21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

उपाध्यक्षमै सीमित हुँदैन, अबको योजना अध्यक्ष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १७, २०७८  

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लास्थित खार्पुनाथ गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष सिन्दु हमाल शाहीको दुर्घटनामा मृत्यु भएपछि रुपा शाही २०७६ मंसिर १५ गते उपाध्यक्षमा निर्वाचित भइन् । दुर्गम मानिने गाउँपालिकाको विकासका लागि उनले पाएको थोरै समय थियो तर यही थोरै समयमा उनले गाउँपालिकालाई बदल्ने गरी गाउँपालिकामा कसरी काम गरिन्, काम गर्दाका जटिलता र कामका अनुभवनका विषयमा मिसन टुडेले उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सम्पादित अंश ।

रुपा शाही उपाध्यक्ष, खार्पुनाथ गाउँपालिका हुम्ला

तपाईं निर्वाचनमा जाँदा जनतासामु गरेका प्रतिबद्धता अहिले सम्झनू भएको छ कि ताजै छन् ?

मैले निर्वाचनमा जाँदा जनतासामू गरेका प्रतिबद्धता मेरो मनस्पटलमा ताजै छन् । जनतासामू जाँदा धेरै बोलेको थिइनँ, थोरै मात्र गर्न सकिने जति बोलेको थिएँ । ति प्रतिबद्धता मेरो गाइडलाइन हुन । त्यही प्रतिबद्धताअनुसार जनताको काममा तल्लिन् छुँ र रही रहने छुँ ।

चुनावताका मैले गाउँको शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको थिएँ । घर नजिकै गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने योजना थियो । मेरो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता रोखिएको थियो । त्यो कहाँ गयो खोजी गरेर लक्षित वर्गलाई दिने घोषणा गरेको थिएँ । निर्वाचित भएपछि खोजनीति गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेँ ।

स्वास्थ्य बिमा कार्यक्रम थियो । त्यसलाई व्यवस्थित गरेर कार्यान्वन गरेँ । दुर्गम जस्तो मान्छे सुगममा आउँदा स्वास्थ्य बिमा भए उपचार शुल्क छुट हुन्छ । विपन्न नागरिकले एक लाख रूपैयाँसम्म उपचारमा छुट पाउने कुरा जनमैत्री थियो र छ ।

स्वास्थ्य बिमा अनिवार्य बनाउने योजना थियो । अहिले सबै घरमा जाँदा सबैले स्वास्थ्य बिमा बनाएका छन् । मेरो समय थोरै थियो र गर्नुपर्ने धेरै थियो र छ । कतिपय कुराहरु छुटे । त्यो विषयमा जनतासामु गएर भन्छु र उहाँहरुलाई बुझाउँछु । आफ्नो एजेण्डा धेरै थिए ।

तपाईंले गराएका योजनाअनुसार सबै काम किन हुन सकेनन् । यसलाई कसरी समीक्षा गर्नुहुन्छ ?

कतिपय समय छोटो भएर कार्यान्वयन हुन सकेनन् भने कतिपय गाउँ कार्यापालिकामा मैले लिएका एजेण्डाहरु पास भएनन् । जसले काम गर्न धेरै चुनौती भयो । महिला हुँदा अरुमा विश्वास कम हुँदा पनि मेरा एजेण्डाहरु पास भएनन् ।

उप जति सबै चुप भन्ने हिसाबले गाउँपालिकामा व्यवहार हुँदा पनि समस्या छ । जब हाम्रा योजना कार्यान्वयन हुँदैनन् र छलफल हुँदैनन् भने चुप झै लाग भने जस्तै ।

यो महिला उपाध्यक्षहरुको साझा समस्या हो । जनताबाट निर्वाचित भएर आएपछि म चुप लागेर बसेन् । कतिपय विषयमा आफूले बलमिच्याइ गरेरै अगाडि बढेँ । जनतासामू गरेका प्रतिबद्धताअनुसार काम नगरे भोलि जनताले विश्वास नगर्ने हुँदा केही विषयमा विवाद गरेरै अगाडि बढेको छुँ ।

गाउँपालिकाको नेतृत्वमा फरक–फरक दलको हुनुहुन्छ । यसमा कस्ता समस्याहरु सिर्जना भएका छन् ?

यो सबै समस्या भनेकै पार्टी हो । यो वा त्यो मेरो पार्टीको होइन भनेर पेलान गर्ने प्रवृतिले पनि चुनौती दिएको छ । पार्टीगत नजरलाई हरियो । अधिकारभरि अध्यक्षलाई छ र उपाध्यक्ष अधिकारविहीन छ भन्ने हिसाबले बुझियो । उपाध्यक्षलाई पन्छ्याउन सकिन्छ भन्ने हिसाबले गाउँपालिकामा हेपाह नजरले हेरियो ।

तपाईंको गाउँपालिकामा अहिले कस्ता समस्याहरु छन् ?

मैले पहिलाभन्दा केही शिक्षामा सुधार गरेको छुँ । तर यो विषय दीर्घकालीनरुपमा समाधान हुन सकेको छैन । यहाँ कुनै विद्यालयमा विद्यार्थीभन्दा धेरै शिक्षक छन् कुनै विद्यालयमा एकै शिक्षकको काँधमा धेरै विद्यार्थीहरु छन् । अर्काे कुरा विषयगत शिक्षक पनि छैनन् । विषयगत शिक्षक नहुँदा यहाँका विद्यार्थीले कस्तो शिक्षा प्राप्त गर्लान ।

राजनीतिकरुपमा नियुक्ति गर्ने प्रवृतिले पनि शिक्षामा सुधार आउन सकेको छैन । शिक्षाका संख्यात्मक हिसाबले अगाडि जाने की गुणस्तरीयताको हिसाबले अगाडि जाने यो विषयमा छलफल हुन जरुरी छ । गुणस्तरीयता नहुँदा प्रतिफल नहुने हुँदा प्रतिफल आउने गरी काम गर्नुपर्छ । यसमा म लागिरहेको छुँ । शिक्षामा यतिधेरै खर्च हुँदा पनि प्रतिफल आउन सकेको छैन । यसमा म दुखी छुँ ।

तपाईंले गर्न नसकेका काम ?

सडक हुम्लामा पुगेको छैन । गाउँपालिकाका ५ वडामा सडक पुगोस् भन्ने थियो । जनता यातायातको सुविधाबाट वञ्चित नहुनु भन्ने थियो । यसमा यो पनि गर्न सकिएन । विविध कारणले गर्न सकिएन । अरु गाउँपालिकाभन्दा हाम्रो गाउँपालिकामा स्वास्थ्य सुधार छ । तर पनि दक्ष स्वास्थ्यकर्मीको पहिचान हुन सकेन । आफ्नो रोजीरोटी र पार्टीगतरुपमा परिचालन भए । साँच्चिकै जनताका लागि स्वास्थ्यकर्मी परिचालन भएनन् । यसमा पनि म सन्तुष्टि छैन ।

अहिले तपाईं गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । यसपछि अबको तपाईंको यात्रा के हुन सक्छ ?

यसमै म सीमित हुँदैन । सीमित हुने भए म व्यवसाय गथ्र्ये । मैले व्यापार गथ्र्ये र अरु ठाउँमा गएर कमाउने बाटो रोजथ्ये । मैले राजनीतिक बाटो रोजेको छुँ । यो बाटो रोजेपछि जनतालाई अन्योल गर्न चाहँदैन । जनताका इच्छा आकांक्षाअनुसार काम गर्छु भनेर घरघरमा गएपछि मेरो राजनीतिक यात्रा यहाँ टुंगिएको छैन । किनभन्दा मैले यो पालिकामा केही गर्नुछ ।

यहाँभन्दा पछाडिका लागि गर्छु । उपाध्यक्षको मेरो समय थोरै हो । अब पाँच वर्षका समय लिएर जनतासामू जाँदा मैले लिएका एजेण्डाहरुमाथि काम गर्नका लागि भोट माग्छु र म अब उपाध्यक्ष होइन अध्यक्ष हुन चाहान्छु । अध्यक्षका लागि मेरो योजना हो । अध्यक्ष भएर नमुना गाउँपालिका बनाउने मेरो संकल्प हो र छ ।

 

प्रकाशित मितिः शनिबार, पुस १७, २०७८     10:45:12 AM  |