राज्यकोषबाट बेपर्वाह खर्च



बाँके ।

२० महिनाको अवधिमा लुम्बिनी प्रदेशका ३ जना मुख्यमन्त्रीले भ्रमण, सञ्चार तथा अतिथि सत्कारका नाममा बेपर्वाह खर्च गरेको पाइएको छ । प्रदेश संरचनामाथि नै प्रश्न उठिरहेका बेला छोटो समयमा नै बनेका लुम्बिनीका ३ जना मुख्यमन्त्रीले राज्यकोषबाट मनलाग्दी खर्च गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालका ३ मुख्यमन्त्रीले २० महिनामा भ्रमण, सञ्चार तथा अतिथि सत्कारका नाममा बेपर्वाह खर्च गरेका छन् ।
२०७९ पुस २७ गतेदेखि २०८१ साउन ७ गतेसम्मको अवधिमा बनेका ३ जना मुख्यमन्त्रीले हवाई टिकट, भ्रमण भत्ता र अतिथि सत्कारका नाममा प्रदेश सरकारको कोषबाट झण्डै आधा करोड रुपैयाँ सकाएका हुन् ।

यो अवधिमा नेकपा (एमाले)बाट लीला गिरी, नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी र नेकपा (माओवादी केन्द्र)बाट जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ३ मुख्यमन्त्रीले आफ्नो कार्यकालमा प्रदेश सरकारको कोषबाट ४५ लाख रुपैयाँ सकाएका छन् ।

गिरी, चौधरी र महराले काठमाडौँ जाँदा-आउँदाको हवाई टिकट, भ्रमण भत्ता र अतिथि सत्कारका नाममा प्रदेश सरकारको कोषबाट ४४ लाखभन्दा बढी रकम खर्च गरेका हुन् । खर्च भएको रुपैयाँमध्ये सबैभन्दा बढी खर्च गर्नेमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी रहेका छन् ।

उनले मात्रै कुल रकमको करिब ६८ प्रतिशत रकम काठमाडौँ आउँदा जाँदाको हवाई टिकट, भ्रमण भत्ता र अतिथि सत्कारका नाममा खर्च गरेका हुन् । तथ्यांकअनुसार गिरी, चौधरी र महराले २०७९ पुसदेखि २०८१ असारसम्म लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ४४ लाख २४ हजार रुपैयाँ खर्चिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी मोहन अर्यालले तीनै जना पूर्व मुख्यमन्त्रीको भ्रमण खर्च स्वदेशभित्रकै रहेको जानकारी दिए । ‘भ्रमण कार्यक्रम र संख्याका सम्बन्धमा कार्यालयको आर्थिक प्रशासन शाखाबाट भुक्तानी लिँदा पदाधिकारीहरूको भ्रमण, सञ्चार र अतिथि सत्कार खर्च (वित्तीय संकेत २११४२) बाट खर्च लेखिने हुँदा सो खर्च रकम एकमुस्ट हो,’ उनले भने ।

२७ पुस २०७९ देखि १३ वैशाख २०८० सम्म मुख्यमन्त्री बनेका एमालेका लीला गिरीले ३ महिनाको अवधिमा ६ लाख ८५ हजार रुपैयाँ राज्यकोषबाट खर्चिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, १५ वैशाख २०८० देखि २४ चैत २०८० सम्म मुख्यमन्त्री बनेका कांग्रेसका चौधरीले १ वर्षको अवधिमा ३० लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् ।

चौधरी मुख्यमन्त्री भएका बेला सातामा दुईपटक प्रदेश सरकारको काम देखाएर काठमाडौँ जाने गरेका थिए । उनी २०८० कात्तिकमा अमेरिका भ्रमणमा समेत गएका थिए । त्यस्तै, २५ चैत २०८० देखि ७ साउन २०८१ सम्म मुख्यमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महराले ७ लाख २५ हजार रुपैयाँ काठमाडौँ जाँदाआउँदाको हवाई टिकट खर्च र भ्रमण भत्ता बुझेका छन् ।

सुशासनको क्षेत्रमा वकालत गर्ने ऋषि आजादले खर्च अभावमा विपन्न नागरिकले जीवन गुमाइरहेको समयमा प्रदेशका विशिष्ट पदाधिकारीले राज्यकोषबाट निर्लज्ज ढंगले खर्च गर्नु गलत रहेको बताए । ‘पद र शक्तिको दुरूपयोग गर्न हुँदैन,’ आजादले भने, ‘अनियमित खर्च रोक्ने जिम्मेवारी राज्य हाँक्ने व्यक्तिको हो । यस्ता व्यक्तिले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्छ । राज्यको ढुकुटीमा अनियमितता गर्ने जनप्रतिनिधिका रूपमा अब जनताबाट अस्वीकृत हुनेछन् ।’

सामान्य कामका लागि पनि काठमाडौं धाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए । ‘अहिले इन्टरनेटको जमानामा पनि भौतिक उपस्थिति हुनुपर्छ भन्ने छैन, जुम मिटिङ पनि गर्न सकिन्छ,’ उनले भने, ‘अनावश्यक कामका लागि संघमा धाउने प्रवृत्ति रोक्न प्रदेशलाई अधिकारसम्पन्न बनाउने सबै पक्षमा लाग्नुपर्छ । संघले पनि प्रदेशलाई अधिकार दिनुपर्छ ।’

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको २० महिनाको अवधिमा ४ मुख्यमन्त्री बनिसकेका छन् । तीमध्ये गिरी, चौधरी र महरा बिदा भइसकेका छन् भने हाल ७ साउन २०८१ यता नेकपा (एमाले)का चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।

उनले समेत अघिल्ला मुख्यमन्त्रीहरूजस्तै हवाई टिकट, भ्रमण भत्ता र अतिथि सत्कारका नाममा राज्यबाट खर्च गरिरहेको देखिन्छ ।

मुख्यमन्त्री आचार्य आफूसहित ९ जना मन्त्रीलाई लिएर दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौँ पुगेका थिए । सोबेला समेत मन्त्रालय नै खाली गरेर मुख्यमन्त्री सबै मन्त्रीलाई लिएर लागेपछि चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार