तीजको मौलिकताको पहिचान खजुराबाट दिन्छौँ: संयोजक श्रेष्ठ



शिवराज श्रेष्ठ । संयोजक  । खजुरा तीज महोत्सव

१. खजुरा तीज महोत्सव किन र केका लागि सञ्चालन गर्दै हुनुहुन्छ ?

खजुरामा २०३२ सालबाट तीजको अवसरमा लक्ष्मीनारायण मन्दिरमा आउने महिला दिदीबहिनीहरू आफूखुसी नाचगान गरेर रमाइलो गर्थे । यस क्षेत्रमा संरक्षण समिति गठन भएपछि समितिले नियमित तीजका अवसरमा महोत्सव आयोजना गर्दै आएको छ ।

अहिले हामी १९औँ तीज महोत्सवसम्म आइपुगेका छौँ । खजुरा क्षेत्र संरक्षण समितिले महोत्सव नगर्ने भएपछि लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले तीज महोत्सव सञ्चान गर्दै आएको छ ।

तीज महोत्सव सञ्चालन गर्नुको मुख्य उद्देश्य मन्दिरको जग्गामा दिव्य धाम निर्माणको परिकल्पना हो । हामी खजुराबासीले पहिलेदेखि नै यसको परिकल्पना गरेका हौँ । महोत्सवबाट भएको आम्दानीबाट मन्दिर शिलान्यास गर्ने योजना रहेको छ ।

२. अन्य महोत्सवहरू भन्दा खजुरा तीज महोत्सव २०८१ मा के फरक छ ?

खजुरा भनेको तीज महोत्सवको जननी हो । खजुराबाटै तीज महोत्सव सञ्चालनको सुरुवात भएको हो । यति मात्र नभई यहाँ लाखे नाचको परम्परा र इतिहास पनि रहेको छ ।

त्यसैले अन्य ठाउँहरूमा भन्दा खजुरामा लाग्ने महोत्सव मौलिक र आफैँमा फरक हुन्छ । त्यसैले दर्शकहरूले एक पटक पुगेर आफैँ अनुभव गरेर कति फरक छ भन्ने अनुभव गर्न सक्नुहुनेछ ।

३. पछिल्लो समय तीज मौलिक र परम्परागतभन्दा पनि भड्किलो र खर्चिलो बन्दै गइरहेको बेला तपाईंले यसलाई कसरी लिनुभएको छ ?

यस विषयमा हामी सबै चिन्तित र गम्भीर छौँ । हामी मात्र नभई महिला दिदीबहिनी, बूढापाका सबैले छाडा र सुन्न नसकिने गीतहरू गाउन र बजारमा आउन थालेकोप्रति चिन्ता व्यक्त गरिरहनुभएको छ ।

त्यसैले हामीले छाडा गीतलाई पूर्णरूपमा रोक लगाएका छौँ । जति सक्दो महिलाहरूले आफैँ बाजा बजाएर आफँै गीत गाउने र मौलिक गीतहरूबाट तीज महोत्सव सञ्चालन गर्ने लक्ष्य छ । तीजको मौलिकताको पहिचान खजुराबाट हामी दिन्छौँ ।

४. महोत्सव कति दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गर्नुभएको छ ?

खजुरा एउटा सानो ठाउँ भएकाले हामीले १० हजार दर्शकको अपेक्षा गरेका छौँ । गत वर्ष दुई ठाउँमा तीज महोत्सव लागेको थियो । त्यसैले केही दर्शक बाँडिएर थोरै थिए । यस वर्ष सबैको सहमतिमै एउटा मात्रै महोत्सव सञ्चालन गरेका छौँ । त्यसैले अघिल्लो वर्षको भन्दा दर्शक बढ्ने हाम्रो अपेक्षा छ ।

५. वर्षात्को समय भएकाले पानी पर्न सक्ने सम्भावना छ । यसको पूर्वतयारी वा व्यवस्थापन कसरी गर्नुभएको छ ?

यसको लागि हामीले सक्दो तयारी गरेका छौँ । हामीसँग मन्दिरमा भएको धर्मशालामा बस्ने व्यवस्था र गर्मीमा पानी, पंखाको व्यवस्था गरेका छौँ । जति सकिन्छ राम्रो गर्ने हाम्रो प्रयास रहन्छ ।

६. तीज गीत र नृत्य प्रतियोगिताको पनि आयोजना गर्दै हुनुहुन्छ । यसलाई कसरी व्यवस्थापन गर्नेयोजना बनाउनुभएको छ ?

प्रतियोगितालाई गत वर्ष जसरी नै सामान्य रूपमा हामीले लिएका छौँ । प्रतियोगितामा पनि पछिल्लो समय छाडा गीत र नृत्य फैलिएकाले त्यसलाई रोक्ने कुरामा विशेष ध्यान दिएका छौँ । सबैको रुचि चाहना पनि मौलिकता बोकेका गीत र संस्कृति हेर्ने रहेकाले प्रतियोगितामा तीज गीत र नृत्य मात्र नभई पुरानो खजुराको कला संस्कृति, लाखे नाच पनि हामीले प्रर्दशन गर्ने योजना बनाएका छौँ ।

७. तपाईं लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ । लक्ष्मीनारायण मन्दिरको विशेषता चाहिँ के छ ?

यो मन्दिर खजुरा बजारको मुटुमा अवस्थित छ । पहिला पुनर्बासमा बसेका हाम्रा पुर्खाहरूले बजारमा मन्दिरको परिकल्पना गरेर यसको स्थापना गरेका हुन् । यहाँ पूजाआराधना गर्दा मनोभावना र भाकल पूराहुने विश्वास छ । यहाँ दसैँ,होली र कृष्ण जन्माष्ठमीलगायतका पर्वहरूमा विशेष पूजा पाठ गर्ने गरिन्छ ।

यसको महत्व धेरै छ । भावी सन्ततिले पनि यसबाट केही सिकून् र यस परम्परालाई बचाइराखून् भन्ने उद्देश्यलेहामीले काम गरिरहेका छौँ । लक्ष्मीनारायण मन्दिरमा गत वर्ष यज्ञ सञ्चालन ग¥यौं । दसैँ तिहारपछि महाआरती गरेर यहाँको माटो परीक्षण गर्ने र मन्दिरको शिलान्या गर्ने हाम्रो योजना छ ।

८. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामीले व्यक्तिगत रूपमा नभई समग्रमा खजुरामा राम्रो कामका लागि महोत्सव आयोजना गरेका हौँ । सबैको साथ सहयोगले खजुरामा क्यान्सर अस्पताल सञ्चालन गर्न सफल भयौँ । जुन अहिले खजुराको चिनारीको रूपमा रहेको छ ।

त्यसैले अब अर्काे पहिचान खजुराको लक्ष्मीनारायण धाम बनाउन लागेका छौँ । त्यसैले यसमा सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार