बाँके ।
नेपालगन्जमा रहेको तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्ति अभावले तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण भइरहेको हो ।
स्थानीय उत्पादन तथा भारतबाट आयातित तरकारी तथा फलफूल, रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र एक दर्जन बढी चोकमा ठेलामा बिक्रीवितरण हुँदै आएको छ ।
तर, स्रोत साधन र जनशक्ति अभावमा तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्दै आएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए ।
प्रयोगशाला एकाइमा प्राविधिक सहायक चौधरी र एक जना कार्यालय सहयोगीमात्र कार्यरत रहेका छन् । जनशक्ति अभावमा तरकारी तथा फलफूल बजारबाट नमुना संकलनमा समेत समस्या भइरहेको छ । कीरा तथा रोगव्याधीबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री गर्दा उपभोक्ताको भान्सासम्म विषादी पुगेको चौधरीले बताए ।
बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको उनी बताउँछन् ।
चौधरीका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेरमात्रै प्रयोग गर्न सकिन्छ । शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ ।
बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन भएका तरकारी तथा फलफूलजन्य वस्तुमा चालु आर्थिक वर्षको १० महिनामा गरिएको विषादीको नमूना परीक्षणमा पाँचवटा पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्