मुगु सामूहिक हत्या प्रकरणः हत्यारा पत्ता नलागेसम्म परिवारले शव नबुझ्ने



बाँके ।

मुगुको छाँयानाथ रारा नगरपालिका–६ मुन्दुमा सामूहिक रूपमा हत्या गर्नेलाई पक्राउ नगरेसम्म परिवारले शव नबुझ्ने भएका छन् ।

कात्तिक ८ गते २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटना भएको ६ दिन भइसक्दा पनि प्रहरीले हत्यारा पक्राउ नगरेको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका हुन् । हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेपछि मात्र शव बुझ्ने श्रीदेवीका श्रीमान् दीपक बोहोराले बताए ।

श्रीदेवीका काका खेम रावलले शव अस्पतालमा रहेको र आफन्तले खान सुत्न समेत नपाएका बताए । प्रहरीले पक्राउ गर्छौँ भन्ने बाहेक अरू काम नभएको उनले बताए । हत्यामा संलग्नलाई तत्काल पक्राउ नगरे सदरमुकाम गमगढी जोड्ने सबै सडक यातायात तथा हवाई यातायात समेत अनिश्चितकालका लागि बन्द गर्ने उनले चेतावनी दिए ।

घटना भएको दुई दिनपछि प्रहरीले जानकारी पाएको थियो । जानकारी पाउने बित्तिकै पिना प्रहरी चौकी र प्रहरी कार्यालयबाट प्रहरी पुगेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालसहितको टोली मुगुमै रहेको छ । मुगुका डिएसपी वीरेन्द्र थापाले घटनाको अनुसन्धानमा स्थानीयले सहयोग नगरेको दाबी गरे ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार