बाँके ।
हुलाकी राजमार्गको नेपालगन्ज अगैया सडकको राप्ती सोनारी गाउँपालिका–४ लठ्ठापुरमा भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । बुधबार अपराह्न दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा घाइते भएकामध्ये थप एक जनाको उपचारकै क्रममा बिहीबार मृत्यु भएको हो ।
योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु हुनेमा अजय थारू रहेका छन् ।
यसअघि बुधबार नै दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनामध्ये भे१२प ३१९५ नम्बरको मोटरसाइकलका चालक राप्ती सोनारी–४ बैजापुरका रामशरण थारूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो भने भे१२प ४८२८ नम्बरको मोटरसाइकल चालक राप्ती सोनारी–३ खैरेनीका बसन्त थारूको उपचारको क्रममा मृत्यु भएको थियो ।
उपचारका क्रममा मृत्यु भएका अजय रामशरणले चलाएको मोटरसाइकलमा बसेका थिए । मृतक रामशरण र अजय दुबै जना शिक्षक हुन् । उनीहरू नेपाल राष्ट्रिय मावि धामपुरमा कार्यरत रहेको राप्ती सोनारी गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष मिनराज खड्काले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे१२प ३१९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे१२प ४८२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
गम्भीर घाइते अन्य दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेहरूमा खैरेनीका सञ्जय थारू र संगीन थारू रहेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धान खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्