कोहलपुर ।
वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएर जुम्लाको स्याउ बीच बाटोमै रोकिए पनि कोहलपुरमा स्याउको अभाव भने भएको छैन । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समयमै स्याउ कोहलपुर आइपुगेकाले स्याउको अभाव हुन नपाएको हो ।
बुधबारदेखिको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि स्याउका गाडी पनि बाटामै रोकिएका छन् । स्याउ बाटोमा रोकिए पनि कोहलपुरमा प्रशस्त मात्रामा स्याउ आइपुगेको व्यवसायीहरूले बताएका छन् ।
बाटो अवरुद्ध भएर कोहलपुरलगायतका सहरमा स्याउ पुग्न नपाएको करिब पाँच दिन भएको छ । तर, कोहलपुर बजारमा यसअघि नै प्रशस्त भित्रिएकाले बजारमा स्याउ अभाव नभएको व्यवसायीहरूको भनाइ छ । जुम्लाको स्याउले रामै्र बजार पाइरहेको स्याउ व्यवसायी हरिकृष्ण रावतले बताए ।
‘केही समयअघि मात्रै जुम्लाबाट आएको स्याउ प्रतिकेजी ९५ रुपैयाँमा खरिद गरेका थियौँ,’ उनले भने, ‘सोचेअनुसार बजार पाएको थिएन्, अब बजार पाउने आश छ ।’ अहिले कोहलपुरमा जताततै जुम्लाको स्याउ देख्न पाइन्छ । अहिले कोहलपुर आसपासका क्षेत्रमा प्रतिकेजी १ सय रुपैयाँमा हाराहारीमा स्याउ बिक्री हुने गरेको छ ।
स्याउबाट केही आर्थिक लाभ हुने आशा भए पनि प्रतिदिन ४ सय रुपैयाँ सटर भाडा र खान बस्नमै खर्च हुने भएकाले खासै नाफा गर्न नसकिएको रावतको भनाइ छ ।
बाटो अवरुद्ध हुँदा भने जति स्याउ भित्रिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । प्रत्येक वर्ष जुम्लाका कृषक र व्यवसायीहरूलाई कर्णाली राजमार्गले दुःख दिने गरेको उनले बताए । राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर आएका ४५ वटा गाडी करिब चार दिनसम्म बाटोमै रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस्