डिल्ली शाही ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुको रुतरीकरण गरिने भएको छ । त्यसको लागि कोहलपुरमा एक समिति समेत गठन गरिएको छ । खाद्य पछिल्लोपटक २०७५ सालमा होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरण गरिएको थियो । करिब २ वर्षको अन्तरालमा कोहलपुरका क्षेत्रका होटलहरुको पुनः स्तरीकरण गरिने भएको हो ।
त्यतिबेला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज,कोहलपुर इलाका प्रशासन कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुर तथा होटल व्यवसायी संघको संयुक्त टोलीले कोहलपुरका होटलमा अनुगमन गरेर सोही अनुसार स्तरीकरण गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार कोहलपुर क्षेत्रका ४२ वटा होटललाई वर्गीकरण गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालका अनुसार होटल तथा रेष्टुरेन्टहरुको निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्न निर्माण गरिएको छ । निर्देशिका बमोजिम मापदण्ड अनुसार स्तरीकरण गरिने उनले बताए ।
होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाईको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाई गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण एवम् व्यवस्थित ढल निकास लगायतलाई मूल्यांकनको मुख्य आधार बनाइएको छ । सोही अनुसार अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइनेछ ।
पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि पं्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्था लगायत पनि मूल्यांकन मापदण्ड अनुसार स्तरीकरण गर्ने उनको भनाइ थियो ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डलले खाद्य स्वच्छताका ५० वटा सूचकहरुमा मुल्यांकन अनुसार स्तरीकरण हुने बताए । उनका अनुसार ९० अंक भन्दामाथि प्राप्त गर्ने होटेलमा ३ वटा तारा भएको स्टीकर टाँसिने छ । यस्तै ८० अंक भन्दामाथि प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले २ वटा तारा भएको स्टीकर तथा ५० अंक भन्दामाथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले १ वटा तारा भएको स्टीकर पाउने छन् ।
समितिको संयोजकत्वमा रानाभाट
यस्तै होटल तथा रेष्टुरेन्टहरु स्तरीकरण गर्नका लागि समिति गठन गरिएको छ । होटल व्यवसाय संघका उपाध्यक्ष कृष्ण बहादुर रानाभाटको संयोजकत्वमा समिति गठन गरिएको हो । जनप्रतिनिधि, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र पत्रकारको संयुक्त समितिले कोहलपुरका होटलमा अनुगमन तथा स्तरीकरण गर्ने भनी समिति बनाइएको हो ।
यस्तै कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकामा दर्ता नभएका होटल रेष्टुरेन्टहरुको स्तरीकरण नगर्ने बताइन् । अन्य सबै क्षेत्रमा दर्ता भएपनि कोहलपुर नगरपालिकामा अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता नभएको खण्ड सो समितिले स्तरीकरणको लोगो टाँस नगर्ने बताइन् ।