ ?

पहिलो त लामो खडेरी नै हो । लामो समयदेखि हामीकहाँ पानी पर्न सकिरहेको छैन, जसका कारण स्रोतहरू सुकेका छन् । अर्को जथाभावी रूपमा व्यक्तिहरूले समरसियल गाडेका कारण त्यसले करिब २०–३० मिटरको रेन्जमा पानी सुकाइदिने गरेको छ ।

समरसियलले गर्दा ह्यान्डपम्पमा अलिअलि आउने गरेको पानी पनि सुकेको छ र मानिस खानेपानीमै निर्भर हुन बाध्य छन् ।

संस्थाले पर्याप्त पानी उपलब्ध गराउन नसकेकै कारण पनि मानिसहरू अन्य विकल्प खोज्न बाध्य भएका होलान् नि ?

हाम्रो क्षेत्रभित्रका उपभोक्तालाई पानी दिने हाम्रो दायित्व हो । तपाईंको धारामा पानी आएन भने हामीलाई पनि त समस्या होला नि हैन र ! हामीले पनि त्यही भूमिगत स्रोतकै उपयोग गर्ने हो । यसमा नियमनकारी निकाय भनेको हामी होइनौँ, स्थानीय सरकार हो । तर खानेपानीको प्रेसर हामीमाथि आउने गरेको छ । स्थानीय सरकारले यसमा चासो दिनुपर्छ ।

एकातिर तपाईंहरूले खानेपानीको लाइन निरन्तर विस्तार गरिरहनुभएको छ, अर्कातिर उपभोक्तालाई पानी पु¥याउन पनि सक्नुभएको छैन । यस्तो किन ?

पछिल्लो समय हामीले खानेपानीको नयाँ लाइन विस्तारलाई रोकेका छौँ । चालू आर्थिक वर्षमा हामीले जम्मा ४–५ सय मिटर मात्र लाइन विस्तार गरेका छौँ ।

अत्यावश्यक भएका स्थान र सहज रूपमा पानी पु¥याउन सकिएका स्थानमा सय–पचास मिटर लाइन विस्तार गरेर मात्र हामीले १०–१५ घरलाई हुन्छ भने लाइन विस्तार गरेका छौँ । अन्यथा लामो लाइन विस्तार पूर्णरूपमा बन्द गरेका छौँ । अब लाइन भएका ठाउँमा खानेपानीको धारा नजोडेकाले धारा जोड्न आउँछ भने त्यस्तालाई हामीले रोक्न मिल्दैन ।

पानीको समस्या अहिले मात्रै हो कि अन्य समयमा पनि हुन्छ ?

होइन, पानीको समस्या हुने भनेको यो एक डेढ महिना मात्रै हो । पुस–माघमा १० लाख लिटरको पानीको माग हुन्छ । फागुन लाग्नेबित्तिकैै अलिकति बढेर १२–१३ लाख लिटर पुग्छ । फागुन अन्त्यतिर आउँदा त्यो बढेर २० लाख पुग्छ । र, चैत लाग्नेबित्तिकै त्यो ह्वात्तै बढेर ५० लाख लिटर पुग्छ ।

अहिलेसम्म हामीसँग पानीको स्रोत भनेको भूमिगत स्रोत मात्रै हो । अन्य स्रोत वृद्धि गर्न सक्ने सम्भावना के छ ?

अहिले नै अन्य स्रोतभन्दा पनि त्यही भूमिगत स्रोतलाई कसरी बढी उपयोग गर्ने भन्ने हो । हामी त्यसकै लागि अहिले एउटा नयाँ योजनामा छौँ । यसबाट ४ देखि ५ लाखसम्म पानी थप्न सकिन्छ । त्यसैगरी, आगामी चैत–वैशाखमा हामी अर्को एउटा बोरिङ थप्दै छौँ । दैनिक १० लाख लिटर पानी थप्ने हो भने हामीलाई धेरै सहजता हुन्छ ।

कोहलपुरका लागि अन्य वैकल्पिक खानेपानीका स्रोतहरू के छन् ?

तत्कालका लागि हामीसँग जे छ यही हो अवस्था, भूमिगत स्रोतकै अत्यधिक उपयोग हो । अहिले जलवायु परिवर्तनको असरस्वरूप देशव्यापी रूपमा खानेपानीका स्रोतहरू सुकिरहेका छन् । त्यसको असर कोहलपुरमा पनि नपर्ने कुरा भएन । तर अब हामीले केही समयका लागि समस्या समाधान गर्ने हो भने अब एक दुई वडाका लागि छुट्टाछुट्टै आयोजना दिनुपर्छ ।

जस्तो १० र ११ नम्बर वडाका लागि यही आयोजना भइहाल्यो । त्यसैगरी, १२ र १३ नम्बर वडालाई एउटा, १ र २ नम्बर वडालाई अर्को । त्यसैगरी, ५ र ६ वडालाई एउटा छुट्टै गरेर छुट्टाछुट्टै आयोजना बनाउनुपर्छ । यो अभ्यासमा पनि हामी अगाडि बढिरहेका छौँ । तर यो पनि खानेपानीको दीर्घकालीन समाधान चाहिँ होइन ।

दीर्घकालीन समाधानका लागि भेरी–बबई बहुउद्देश्यीय परियोजनाको काम पनि भइरहेको छ । यसबाट यहाँ पानी ल्याएर दीर्घकालीन समस्या समाधाना हुने सम्भावना कत्तिको छ ?

कोहलपुरको जनसंख्या वृद्धिको अवस्था, तीव्र सहरीकरणको अवस्था आदिले गर्दा अब यही भूमिगत स्रोतले मात्र काम चल्नेवाला त छँदै छैन । दीर्घकालीन समाधानका लागि अर्को विकल्पमा त जानैपर्छ । त्यसका लागि कोहलपुरको नजिक भएकाले हामीले बबईकै पानीलाई उपयोग गर्नुपर्छ ।

नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि बबई खोलाबाट च्यामा खोलामा पानी ल्याउने र त्यसबाट कोहलपुर र नेपालगन्जलाई खानेपानी वितरण गर्ने कुरा आएको छ । यदि यहाँका सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले चासो दिने हो भने यसलाई छिट्ट अगाडि बढाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार