सुर्खेत : सुर्खेतको पुरानो बजार हो, गणेशचोक । तर, अहिले वीरेन्द्रचोक, बुद्धपथ, जुम्ला रोडतिर बजार बढेपछि गणेशचोक सुनसानजस्तै छ । गणेशचोक नजिकै छ, गणेश मन्दिर ।
बिहीबार गणेश मन्दिर उत्तरछेउ रहेको सन्तोषीमाता मन्दिरमा एक नाबालकको चिना कुण्डली हेर्दै थिए, ३५ वर्षीय पुजारी मधुसुदन उपाध्याय । वीरेन्द्रनगर–८ की ज्ञानु विक आफ्नो नातिको नाम जुराउन आएकी रहिछन् । पुजारीले पात्रो पल्टाएर, कागजमा लेखेर एकैछिनमा नाबालकको चिना तयार पार्छन्– नाम ः देवराज, राशिः मीन ।
ज्ञानु खुसी मुद्रामा सोध्छिन्, ‘अरु दशाग्रह कस्ता छन् ?’ पुजारी पात्रोका पाना पल्टाउँदै घोरिन्छन् र भन्छन्, ‘यो बालकले विद्या र धन कमाउने योग छ ।’ यसोभन्दा ज्ञानुको मुहार उज्यालियो । उनी खुसी हुँदै फेरि सोध्छिन्, ‘कुनै ग्रहशान्ति गर्नुपर्छ कि ?’
पुजारीले बालक जन्मेको १२ दिनदेखि २८ दिनभित्र ग्रहशान्ति गर्दा राम्रो हुने बताउँछन् । योबीचमा दिन जुराउन नपर्ने र पछि कुनै बेला पनि दिन जुराएर ग्रहशान्ति गर्न सकिने पुजारीको भनाइ हुन्छ ।
प्युठानको स्वर्गद्वारी आश्रममा २०६० देखि २०६३ सम्म बिना श्रेणीको गुरुकुल शिक्षा लिएका मधुसुदन यस मन्दिरका पाँचौँ पुजारी हुन् । उनीअघि यहाँ चारजनाले पुजारी कर्म गरे । यस मन्दिरमा २०२८ सालतिर अनौपचारिकरूपमा पूजापाठ हुने स्थानीय बताउँछन् । औपचारिकरूपमा भने यहाँ २०३२ सालदेखि पूजाआजा गर्न थालिएको हो । बजारमा भीडभाड हुने र नजिकै पानीको मुहान भएकाले यहाँका सर्वसाधारणले यस मन्दिर स्थापना गरेका थिए । ‘यो प्राकृतिकरूपमा उत्पत्ति भएको धार्मिकस्थल होइन,’ मधुसुदन भन्छन्, ‘यसलाई आध्यात्मिकरूपमा विकास गरिएको हो ।’ अहिले यो धार्मिक तीर्थस्थलका रूपमा विकास हुँदै गएको छ ।
दैलेख चामुण्डा विन्द्रासैनी–४, तिलुखानाका मधुसुधनका बाबु (नन्दराम) पनि कर्मकाण्ड गर्थे । मधुसुदनले कर्मकाण्ड विधि बाबुबाटै सिकेका हुन् । २०५८ मा एसएलसी उत्तीर्ण गरेका उनी २०५८ देखि २०६० सम्म बाबुसँगै धार्मिक कार्यमा सहभागी भए । त्यसपछि उनलाई यससम्बन्धी अध्ययन गर्न मन लाग्यो र गुरुकुल पुगे । गुरुकुलबाट फर्केलगत्तै (०६४ मा) उनी गाउँकै उपेन्द्र रावत र सीता शाहीको विवाहमा बाहुन भए, यो नै उनको पहिलो कर्मकाण्ड अनुभव हो ।
मधुसुधनका दाइ कृष्णप्रसाद राष्ट्रिय वाणिज्य बैंक दैलेखका म्यानेजर छन् भने कान्छा भाइ हरि स्थानीय गैरसरकारी संस्थामा काम गर्छन् । उनी भने पूजापाठ गर्न आइपुगे ।
यहाँ गणेश भगवान्को पाञ्चायण मूल मन्दिर छ । सँगै सन्तोषीमाता, नागेश्वरको शिव लिंग पनि छ । यसलाई सनातन धर्म सेवा समितिले रेखदेख गर्दै आएको छ ।
यस मन्दिरमा रक्षाबन्धन र मंगल चौथीका दिन धेरै भक्तजन आउँछन् । यतिबेला भक्तजनले भेटी चढाउँछन् । त्यसैले यहाँ कति आम्दानी हुन्छ भन्ने यकिनका साथ भन्न सकिँदैन । मधुसुदन भन्छन्, ‘यहाँ आम्दानी कम हुने हुँदा छिटो–छिटो पुजारी परिवर्तन भएका हुन् ।’
पूजापाठकै आम्दानीबाट घर खर्च चलाउँदै आएका उनका दुई सन्तान छन् । छोरी टीका ५ कक्षामा पढ्छिन् भने छोरा विवेक २ कक्षामा ।
मधुसुधन पेसाबाट सुखी यसरी व्यत्त गर्छन् ।
‘ज्यादिनँ पढले विन्दु
भातु गर्भसे तत दिने
तत दिने लिखिता जन्म
हानी मृत्यु सुखम् दुखम्’
मान्छे जन्मेपछि खुसी र दुखी त अवश्य हुन्छ । धन दौलत वा सुखसुविधाका लागि मान्छे देवीदेउता पुकार्छ । भक्ति आराधना गर्छ, र पूजापाठ पनि देवीदेउताकै गर्छ । पोखरा र सेरोफेराका बासिन्दाले मनोकांक्षा पूरा गर्न सबैभन्दा धेरै पुकार्ने र हृदयदेखि मान्ने देवी विन्ध्यवासिनी हुन् । तर यिनै देवी भने आफैँलाई पूजाआज गर्ने पुजारीभन्दा धेरै गरिबी छिन् । कारण सिधा छ–देवीका नाममा भक्तजनहरुले चढाउने सबै दक्षिणा पुजारीले लिनु ।
प्रतिक्रिया दिनुहोस्