कोहलपुर नगरपालिकाद्वारा गत आवमा साधारण खर्चमा भारी कटौती



पछिल्लो चार आवको साधारण खर्चमध्ये कोहलपुर नगरपालिकाले गत आवमा अघिल्ला तीन वर्षको तुलनामा भारी कटौती गरेको पाइएको छ । सार्वजनिक तथ्यांकअनुसार पदाधिकारी अन्य सुविधा, सेवा र परामर्श, पदाधिकारी बैठक भत्ता, अनुगमन मूल्यांकन, कर्मचारी प्रोत्साहन तथा पुरस्कार लगायतका शिर्षकमा गत आवमा त्यसअघिका तीन आवभन्दा भारी खर्च कटौती गरेको देखिन्छ ।

कोहलपुर ।

कोहलपुर नगरपालिकाले पालिकाभित्र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको छ । सुशासन कायम गर्ने सन्दर्भमा अनावश्यक खर्च कटौतीमा कोहलपुर नगरपालिकाले विशेष जोड दिएको छ । पछिल्ला आर्थिक वर्षहरूमा आर्थिक मितव्ययिता कायम गर्ने सवालमा कोहलपुर नगरपालिकाले सफलता पनि हासिल गर्दै गएको छ । अघिल्ला वर्षहरूको तुलनामा ठूलो मात्रामा साधारण खर्च कटौती गर्न नगरपालिका सफल भएको छ ।

कोहलपुर नगरपालिका आर्थिक सुशासन र मितव्ययिता कायम गर्ने कुरामा अत्यन्तै सचेत रहेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् । सवारी साधनको वृद्धि, इन्धन महँगी तथा जनशक्ति वृद्धि हुँदै गएको अवस्थामा पनि अघिल्ला वर्षहरूको तुलनामा कोहलपुर नगरपालिका साधारण खर्च घटाउन सफल भएको नगर प्रमुख आचार्यको दाबी छ ।

कोहलपुर नगरपालिकाका प्रवक्ताले शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विगत ४ आर्थिक वर्षको नगरपालिकाको साधारण खर्च विवरणमा पछिल्लो आर्थिक वर्षमा यस्ता खर्च निकै कटौती भएको देखिएको छ । नगरपालिकाले सबैभन्दा बढी ‘सेवा र परामर्श खर्च’ शीर्षकमा खर्च कटौती गरेको छ ।

सेवा र परामर्श खर्च शीर्षकमा आव २०७७/२०७८ मा १ करोड २१ लाख १९ हजार रुपैयाँ खर्च भएकोमा गत आव २०८०/०८१ मा नगरपालिकाले सो खर्च घटाएर ७ लाख १२ हजार ६ सय रुपैयाँमा झारेको छ । सो शीर्षकमा आव २०७८/०७९ मा ४४ लाख ३६ हजार १ सय ७७ रुपैयाँ खर्च भएकोमा आव २०७९/०८० मा १५ लाख ३८ हजार ९ सय ३० रुपैयाँ खर्च भएको थियो ।

त्यसैगरी, ‘पदाधिकारी अन्य सुविधा’ शीर्षकमा पनि पछिल्ला आवमा नगरपालिकाले उल्लेख्य खर्च घटाउन  सफल भएको छ । सो शीर्षकमा आव २०७७/०७८ मा १ करोड ८८ लाख १३ हजार ९ सय ८९ रुपैयाँ खर्च भएकोमा गत आव २०८०/०८१ मा १ करोड २ लाख ४ हजार खर्च भएको छ । सो शीर्षकमा आव २०७७/०७८ को तुलनामा आव २०८०/०८१ मा करिब ८६ लाख खर्च घटेको छ ।

त्यस्तै, ‘पदाधिकारी बैठक भत्ता’ शीर्षकमा पनि कोहलपुर नगरपालिका गत आवको तुलनामा करिब आधाभन्दा बढीले खर्च कटौती गर्न सफल भएको छ । आव २०७९/०८० मा ४३ लाख ४६ हजार ९ सय २५ रुपैयाँ पदाधिकारी बैठक भत्तामा खर्च गरेको कोहलपुर नगरपालिकाले आव २०८०/०८१ मा सो शीर्षकमा २० लाख ६३ हजार ५ सय रुपैयाँ खर्च गरेको छ ।

यो शीर्षकमा आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा खर्च ह्वात्तै वृद्धि भएको देखिन्छ । आव २०७७/०७८ मा पदाधिकारी बैठक भत्ता शीर्षकमा २ लाख ४८ हजार ८ सय ६० रुपैयाँ खर्च भएकोमा आव २०७८/०७९ मा सो खर्च ह्वात्तै बढेर ३३ लाख ८७ हजार रुपैयाँ पुगेको देखिन्छ । आव २०७९/०८० मा ४३ लाखभन्दा बढी पुगेको सो खर्च घटाएर गत आवमा नगरपालिकाले २० लाखमा झारेको छ ।

त्यस्तै, अनुगमन मूल्यांकन शीर्षक खर्चमा पनि अघिल्ला आवहरूको तुलनामा नगरपालिकाले खर्च घटाउन सफल भएको छ । यो खर्चमा आव २०७९/०८० र आव २०८०/०८१ मा करिब उस्तै उस्तै खर्च भए पनि तीभन्दा अघिल्ला आवमा भएको खर्चको तुलनामा करिब ७/८ लाख रुपैयाँ घटेको देखिन्छ ।

त्यसैगरी, ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ शीर्षकमा पनि नगरपालिकाले उल्लेख्य खर्च घटाएको छ । यो खर्च ७५ लाखबाट घटाएर १ लाख २० हजारमा झारिएको छ । आव २०७८/०७९ मा यो खर्च ७५ लाख ८४ हजार ६ सय ४० रुपैयाँ रहेकोमा गत आव २०८०/०८१ मा १ लाख २० हजारमा झारिएको हो । आव २०७९/०८० मा पनि यो खर्च ३ लाख ११ हजार ७ सय रुपैयाँ भएको देखिन्छ ।

भ्रमण, इन्धन र विविध शीर्षकमा अघिल्ला वर्षहरूको तुलनामा खासै खर्च कटौती गर्न नसके पनि आव २०७९/०८० को तुलनामा भने केही भए पनि खर्च कटौती भएको देखिन्छ । यी शीर्षकहरूमा आव २०७८/०७९ मा अघिल्लो वर्षको तुलनामा खर्च ह्वात्तै बढेको देखिन्छ । त्यसपछिका आवहरूमा भने क्रमशः खर्च घट्दै गएको सो तथ्यांकले देखाएको छ ।

कोहलुपुर नगरपालिकाका नगर प्रमुख आचार्यले विगत वर्षहरूका तुलनामा नगरपालिकाले साधारण खर्च कटाउँदै गएको दाबी गर्दै अघिल्ला वर्षहरूको खर्चको विवरण प्रस्तुत नगरी गत आवमा भएको खर्च मात्र देखाएर सामाजिक सञ्जालहरूमार्फत नगरबासीहरूमा भ्रम छर्न खोजिएको बताए । विशेषगरी पदाधिकारी बैठक भत्ता र पदाधिकारी अन्य सुविधाका विषयलाई लिएर केही समययता सामाजिक सञ्जालहरूमा टीकाटिप्पणी हुँदै आएको थियो ।

उनले अघिल्ला आवहरूको समेत तथ्यांक प्रस्तुत गरेर पछिल्लो विवरण प्रस्तुत गर्नसमेत चुनौती दिएका छन् । नगर प्रमुख आचार्यले नगरपालिकाले अनावश्यक खर्च कटौती गरेर आर्थिक सुशासन तथा मितव्ययिता कायम गर्न भरमग्दुर प्रयास गरिरहेको दाबी गर्दै ‘केही तत्वहरू’ले जनतामा भ्रम छरेर आफूहरूलाई बदनाम गर्ने कोसिस गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार