कोहलपुर/ जनता माध्यामिक विद्यालय राप्तीसोनारीका शिक्षक लिला बहादुर डाँगी विद्यालयमा पढाउन सुरु गरेको केही समय पछि पेट दुख्ने मुखमा अमिलो पानी आउने र कब्जियतको समस्या देखा प¥यो । उनी स्वास्थ्य परीक्षण गराउन अस्पातालमा पुगेपछि उनलाई चिकित्सकले ग्यास्ट्रिकको समस्या भएको बताए । उनले नियमित औषधी सेवन गर्दा पनि रोग सन्चो भएन । त्यसपछि उनी थप उपचार गर्न लखनउको पिजीआई अस्पतालमा पुगे । केही सुधार भएपनि पूर्णरुपमा सन्चो नभएपछि उनी फेरी काठमाण्डौंको ग्राण्डी अस्पतालमा पुगे । उपचारमा मात्र करिब रु २ लाख खर्च भएको शिक्षक डाँगीको भनाइ छ ।
त्यस्तै महादेवपुरी सनराईज ई.मी. स्कुलका संस्थापक प्रिन्सिपल सागरदत्त गौतमलाई पनि खाली पेट भयो की अमिलो डकार आउन सुरु गरिहाल्छ । खानाको सन्तुलन नमिल्ने बिहानदेखी साँझसम्म खाली बोलिरहनुपर्ने भएको हुँदा उनलाई पनि ग्याष्ट्रिकको समस्याले परोल्न थालेको धेरै भो । उनले पनि नेपालगन्जस्थित डा. गोपाल श्रेष्ठ कहाँ धेरै पटक उपचार गर्नुका साथै इन्डोस्कोपी समेत गरिसकेको बताए । अहिले पनि चिल्लो पिरो खानेकुरा खाना साथ समस्या बल्झिने गरेको उनको भनाइ छ ।
त्यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका कोहलपुरका प्राध्यापक कृष्ण अधिकारीलाई पनि केही समयदखि ग्याष्ट्रिकको समस्याले सताएको छ । बिहानै खालीपेटमा चिया खानुपर्ने लामो समयसम्म भोकै बस्नुपर्ने बाध्यताका कारण ग्याष्ट्रिकको समस्याले सताएको अधिकारीको भनाइ छ । उनले पनि काठमाडौंस्थित नर्भिक अस्पताल र टिचिङ अस्पतालमा समेत उपचार गराइसकेका छन् । खानपिनमा सन्तुलन नमिलेमा फेरी ग्यास्ट्रिक फर्केर आउने गरेको उनको भनाइ छ । मुस्कुराउँदै अधिकारी भन्छन्, ‘कहिले म जित्छु कहिले ग्याष्ट्रिकले जित्छ ।’
यि त प्रतिनिधि पात्रहरु मात्र हुन् । अधिकाँश शिक्षक तथा प्राध्यापकहरु ग्याष्ट्रिकका रोगी छन् । विहानदेखि साँझसम्म ट्युसन, कोचिङ, विद्यालय र क्याम्पसमा अध्यापन गराउनु पर्ने, लामो समय सम्म खाली पेट बस्नुपर्ने र मानसिक तनाव हुन, शारीरिक श्रम कम गर्नु जस्ता कारणले शिक्षक तथा प्राध्यापकहरुमा ग्यास्ट्रिकको समस्या देखिएको उनीहरुको भनाइ छ ।
नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ जनरलफिजिसियन डा. श्याम बिकले शिक्षकहरुलाई खानपिनको सन्तुलन नमिल्नु, खाली पेटमा धेरै बोल्नुपर्ने, दिउँसो खाना खाने समय नमिल्नु, मानसिक तनाव लगायतका कारण ग्यास्ट्रिक हुन सक्ने बताए । साथै खाली पेटमा आमाशयमा एसिडको मात्रा बढ्ने भएको हुँदा पनि ग्यास्ट्रिकको सम्भावना बढ्ने गरेको डा.बिकको भानाइ छ । प्रशस्त पानी पिउने, तनावमुक्त रहने र बिहान नास्त, दिउँसो खाना खाने, अपराह्नमा खाजा खाने र साझँमा खाना खाने, अनिदो नबस्ने र धुम्रपान नगर्ने हो । ग्याष्ट्रिकबाट सकिने डा. बिकको सल्लाह रहेको छ ।