२०७४ सालमा ठेक्का सम्झौता भएर पटक–पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको १ हजार ८ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनै पनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि कसैले तदारुकता नदेखिएको भन्दै स्थानीय जनप्रतिनिधि र नागरिक आक्रोशित भएका छन् ।
खजुरा।
बाँके खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुरा बजार क्षेत्रमा स्थगित सडक निर्माण र पुल निर्माण कार्य तत्काल नथालिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक र सोही सडकमा रहेको जीर्ण पुल निर्माणमा ढिलाइ भएको भन्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाउन पुगेका स्थानीय राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले तत्काल निर्माण सुचारु नगरिए आफूसमेत जनतासँगै आन्दोलनमा उत्रिने बताएका हुन् ।
सो सडक र पुल निर्माण नहुँदा स्थानीयबासीले निकै सास्ती भोगिरहनुपरेको भन्दै अध्यक्ष तुफानले आफूहरूले सो सडक र पुल निर्माणका लागि निरन्तर पहल गरिरहे पनि सुनुवाइ नभएकाले अब पनि बेवास्ता गरिए जनतासँगै आफूसमेत आन्दोलित बन्ने चेतावनी दिए ।
ज्ञापनपत्र बुझ्दै पालिकाका अध्यक्ष विकले असोज २५ भित्रमा पुलको टेन्डर प्रक्रिया सुरु नभए आफूसहित पालिकाका सम्पूर्ण जनप्रतिनिधि सडकमा सुतेर आन्दोलित हुने बताए । उनले आन्दोलनका सम्बन्धमा हुलाकी सडक निर्देशनालय र स्थानीय प्रशासनलाई जानकारी गराइसकिएको जनाउँदै जनताको एकता र राजनीतिक दलको साथ लिएर सशक्त आन्दोलन गरिने बताए ।
‘चार लेनको सडकमा ५ मिटरको जीर्ण पुल हुँदा पनि त्यसको निर्माणमा संघीय सरकारले बेवास्ता गर्छ भने के गर्ने त !,’ अध्यक्ष तुफानले भने, ‘अब हामीलाई आन्दोलित बन्नुको विकल्प सरकारले दिएन ।’
यस वर्ष संघीय सरकारले सो पुल निर्माणका लागि जम्मा ५० हजार रुपैयाँ छुट्ट्याएको भन्दै तुफानले आपत्ति जनाए । सरकारको यस्तो कार्र्र्य हास्यास्पद भएको उनको भनाइ छ । संघीय सरकारले प्राथमिकता नदिएकैले सो पुल निर्माण हुन नसकेको उनको आरोप छ ।
संविधान दिवसका दिनबाट जनपरिचालन गर्दै जीर्ण पुल आसपासको सडक मर्मत तथा १ हजार ८ सय मिटर सडक सरसफाइ गरेर सांकेतिक आन्दोलनको सुरुवात गरिने जनाउँदै उनले सुनुवाइ नभए जनताको साथ लिएर जनप्रतिनिधिहरूले नै आन्दोलनको नेतृत्व गर्ने घोषणा गरे ।
गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले सो अलपत्र सडक र पुलका कारण खजुराबासीलाई मात्र नभएर यो बाटो भएर हिँड्ने बाँके बर्दियाका सम्पूर्ण यात्रुले सास्ती भोग्नुपरिरहेको बताइन् । बाँके र बर्दियालाई जोड्ने चल्तीको मार्ग भएकाले पनि यी जिल्लाका धेरै मानिस यसबाट प्रभावित भएको उनको भनाइ छ ।
‘यो पुल सानो भएकाले अलिकति पानी पर्नेबित्तिकै यस क्षेत्रमा डुबानको समस्या देखिँदै आएको छ,’ उपाध्यक्ष मल्लले भनिन्, ‘अर्कोतिर बन्दै गरेको सडकको कामसमेत अलपत्र पर्दा सबैले सास्ती बेहोर्नुपरेको छ ।’ उनले पालिकाका तर्फबाट यही भदौ २५ गते पुलको टेन्डर आह्वान गर्न पत्रमार्फत आग्रह गरिएको जानकारी पनि दिइन् ।
स्थानीय राजनीतिक दलका नेताहरूले १ महिनाभित्र पुलको टेन्डर र सडक निर्माणको प्रक्रिया अगाडि बढाउन माग गर्दै स्थानीय तहमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएका हुन् । गाउँपालिकाको कार्यालय पुगेर उनीहरूले पालिका अध्यक्ष विक र उपाध्यक्ष मल्ललाई ज्ञापन पत्र बुझाएका थिए ।
उनीहरूले पालिकामार्फत बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन तथा हुलाकी सडक निर्देशनालयलाई समेत सडक र पुल निर्माणका काम सुचारु नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी पठाएका छन् ।
स्थानीय राजनीतिक दलका नेताहरूले बुझाएको ज्ञापनपत्रमा २०७४ सालमा ठेक्का सम्झौता भएर पटक–पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको १ हजार ८ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनै पनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि तदारुकता नदेखाइएको उल्लेख छ ।
पुलको वारिपारिका ३ सय मिटर क्षेत्रमा वर्षामा पानी भरिएर आवत–जावत बन्द हुने र सडक जीर्ण भएर सवारी सञ्चालनमा कठिनाइ हुने गरेको जनाइएको छ ।
खजुरा बजार क्षेत्रको सडक गुणस्तरहीन बनाउने ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवामाथि कारबाही गरिँदा निर्माण कम्पनी उल्टो सडक डिभिजनविरुद्ध मुद्दामा गएपछि सो सडक अलपत्र परेको हो ।
सडकको मुद्दा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा विचाराधीन छ । पटक–पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम सम्पन्न नगरेको तथा सम्झौताविपरीत गुणस्तरहीन काम गरेको भन्दै सडक डिभिजनमार्फत सडक विभागले ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता खारेज गर्दै कालोसूचीका लागि सिफारिस गरेको थियो ।
स्थानीयबासी पटक–पटक सो सडक निर्माणकार्य सुचारु गर्न र पुल निर्माण गर्न माग गर्दै आन्दोलित बन्दै आएका छन् । तर उनीहरूको मागको अहिलेसम्म सुनुवाइ भएको छैन । आफ्ना मागबारे सरोकारवाला निकायले बेवास्ता गरेको भन्दै खजुराका स्थानीयबासी तथा जनप्रतिनिधि एकजुट भएर आन्दोलनमा उत्रिने तयारीमा छन् ।
अलपत्र सो सडक लुम्बिनी प्रदेशको पश्चिम सिमाना बर्दियाको सदरमुकाम हुँदै कैलाली जोड्ने मूल सडकखण्डमा पर्दछ भने सोही सडकको खजुरा बजार क्षेत्रको पेडारी नालामा बनेको पुल निकै पुरानो भएकाले निकै सानो र जीर्ण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्