उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु



कैलाली ।

अछाममा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–६ की २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुधबार राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो ।

परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुंगाचाल्नामा लैजाने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन् । बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रावको समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुंगाचाल्ना पु¥याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लैजान भनेका थिए ।

ढिलो गरी अस्पताल पु¥याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्य जानकारी दिए ।

सुत्केरी भएको करिब ७ घन्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले बताए ।

मंगलबार मात्रै पनि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनीषा घटालको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो । सोमबार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलबार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रबार