आज दर खाने दिन



कोहलपुर ।

आज नेपाली हिन्दु नारीहरूको विशेष पर्व तीजको पहिलो दिन अर्थात दर खाने दिन । विशेषगरी हरेक वर्ष भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने तीज पर्वको पहिलो दिन आज महिला दिदीबहिनीले दर खाएर मनाउने गरेका छन् ।

भाद्र शुक्ल तृतीयाका दिन महिलाहरू उपवास बस्ने भएकाले अघिल्लो रात अर्थात द्वितीयाको मध्यराति दर खाने प्रचलन छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।

पञ्चमीका सप्तऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाने परम्परा छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास गरिन्छ ।

तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रङले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ ।

पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।

केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ । कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् । विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन चल्न थालेको छ । यस्ता कुसंस्कारले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ ।

पछिल्ला वर्षहरू महिनादिन अघिदेखि दर खाने नाममा ठूला ठूला होटल रेस्टुरेन्टहरूमा तडकभडकयुक्त प्रदर्शन गर्ने प्रचलन पनि बढ्दै गएको छ । जसले समाजमा विकृति र विसंगति भित्र्याएको छ ।

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार