17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कर्णालीका मुख्यमन्त्री शाहीः प्रतिपक्ष हुँदा आलोचना र सत्तामा पुग्दा बचाउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १०, २०७८  

समृद्धि कर्णाली बनाउने उपायसहित आलोचना गर्ने उनै शाही मुख्यमन्त्री बन्दा किन काम गर्न सकेनन् त ? यसको उत्तर सजिलो छ, ‘बोले जस्तो व्यवहारमा उतार्न सकिँदैन ।’

व्यवहारमा बोल्न सक्ने किन बोलिँदैन त, ‘राजनीति ।’ यही प्रश्न उत्तरमा उनको कार्यकाल घर्किरहेको छ ।

कृष्ण ओली । बाँके ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले संसद्मा बेलाबेला सरकारको आलोचना मात्र गरेनन्, कर्णालीलाई समृद्धि बनाउने जादुमय विकल्प पनि सुनाए । त्यतिबेला उनी मुख्यमन्त्री होइन, अधिकारविहीन विपक्षी दलको नेतामा सीमित थिए । कर्णालीलाई समृद्धि बनाउने सपना बाढेका उनै नेता शाही अपत्यारिलो ढंगले अहिले मुख्यमन्त्री बनेका छन् ।

अब उनी पहिले जस्तो आलोचना गरेर होइन, काम गरेर देखाउने स्थानमा पुगेका छन् । विपक्षी दलको रुपमा उपस्थिति उनको भूमिका अहिले फेरिएको छ । अहिले उनको भूमिका सरकारको आलोचना गर्ने होइन, आएका आलोचना, सुझावलाई कार्यान्वयन गर्ने र आफैँले बोलेका योजनालाई कार्यान्वयन गर्ने हो ।

तर, हिजो जुनरुपमा उनले सुझावसहित आचोलना गथ्र्ये अहिले सोहीअनुसार काम गरेको देखिँदैन । समृद्धि कर्णाली बनाउने उपायसहित आलोचना गर्ने उनै शाही मुख्यमन्त्री बन्दा किन काम गर्न सकेनन् त ? यसको उत्तर सजिलो छ, ‘बोले जस्तो व्यवहारमा उतार्न सकिँदैन ।’ व्यवहारमा बोल्न सक्ने किन बोलिँदैन त, ‘राजनीति ।’

यही प्रश्न उत्तरमा उनको कार्यकाल घर्किरहेको छ । उनी मुख्यमन्त्री भएपछि लामो समयसम्म मन्त्रिपरिषद् नै गठन गर्न सकेनन् । अर्काे महŒवपूर्ण पाठो भनेको ढिलो गरी बजेट आयो । जसले गर्दा कर्णालीको विकासलाई ठप्प मात्र पारेन, केही वर्ष पछाडिसमेत ढकल्यो । संघीय संरचनाअन्तर्गत कर्णाली प्रदेश सरकार गठन भएको चार वर्ष पूरा भइसकेको छ ।

विभिन्न सामाजिक सूचकको हिसाबले कमजोर हैसियत भएको यो प्रदेशका जनप्रतिनिधिहरुले अधिकांश समय विकास, समृद्धि, परिर्वतन, नीति, निर्माणमा नभइ सत्तामा पुग्ने होडबाजीमै बिताइदिए । एउटा आर्थिक वर्षमा ल्याएको महŒवपूर्ण योजना अर्काे आर्थिक वर्षमा प्रदेश सरकारले भुलिसकेको हुन्छ ।

प्रदेश सरकारले ल्याएका अधिकांश कार्यक्रम अध्ययनबिनै नीति तथा कार्यक्रममा समेट्ने तर कार्यान्वयनमा कानुनी बाधा आउँदा समस्या भइरहेको मन्त्रालयका कानुन अधिकृतहरुले बताउने गरेका छन् । प्रदेश सरकारले ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ को नारा अघि सारे पनि समृद्ध कर्णाली बनाउने खास मोडालिटी के हो ? भन्ने आधार नै सिर्जना गर्न नसकेको सरोकारवालाहरुले बताउने गरेका छन् ।

त्यसो त वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू नेतृत्वको सरकारलाई विगतकै सरकारको निरन्तरता हो भन्दै आएका छन् । तर उनी पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अघि सारेका योजनालाई मूर्त रुप देलान् भन्ने ढुक्क हुन सकिने अवस्था छैन । उनले अहिले छ वटा ‘ब’ बाट कर्णाली समृद्ध गर्न सकिन्छ भन्दै नयाँ सूत्र लागू गरिरहेका छन् ।

प्रतिपक्षमा हुँदा पूर्व मुख्यमन्त्री ल्याएका योजनाहरु अध्ययन, अनुसन्धानबिना नै ल्याइएको भन्दै संसद्मा चर्को आवाज उठाउने उनी अहिले महेन्द्रबहादुर शाहीकै बुईँ चढेर मुख्यमन्त्री बनेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन एवम् नागरिक अगुवा पिताम्बर ढकाल प्रश्न गर्छन्, ‘सरकारले ल्याएका योजना अगाडि बढाउन न राजनीतिक संयन्त्र अगाडि बढ्छ, न कर्मचारी प्रशासन नै । अनि कसरी हुन्छ, जनताले अपेक्षा गरेका कार्यक्रम कार्यान्वयन ?’ अहिलेलाई पूर्व मुख्यमन्त्रीकै अधुरा परियोजनामा वर्तमान मुख्यमन्त्रीले होस्टेमा हैँसे गरिदिए कर्णालीवासीका केही सपना सार्थक हुने थिए ।

तर पूर्व मुख्यमन्त्रीले ल्याएका योजनामा वर्तमान मुख्यमन्त्रीले कैंची चलाइरहेका छन् । उनलाई पूर्व मुख्यमन्त्रीको प्रदेश विकासको मोडालिटी फिटिक्कै मन परिरहेको छैन । अनि, आफूले पनि केही गर्न सकिरहेका छैनन् ।

मुख्यमन्त्री शाहीसँग नागरिकका अपेक्षा धेरै भए पनि उनले अपेक्षाको पूर्ति गर्न सकेका छैनन् । योजना कार्यान्वयनमा ध्यानभन्दा भाषणमा जोड दिएकाले पनि कर्णालीमा उपलब्धि देखिन नसकेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र १०, २०७८     7:55:52 PM  |