नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट किसानले पाएनन् १५ करोड



बाँके, बर्दिया, दाङ, सुर्खेत र रुकुम जिल्लाका किसानको पुस महिनायताको करिब १५ करोड रुपैयाँ मूल्य संस्थानले भुक्तानी गर्न सकेको छैन । संस्थानले देशभरका किसानको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके जिल्लामा मात्रै करिब १० हजार दुग्ध उत्पादक किसानले जिल्लाका १३ वटा सहकारीमार्फत दुग्ध विकास संस्थानलाई दूध बेच्छन् । तर ती किसानको पुस महिनायता दूधको मूल्य भुक्तानी भएको छैन ।

कोहलपुरस्थित संस्थानको नेपालगन्ज दुग्ध वितरण आयोजना कार्यालयले बाँके, बर्दिया, दाङ, सुर्खेत र रुकुम जिल्लाका किसानको दूध खरिद गरेर प्रशोधन तथा विभिन्न उत्पादन तयार गरी बजारीकरण गर्ने काम गर्छ । तर, यी जिल्लाका किसानले बेचेको पुस महिनायताको करिब १५ करोड रुपैयाँ मूल्य संस्थानले भुक्तानी गर्न सकेको छैन ।

संस्थानले देशभरका किसानको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । दसैँतिहारसमेत नजिकिँदै गर्दा किसान तथा दुग्ध उत्पादक सहकारी सञ्चालकहरू मूल्य नपाइने हो कि भन्ने चिन्तामा छन् ।

संस्थान भने किसानबाट किनेको दूध बिक्री नभएपछि भुक्तानी गर्न समस्या भएकाले पैसा भुक्तानी गर्न नसकेको बताउँछ । दुध बिक्री नभएपछि बनाइएका धुलो दूध र अन्य परिकारहरू पनि बिक्री नभएपछि समस्या भएको संस्थानको कोहलपुर कार्यालयका प्रमुख दीलिप चौधरी बताउँछन् । संस्थानले किसानको दूधको मूल्य तिर्न नसकेपछि कृषि तथा पशुपन्छी मन्त्रालयले ६० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

उक्त ऋण किसानको मूल्य चुक्ता गर्ने सर्तमा दिएको हो । तर उक्त ऋण संस्थानलाई अझै प्राप्त नभएको संस्थानका निमित्त उपमहाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारी बताउँछन् । उनले उक्त निर्णयपछिका कतिपय प्रक्रियाहरू मन्त्रालयमै पूरा हुन बाँकी रहेको बताए । ‘सम्भवतः दसैँअघि नै हामी सहकारीलाई भुक्तानी गर्न सक्छौँ,’ अधिकारीले भने ।

तर, दुग्ध उत्पादक किसानहरू संस्थानले तीन महिना दूध नबिकेको बहाना बनाएर अन्य महिनाको मूल्य पनि भुक्तानी नगर्ने गरेको आरोप लगाउँछन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाँकेका अध्यक्ष पूर्ण अधिकारी जाडो मौसममा दूध बिक्री घटे पनि गर्मी मौसममा सबै दूध बिक्री हुने गरेको तर, संस्थानले भुक्तानी नदिने गरेको बताउँछन् । संस्थानको यस्तो शैलीले आजित भएर आफूहरूले यसको विरोधमा आवाज उठाए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

गर्मी मौसममा संकलित सबै दूध बिक्री हुने गरेको संस्थानका सूचना अधिकारी समेत स्वीकार्छन् । संस्थानका अनुसार गर्मी मौसममा चार हजारदेखि पाँच हजार लिटर दूध दैनिक संकलन हुनेमा जाडो मौसममा १२ हजारदेखि १४ हजार लिटर संकलन हुन्छ ।

तर, जाडोमा संकलित दूध बिक्री नभएर थन्किँदा गर्मी मौसममा संकलन हुने दूधको बिक्रीले पुरानो बक्यौता तिर्न नसकिने अवस्था आउने गरेको अधिकारीको तर्क छ ।

यता किसानहरू संस्थानले उत्पादनको बजारीकरण गर्न नसक्ने र बिक्री भएको दूधको मूल्यबाट समायोजन नगरी भुक्तानी नै नगरिदिँदा बर्सेनि आफूहरू मर्कामा पर्ने गरेको बताइरहेका छन् ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार