बाँके ।
देशका विभिन्न जिल्लामा चट्याङ लागेर ६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । चट्याङ लागेर लुम्बिनी प्रदेशका दुई जिल्लामा मात्रै दुई जनाको मृत्यु भएको थियो । ती घटनामा अन्य दुई जना गम्भीर घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरीका अनुुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खुङकोटका ३ वर्षीय समिर साहु रहेको छन् । घरमै बसिरहेका बेला समिरसहित ४२ वर्षीया निमकली साहु र ६ वर्षीया सविना साहु चट्याङ लागेर घाइते भएका थिए ।
तीनै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिए पनि समिरको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गम्भीर घाइते निमकली र सविनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङमा चट्याङ लागेर चन्द्रकली ओलीको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । दोधारा चाँदनी–६ का जगदीश सुनार घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेशकै बाजुराको बुढीगंगा नगरपालिका–४ बानेगाउँमा चट्याङ लागेर स्थानीय ६० वर्षीय खम्ब कटुवालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छन् ।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका छन् । यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोलमा घर बनाउने काम गरिरहेका झापाका कुमार मोतेको पनि चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्