माओवादी कर्णालीमा अध्यक्षका आकांक्षी धेरै



सुर्खेत ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको नेतृत्वको लागि आधा दर्जन बढी आकांक्षी देखिएका छन् । आज (शनिबार) देखि सुरु हुन गइरहेको प्रदेश अधिवेशनबाट कर्णालीको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुले आकांक्षा देखाएका हुन् ।

कर्णालीका १६ जना केन्द्रीय सदस्यमध्ये प्रदेश इन्चार्ज शक्ति बस्नेत र संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’बाहेक १४ जनाले प्रदेश अध्यक्ष बन्ने चाहना राखेका छन् ।

अहिले माओवादी कर्णाली प्रदेश संयोजकमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्य छन् । यी दुवै केन्द्रीय सदस्यसमेत हुन् । अहिले उनीहरु दुवैले प्रदेश अध्यक्षमा दाबी गरिरहेका छन् ।

त्यस्तै अध्यक्षका आकांक्षीहरुमा टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान बिस्ट, महेन्द्रबहादुर शाही र झकबहादुर मल्ल छन् । माओवादी स्रोतका अनुसार मायाप्रसाद शर्मा, नरेश भण्डारी, राजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, राजकुमार शर्मा र वसन्त शर्मा, नरबहादुर बिष्टले पनि अध्यक्षमा आकांक्षा देखाएका छन् ।

आकांक्षीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिझाउन प्रयास गरिरहेका छन् ।

‘अध्यक्ष प्रचण्डले जसलाई चाहानुहुन्छ, त्यही अध्यक्ष बन्छ,’ केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज नरबहादुर बिष्टले भने । माओवादीका एक नेताका अनुसार कर्णालीका १० जिल्लामध्ये नौ जिल्लाले पदाधिकारी पाउने भएका छन् भने एक जिल्लाले कार्यालय सदस्य पाउने पक्का जस्तै छ । आजदेखि वीरेन्द्रनगरमा हुने कर्णाली प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार