महिलाको अपहरण र बेपत्ता पारेको आरोप लागेका वनमन्त्री कुर्मीले दिए राजीनामा




बाँके ।

लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका उनले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएका हुन् ।

उनी बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित समेत हुन् । कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको पुष्टि गरे ।

कांग्रेस–माओवादीको गठबन्धनबाट गत निर्वाचनमा उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । कुर्मीलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनेका थिए । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

उनको नियुक्तिले कांग्रेसभित्रको संस्थापनइतर पक्षसमेत असन्तुष्ट थियो । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरनिकट मानिने कुर्मीलाई संसदीय दलका नेता चौधरीले सिफारिस गरेका थिए । कांग्रेस लुम्बिनी प्रदेश समितिले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो ।

स्रोतका अनुसार कुर्मीलाई कांग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको थियो । सोपश्चात उनले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले मन्त्री कुर्मीले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको पुष्टि गरे । ‘मंगलबार राजीनामा दिने कुरा आएर केही समय छलफलका लागि रोकिएको थियो । पछि उहाँले राजीनामा बुझाउनुभयो,’ उनले भने ।

कुर्मीलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै महिला अधिकार मञ्च बाँकेसहित विभिन्न संघसंस्थाले एक महिनादेखि काठमाडौँमा धर्ना र माइतीघर मण्डला–बालुवाटार पैदलमार्चसम्मका आन्दोलन गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले समेत मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउँदै मन्त्री कुर्मीलाई कारबाही गर्न माग गरेको थियो । बहुमतले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन नै गरेर बाँकेमा मन्त्री कुर्मीलाई बहिष्कारको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०८१ भदौ २६ गते बुधबार