पवन शर्मा । जाजरकोट ।
जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्षभन्दा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
गत वर्ष ५ सय ६० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय म्याट्रिक टन बराबर सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष भने ६ सय २० हेक्टर क्षेत्रफलमा सुन्तलाको उत्पादन २२ प्रतिशतले बढेर ८ हजार १ सय २० म्याट्रिक टन भएको छ । यो जिल्लाकै अहिलेसम्मकै बढी उत्पादन भएको परियोजना इकाइ कार्यालय जाजरकोटका प्रमुख दीपेन्द्र पोख्रेलले जानकारी दिए ।
प्रमुख पोख्रेलका अनुसार यस वर्ष असल बगैँचा व्यवस्थापन, काँटछाँट, अनुकूल मौसम, सिँचाइ क्षेत्र विस्तार, बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन, आकस्मिक बाली संरक्षण शिविर, स्थलगत तथा जिल्लास्तरीय क्षमता अभिवृद्धि तालिमबाट सिकेका प्राविधिक ज्ञान सीप व्यवहारमा लागू गरिएका कारण उत्पादन वृद्धि भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार यस वर्ष कृषकको खेतबारीमा ३२ करोड ४८ लाखबराबरको सुन्तला उत्पादन भएको मूल्यांकन गरे पनि हालसम्म २७ करोड बराबरको आम्दानी भएको तथ्यांक संकलन गरिएको छ ।
जिल्लाको कुशे गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्