भुईँमान्छेको कथा: जुठीका संघर्ष र बेदना




टाउकोमा ‘पाँचतारा’ अंकित रुमाल । निधारमा रातै टीका, काँधमा पनि रातै रङको सलको सप्को । झट्ट हेर्दा उनलाई योद्धा जस्तो लाग्ला ! तर, सेतै फुलेको कपाल, चाउरी परेका गालाले उनी युद्धका लागि तयार योद्धा होइनन् भन्ने संकेत दिन्छ ।

जुठी परियार, भोको पेट पाल्न संघर्ष गरिरहेकी भुइँमान्छे हुन् । उमेरले उनी पाँच दशक नाघिन् । जिन्दगीका ५५औँ वसन्त टेकेकी जुठीले धेरै हन्डर खाइन् । एक्लो जीवन बाँचिरहेकी उनको सम्पत्तिका नाममा एउटा चिज मात्रै छ, त्यो हो ठेलागाडा ।

त्यो पनि जम्मा १० हजार मूल्य पर्ने । हिजो उनीसँग सबैथोक थियो । समयको नियतिले उनलाई बेघरबार नै बनाइदियो । अहिले उनीसँग आफ्नो भन्न न घर छ, न त आफ्नो नामको जग्गा । नौ कोख र दश धारा दूध खुवाएर जन्मेहुर्काएका सन्तानसमेत उनीसँग छैनन् । परियार भन्छिन्, ‘घरबार, सन्तान र सहारा भनेको यही ठेला हो । अहिले मलाई सबथोक यसैले दिएको छ ।’

उनी ठेलामा चटपटे, पानीपुरी बेच्छिन् । जुन जुठीको रहर होइन, बाध्यता हो । अझ भनौँ नियति हो । ठेलामा चटपटे र पानीपुरी बेचेर कमाएको पैसाले उनको गुजारा चलेको छ । ‘दिनमा पाँच सय रुपैयाँ कमाइ हुन्छ । कहिलेकाहिँ दुई सय मात्रै हुन्छ । यो मेरो श्रमको पैसा हो । कसैले दिएको होइन । यसैमा सन्तुष्ट छुँ,’ उनी सुनाउँछिन् ।

कुराकानी गर्दै जाँदा एक्कासी दश वर्ष पहिलेको प्रसंग आउँदा उनी झस्किइन्, भक्कानिइन् । त्यो दिन नै उनको जीवनको कालो दिन थियो । त्यो त्यही दिन हो, जुन दिन शिरको श्रीमान् भनेर आजीवन पूजा गरेका श्रीमान्ले अर्को विवाह गरे । त्यही दिनदेखि उनी सहाराविहीन भइन् । जिन्दगी रूपी रथको एउटा पांग्रा नै छुट्टियो । आँखामा टिलपिल आँशु खसाल्दै उनले भनिन्, ‘ठ्याक्कै दश वर्ष पुग्यो बाबु । उहाँले मलाई छोडेर गएको । जिन्दगीले हार्न बाध्य पारिरहयो, मैले हार मानिन्ँ ।’

त्यसपछि हो, उनी घर छोडेर हिँडेको । दुई छोरी काखमा च्यापेर कोहलपुर आएको । उनी कोहलपुर आएर संघर्ष गर्न थालेको दश वर्ष पुग्यो । अहिले उनका दुवै छोरीले विवाह गरेर घरजम गरिसकेका छन् । एक्लै भाडामा बस्दै आएकी उनले ठेलागाडालाई जीवनको सहारा बनाएकी छन् । उनको जिन्दगीको चोटपटक यत्तिकैमा सीमित छैन ।

श्रीमान्ले साथ छोडेपछि कहाँ पुगिन्, केसम्म गरिनन् होला जुठीले । छोरीहरुको उज्ज्वल भविष्यको लागि साउदी अरब पुगिन् । त्यहाँ उनले दुई वर्ष काम गरिन् । त्यहाँ साहुका बच्चा हेर्ने र घर सरसफाइको काम गर्नुपथ्र्याे । पराइको देशमा अर्काको बच्चा हेरचाह गर्दा आफ्ना छोरीहरुको यादले सताउने गरेको उनले सुनाइन् । उनी घर फर्किइन् । त्यतिले मात्रै घरको आर्थिक अवस्था धान्न मुस्किल भएपछि उनी फेरि कुवेत पुगिन् ।

उनले थपिन्, ‘चार वर्षको छोरी छाडेर कुवेत गएँ । आर्थिक अवस्थाले यहाँ बस्नै सकिएन । जुन मेरो बाध्यता नै थियो,’ त्यहाँ उनले कुकको काम गरिन्, तलब थियो, २० हजार । त्यतिबेलासम्म श्रीमान्ले अर्को विवाह गरेका थिएनन् । तर, श्रीमतीले विदेशमा दुःख गरेर कमाएको पैसा सही ठाउँमा लगानी नै गरेनन् । छोरीहरुको माध्यमबाट आफूलाई पैसा अनावश्यक खर्च गर्ने थाहा पाएपछि खातामा पठाउने गरेको बताइन् ।

जब उनी नेपाल आइन् । उनको परिवार भने एकजुट हुन सकेन । श्रीमान्ले अर्को विवाह गरे । उनी कोहलपुर आइन् । अहिले उनी साँझबिहान छाक टार्न ठेला चलाउँछिन् । जिन्दगीमा धेरै चोटपटक व्यहोरेकी उनी अहिले आफ्नो कर्ममा खुसी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार