आज हरितालिका तीज



कोहलपुर ।

आज तीज अर्थात हिन्दू नारीहरूको विशेष पर्व । नेपाली हिन्दू नारीहरूले नाचगान गरेर हर्षोल्लासपूर्वक आज तीज मनाउँदै छन् । यस दिन महिलाहरूले व्रत बसेर भगवान् शिवको पूजा आराधना र नाचगान गरेर तीज मनाउने गरेका छन् ।

तीज विशेषगरी भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासपूर्वक मनाउन थालेका छन् ।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै क्षेत्रमा पनि मनाइन्छ । हिमालय पुत्री पार्वतीले सुरुमा भगवान् शिव पति पाऊँ भनी प्रार्थना गरेको र पछि शिवलाई पतिका रूपमा पाएपछि उनको स्वास्थ्य र दीर्घायूको कामना गर्दै व्रत बसेको दिनको सम्झनामा नारीहरूले तीज पर्व मनाउन थालेको पौराणिक मान्यता छ ।

तीजको दिन विभिन्न स्थानहरूमा मेला लाग्ने गरेका छन्, जहाँ महिला दिदीबहिनीहरू नाचगान गरेर रमाइलो गर्छन् । आजको दिन काठमाडौँको पाशुपत क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । त्यसैगरी बाँके, बर्दियालगायतका जिल्लाहरूमा पनि आज विभिन्न स्थानमा यस्ता मेलाहरूको आयोजना गरिएको छ ।

तीजको अवसरमा मेला लाग्ने स्थानहरूमा भीडभाड हुने भएकाले ती स्थानहरूमा सुरक्षा संवेदनशीलता देखिने गरेको छ । त्यसैले यस्ता स्थानहरूमा सुरक्षा व्यवस्था कडा पार्ने गरिएको छ । तीजका अवसरमा बाँकेका मेला लाग्ने स्थानहरूमा विशेष सुरक्षा व्यवस्था अपनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

नेपालगन्जमा वागेश्वरी मन्दिर, राधाकृष्ण मन्दिर, त्रिभुवन चोेकलगायतका स्थानमा मेला लाग्ने गरेका छन् । आजको दिन यी स्थानहरूमा भीडभाड हुने भएकाले त्यहाँ नियमित भन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए ।

त्यसैगरी बाँकेका कोहलपुर, खजुरालगायतका स्थानमा पनि सो दिन तीज विशेष मेला लाग्ने भएकाले ती स्थानहरूमा पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि नियमित भन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए । तीजका अवसरमा सुरक्षाका लागि तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको उनले जनाए ।

अत्यधिक भीडभाड हुने स्थान र संवेदनशील क्षेत्रहरूमा सिसी क्यामेराबाट निगरानी गरिने र आवश्यक परे ड्रोनसमेत उडाइने तयारी रहेको उनले जानकारी दिए । ‘चाडबाडका अवसरमा कुनै अप्रिय घटना नहोस् भनेर हामी सचेत छौँ,’ निमित्त सूचना अधिकारी बुढामगरले भने, ‘बाँकेमा सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, आवश्यक परे ड्रोनबाट समेत निगरानी गर्छौँ ।’

तीजका अवसरमा केही स्थानहरू दुईचार दिनअघि देखि नै मेला लागिरहेका छन् । कोहलपुरमा तीजकै अवसरमा चार दिनअघिदेखि मेला लागिरहेको छ । त्यहाँ प्रहरीले नियमित सुरक्षा निगरानी बढाएको छ । त्यस्ता स्थानहरूमा अहिलेसम्म चोरी, लुटपाट वा झैझगडाका कुनै घटनाको जानकारी नआएको प्रहरी निरीक्षक बुढाले बताए ।

तीजकै अवसर पारेर बर्दियाको बाँसगढीमा पनि एक साताअघि देखि साँझपख नाचगानको आयोजना गरिएको छ । सो स्थानमा बेलुकी भीडभाड हुने भएकाले चोरी, लुटपाट र झैझगडा हुनसक्ने भएकाले नियमित प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक रुपेश साहले जानकारी दिए ।

उनले बुधबार नाचगान स्थलबाट केही किशोरहरूलाई धारिला हतियारसहित पक्राउ गरिएको पनि बताए । त्यसैगरी, बुधबार साँझ बाँसगढी नगरपालिका–५ हाउपुरको वनछेउमा घरतिर जाँदै गरेकी एक युवतीको घाँटीबाट मोटरसाइकलमा आएका दुई युवाले सिक्री लुटेर भागेका थिए । ती लुटेराहरू अझै पक्राउ पर्न नसकेको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार