दरबन्दी नै नभएको ठाउँमा वरिष्ठ सर्जनको सरुवा



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले दरबन्दी नै नभएको ठाउँमा वरिष्ठ सर्जनको सरुवा गरेको छ । सामाजिक विकास मन्त्रालयले भदौ १३ गते मन्त्रीस्तरको निर्णयबाट विशेषज्ञ चिकित्सकलाई अस्पतालमा नभई दरबन्दी नै नभएको अन्यत्र सरुवा गरेको हो ।

सोबेला सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. सोजन सापकोटालाई मन्त्रालयले अस्पतालमा नभई दरबन्दी नै नभएको मानव संसाधन विकास केन्द्रमा सरुवा गरेको थियो । केन्द्रमा विशेषज्ञ डाक्टरबाट कार्यसम्पादन हुने कुनै पनि दरबन्दी छैन । कर्णाली प्रदेशमा समायोजन रोजेर आएका डा. सापकोटा स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जरी अधिकृतस्तर दसौँ तहका चिकित्सक हुन् ।

मेहेलकुना अस्पताल राम्रो सुधार गरेका डा. सापकोटालाई प्रदेश अस्पतालमा नपठाएर अन्यत्र पठाउनुले मन्त्रालयमाथि समेत प्रश्न उठिरहेको छ । शिक्षक र स्वास्थ्यकर्मीलाई तालिमका लागि जनस्वास्थ्यतर्फको दरबन्दीको व्यवस्था गरिएको ठाउँमा प्रतिशोधपूर्ण तरिकाले डा. सापकोटालाई सरुवा गरिएपछि कर्णालीमा अहिले विरोध भइरहेको छ ।

स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जन अधिकृतस्तर दसौँ तहका डा. सापकोटाको दरबन्दी कर्णाली प्रदेश अस्पतालमा थियो । उनी २०७७ भदौमा मेहलकुना अस्पतालको प्रमुख भएर गएका थिए । अस्पतालमा वर्षौंबाट स्थायी डाक्टर नभएर कामकाज प्रभावित भएपछि आफूलाई त्यहाँ खटाइएको डा. सापकोटाले जानकारी दिए । प्रदेश अस्पतालमा कार्यरत आफू ३ दिन मेहलकुना अस्पतालमा बस्ने र ३ दिन प्रदेश अस्पतालमै सर्जरीको काम गर्ने सहमतिमा मेहलकुना जान राजी भएको उनी बताउँछन् ।

‘म १० वर्षअघि नै सर्जन पढेर आएको हुँ । मेहलकुनामा अप्रेसनको सबै व्यवस्थापन नभएकाले मैले मेरो कामै भुल्छु भनेर ३ दिन प्रदेश अस्पतालमा काम गर्छु भनेको थिएँ,’ डा. सापकोटाले भने, ‘पछि मेहलकुनामा पनि साना अप्रेसनहरू सुरु गरें । ठूला अप्रेसनका लागि प्रदेश अस्पतालमै आउने गरेको थिएँ । मेरो सरुवा मेरो विशेषज्ञता अनुसार प्रदेश अस्पतालमै हुनुपर्ने हो । तर मलाई पेलेर मन्त्रालयले दरबन्दी नै नभएको र मेरो कामै नभएको ठाउँमा पठायो । यो त डाक्टरमाथि अन्याय भयो ।’

कार्यक्षेत्रभन्दा बाहिर सरुवा गरिएपछि डा. सापकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेका छन् । मन्त्रालयले क्षेत्राधिकार बिर्सेर गरेको सरुवा विभेदपूर्ण रहेको उल्लेख गर्दै यथाशीघ्र सरुवा बदर हुनुपर्ने मागसहित उनले उजुरी दर्ता गराएका हुन् । आफ्नो विशेषज्ञता विपरीत गरिएको सरुवा आफूलाई मान्य नहुने सापकोटाले उजुरीमा उल्लेख गरेका छन् ।

यता, प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखलेरले दरबन्दी नभएको ठाउँमा पठाएको नभएर सेवा उपसमूह नमिलेको बताए । सरुवापछि डाक्टरलाई थप जिम्मेवारी दिने योजना मन्त्रालयको रहेको उनले दाबी गरे ।

‘मानव संशाधन स्वास्थ्य र शिक्षाको तालिम केन्द्र हो । त्यहाँ पनि डाक्टर चाहिन्छ । अर्को कुरा मेहलकुना अस्पतालमा काम गर्दा उहाँको काम गर्ने शैली राम्रो थिएन,’ सचिव पोखलेरले भने, ‘उहाँ अस्पतालाई सुधार गर्ने पक्षमा पनि लाग्नुभएन । म अनुगमनमा गएका बेला पनि उहाँ बिना जानकारी बिदामा बसेको भेट्टाएको थिएँ ।’

प्रकाशित मिति : २०८१ भदौ १९ गते बुधबार