क) भिरको बाटो सरर…
शोकसुर्ता छोडेर चिन्ता पीर,
भिरको बाटो भेरीको तिरै तिर ।
कैले वारि कैले पारि ,
रामु, बद्री, बि.एल. र गिरीधारी ।
चारजनाको मोटर साइकल सफारी, डेस्टीनेसन दुनै ।
‘जाम भने जाम तनी, डोल्पा दुनै फोक्सुण्डो ताल घुमेर आमतनी’ भनेर साथीहरूको प्रस्तावमा सहजै सहमति जनाई सकेपछि नजानु कसरी ? समय र संदर्भले भने संकेत नजान गरिरहेको थियो । कोभिडको मारमा परेर पछि परेको पढाइलाई परीक्षा अगावै पूरा गरिदिनु पर्ने प्रेसर, प्याव्सन प्रिबोर्ड परीक्षाको तयारी, विद्यालयको व्यवस्थापकीय बन्दोवस्तीको जिम्मेवारी र घरतिर, ‘कुनैपनि बेला केही पनि हुन सक्छ, कहीँ कतै नजाऊ !’ भन्ने, बृद्ध बिमार बाउको बोलीले ‘नजाउँकी क्या हो,’ भन्ने लागिरहेको बेला सााथीहरूले ‘जाऊँ !’ भनेपछि, एकबारको जुनीमा यस्तो मौका आउला नआउला, यसरी घुम्न जाऊँ, भन्ने मान्छे पाउँला नपाउँला भन्ने लागेर जाउँकी जाउँकी हुने यो मन दोमन भयो । मादल कैले घिनताङ्ग घिनताङ्ग र फेरि कैले ताङ्गघिन ताङ्गघिन बजे झैँ ६० बर्षे तनको यो मनेमादल पनि जाउँकी नजाऊँ तालमा बज्दा बज्दै अन्तमा जाऊँ ताल बजेर जान जनाऊँ दिएपछि जाने भइयो, कोहलपुर दुनै साहसिक मोटर साइकल यात्रामा ।
भारतमा कोरोनाको दोस्रो लहर सुरु भएर भयावह अवस्था सृजना भइसकेको र ‘त्यो लहर नेपालमा पनि छिरेर पोहोर झैँ कोरोनाको अर्को कहर काट्नु पर्ने हो की ? अर्को लकडानउनको मार खेप्नु पर्ने हो की ?’ भन्ने भय पूर्ण भनाइहरू सरकारी, गैर सरकारी र आम जनसमुदायहरुको बिचमा चलिरहेको अवस्थामा वायुप्रदुषणको बहाना बनाएर विद्यालयहरू बन्दको घोषणा सरकारबाटै भएपछि सरकारीका साथीहरूले त्यसको सकारात्मक सदुपयोग गर्ने सुत्र खोजिरहेका थिए । सरकारी अनुरोध र आज्ञालाई अवज्ञा गर्दै सञ्चालनमा रहेका संस्थागत विद्यालयहरू मध्यको एउटा विद्यालयमा १७ चैत्रको चौथो घण्टी कक्षा आठमा सामाजिक शिक्षाको अफ्रिका महादेश भन्ने पाठ पढाउँदै गर्दा बद्री ढकाल हिरामणिले ,‘हिडिसके साथीहरू, हतार भयो , हिडौँ हामी पनि’ भनेर ‘हिड की हिड,’ लगाएर अत्याउन थालेपछि टिफिनको घण्टी ट्याङ्ग ट्याङ्ग बज्नै लाग्दा टन्नै टास्क दिएर टाप कसेँ टिपेर झोला, सहयोगी भाइहरूले तयार परिदिएको र बसेँ म पछाडि बद्री सरको । डब्लु पम्पमा पेट्रोल भरेपछि झण्डै आधा घण्टा अगाडि छुटेको ‘¥याम्बो राइडर रामु रिडन’ मोटर साइकल पछ्याउँदै रन्कियो रत्न राजमार्गमा । औसत गति ६० कि. मि. प्र. घ.। बबईमा सबै भेट भएर सगैँ गइन्छ की भन्ने थियो । त्यो भएन । हामी छिन्चु बजार पुगेपछि मात्र मोटर साइकल ( २ , मान्छे(४ र आँखा(८ भयौँ ।
आलु चप चपाएर चियाको चुस्की लगाइसकेका जना चार बोकेर चार चक्का (दुई मोटर साइकलका (गुडे , भिरको बाटो भेरीको तिरै तिर, छिन्चु(जाजरकोट मोटरबाटोमा । छिन्चुबाट मेहेल कुना , जहरे , साहरे जस्ता साना ठुला सहर बजार छिचोल्दै केही बेरमा केही वर्ष पहिला सम्म फेरीमा तर्नु पर्ने भेरीमाथि भर्खरै बनेको पक्की पुल पार गरेर सल्लीको पल्लीपट्टी पुगेपछि पिलिएन राइडरहरुले प्रधान पाइलटहरुलाई पालो दिनुपर्ने प्रस्ताव पेस भयो । मैले मेरो कमजोर नजरको मध्य नजर प्रस्तावको हुन्न भन्ने पक्षमा मत जाहेर गरेँ । मेरो मतलाई नजर, अन्दाज गर्न मिलेन र म पिलिएनको पिलिएनमा नै रही रहेँ । सदाबहार पिलिएन राइडर ( यात्राभरि । म रामुकोमा र बद्री गिरीधारीकोमा हुने गरी साटफेर भयौँ । त्यहाँदेखि मलाई पछाडि राखेर रामुको गाडी अगाडि गुडेपछि उडेको मेरो साता,े छेडा पुगेर पछाडि छुटेकालाई पर्खन रोकिएपछि मात्रै फर्केकाले गाडी गुृडेको थियो की उडेको यसै भन्न सकिएन । सुकुटी माछाका अलवा चना र केराउको गेडा बाहेक अन्य नास्ता नभएकाले छेडामा नखाने निधो गरेर सुरुको रामु–गिरीधारी र बद्री–वि. एल. वाला साविकै सवारी सेट बमोजिमको सफारी अघि बढ्यो ।
भिरको बाटो भेरीको तिरै तिर मटेलामा पुगेपछि पुष्पलाल मेमोरियल मध्य पहाडी मूलमार्गमा मिसियौँ एकैछिन र फेरी छुटियौँ । ऊ लाग्यो उकालो दैलेखतिर । हामी जाजरकोट खलङ्गातिर । एकसल्ली घाम छदैँ पुग्यौँ खलङ्गा । अपरिचतहरूको भिडमा भेटिए केही परिचित अनुहारहरू । एउटा नास्ता पसलमा कफी पिएर गफिदै गर्दा, हामी बास बस्न रिम्ना पुग्ने सुँइको पाएका साथीहरूले निर्माणाधिन खलङ्गा(रिम्ना सडकमा मोटर साइकल चलाउन कठीन मात्र हैन मुश्किल पर्ने सन्देश सुनाउँदै सुझाए सहजै पुग्न सकिने अर्को एउटा वैकल्पिक बाटो । गर्नलाई हामीले त्यसै गर्यौँ । खलङ्गाबाट खोला (भेरी) झ¥यौँ । झोलुङ्गे साँघु त¥यौँ । अँधेरो भइसक्न थालेको थियो । मूलबाटो पहिल्याउन एकछिन अलमलमा प¥यौँ । अन्तमा दिउसो मटेलामा दैलेखतिर जान छुट्टिएको मध्य पहाडी मूल मार्ग, रुकुम पूर्वतिरबाट आउँदै गरेको भेटियो । मोटर साइकल चढ्यौँ र पूर्वतिर बढ्यौँ, भिरको बाटो भेरीको तिरै तिर ।
खलङ्गा तलदेखि रिम्नासम्म तिनवटा झलुङ्गे साँघुहरु छन् । बिचको छोडेर सानी ठूली भेरी मिसिएकै ठाँउनिरको तर्नु पर्नेमा, नतर्नु पर्ने बिचको तरिएछ । जे छल्न पारी तरिएको थियो तेही झेल्न फेरी वारी , झुक्किएर । सूचना राम्रोसँग ग्रहण गर्न नसक्नुको नतिजा ! भाग्यवादीहरुको भाषामा ः‘झेल्न लेखेको झमेला छल्न कहाँ सकिन्थ्यो ?’ बिचको साँघु तर्नु अघि त्यहाँ उपस्थित मान्छेहरुलाई सोधिएकै हो । हामीलाई दुःख पाऊन् नै भनेर होला , उनीहरुले, ‘अँ, हो ,यही बाटो जान्छ । मोटर साइकल मात्र हैन अटो पनि जान्छ ।’ भनेर अर्ध सत्य सूचना सुनाए । त्यो साँघु तरिसकेपछि पनि त्यहाँ भेटिएको अर्को मान्छेलाई सोध्दाखेरी ,‘यत्रो ठूलो बाटो पनि नदेख्नी ?’ भनेर उल्टै हकार्यो । उसले, ‘रिम्ना जानलाई यो बाटो सजिलो छैन । पारीकै बाटो जानूस्’ भनिदिएर दया देखाइदिएको भए दुःख हामीले तेतीसारो नपाउने ।
भेरीको रुकुम किनारबाट नजानु पर्ने जाजरकोट किनारतिर गैसकेपछि रामु गिरीधारी जोडी अघि बढिनै रह्यो । हामीले धुलाम्य हाइवे नजिकको धुलाम्य घरका एकजना धुलाम्य सज्जनलाई सोध्यौँ । उनले पछुताउँदै, ‘थै , बाटो सजिलो उतैतिरबाट थियो । बिच बाटोमा पिच बाटो नछोड्नु पर्ने । जान त यो पनि जान्छ । अलिकति दुःख पाउनुहुन्छ ।’ भने । नयाँ बन्दै गरेको, भन्नलाई दशकौँदेखि भन्दै गरेको ,ठूला औजारले भर्खर भर्खर खन्दै गरेको ,खलङ्गा रिम्ना खण्डको धुलाम्य बाटोमा पाङ्ग्रा मात्र हैन मोटर साइकल पुरै धुलोमा पुरिने, धुलोभित्र गुडिराखेको मोटर साइकल, धुलैभित्र लुकिराखेको बडेमाको बोल्डरमा ठोकिएर बल्ड्याङ खानेकुरा सामान्य हो । चोट भने खासै नलाग्ने, दुइदेखि चार चक्के, छ चक्के र छ भन्दा धेरै चक्के वाहानका चक्काले पिसेर मैदा पारेको माटोको मिहिन, मखमली, मुलायाम, नौनी नरम धुलोको सिरानी राखेर धुले शैयामा सयनको मजा लिन कसैलाई मन छ भने यो सडकबाट समयमै एक पटक अवस्य सयर गरे हुन्छ ।
थकित गलित हालतमा रिम्नाको नजिक नजिक पुग्यौँ । रात परिसकेको थियो । सानी ठूली भेरीको संगम नजिकबाट रिम्नातिर घुम्ने घुम्तीको सुरुको एउटा घुम्टी पसलमा नानी पसल्नीहरुसँग बात मार्दै पहिला पुग्ने पराक्रमीहरुले पर्खिरहेका थिए , हामी पछुवाहरुलाई । पसल्नी नानीहरु खित्का छोडेर हाँसेको वरैबाट सुनिन्थ्यो । हैन्डसम गेष्टहरुलाई होष्ट गर्न पाउँदा हौसिएर हल्का हाँसो हमेसा हाँसीरहने हुस्न परीहरुलाई यस पटक जोडले हाँस्न परेको कारण सहजै अन्दाज गर्न सकिन्थ्यो ( धुलिया बाटोले हाँस्न लायक हुलिया हाम्रो जो बनाएको थियो । सजिलो छोडेर कठीन र धुले बाटो धाउन धोका पाएका हामी भोका त थियौँ नै त्यो भन्दा धेरै प्यासा । धुले बाटोबाट आउने हर कोहीलाई हेरेर हाँस्न बानी परेका हिस्सी नानीहरुले हाँस्दै दिएको पानी प्रशंसा गर्दै पियौँ तनतनी । अनि बढ्यौँ अझै अगाडि मूल बजारतिर ।
ढोरपाटन र धौलागिरी श्रृङ्खलाको दक्षिण पश्चिम पाटोबाट पश्चिम बग्ने सानी भेरी र डोल्पो हिमाल र धौलागिरी श्रृङ्खलाको पश्चिम उत्तर पाटोबाट डोल्पाको दुनै त्रिपुराकोट हुदैँ पश्चिम दक्षिण बग्ने ठूली भेरीको संगम स्थल रिम्ना, भेरीको पानीढलो र यसको आसपासमा हुर्केको हिन्दु, बौद्ध बोन, खस(आर्य, डोल्पो, मस्टो आदि सभ्यता र संस्कृतिको माझ मात्र नभएर प्राचीन भोट भारतको धार्मिक सांस्कृतिक तथा महत्वपूर्ण व्यापरिक आवागमनको नाका, रिम्नाको भू बनोट ठ्याक्कै गिलास वा सोलीको पिंध जस्तो छ । मध्य रिम्नाको शीर्षबिन्दुबाट क्ष्तििजसम्म विशाल आकाश खुम्चिएर झण्डै तीस हातको त्रिज्यामा साँघुरिएको जस्तो देखिन्छ । रिम्ना वरिपरि चुलिएका अग्ला चुलीहरूमा चम्कने फुलीहरू कुन मान्छेले तेहीं बालेका बिजुली बत्तीहरू हुन र कुन धेरै टाढा आकाशमा चम्केका तारा, हामीलाई छुट्याउन हम्मे हम्मे पर्यो । धौ धौ हामी रिम्ना पुग्दा रातको नौ बज्दै थियो । खलङ्गाका साथीहरूले खास भनेर सिफारिस गरेकोमा गास पाइए पनि बास नपाइने भएपछि अर्को एउटा वैकल्पिक बसेरो खोज्न बाध्य भयौँ । चार कोठे पक्की घरको पालीमा खानी पिउने बार चोया र चित्राले बारेर चिटिक्क पारेको, भेरीको माछा तारेको, चिसो पानी गाग्रीबाट सारेको, भट्ट भुटेको, फिलिङ्गे कुटेको, मासु मसला मोलेको, केही पकाको, केही पोलेको, टिभीको स्की्रनमा डाइलग सोलेको, मेहमानहरुको मेजवानीमा मेजवानहरूले बोलेको मधूर वचनले, मधुरस घोलेको, मनमहोक माहोलमा मनलागेको मिठो मसिनो मनग्य खाएर मालको मनासिव मूल्य तिरेपछि सित्तैमा सुत्न पाइने काइदाको ठाउँ भेटियो । ढिलै पुगेपनि रमाउँदै रिम्नामा रात राम्रै कट्यो ।
बिहान सबेरै, चार नबज्दै, शौचको सोचले शौचालयको सोधीखोजी भयो । कोठा एकमा खाट दुई, खाट दुईमा मान्छे चार मात्रै । अँधेरो कोठा थियो । बत्ती थिएन । झुण्डाइएको तार मात्रै । छामछाम छुमछुम सलाई भेटाउन सकिएन । चार्ज सकिएका मोबालहरू काम लागेनन् । ताला मारेको शौचालय, घ.मु. लाई नउठाई नखुल्ने र अबेर राती मात्रै सुतेका घ. मु. लाई उठाउन नसकिने भएपछि खुला दिसा पिसाब मुक्त क्षेत्र भएपनि अझै फाटी नसकेको रातको पर्दामा छेकिएर पिसाब फेर्ने र दिसा चाँही गन्तब्यको दिशातिरै अलिअगाडि बढेपछि बाटोमा कतै गर्ने हिसाबले बाटो लाग्या,ैँ बटारेर बाहिरै पार्किएका बाइकका एक्सिलिरेटरहरू । दाँयातिर नजिकै रहेको अघिल्लो पटक रामु, म, बद्री र बासुदेव आउँदा भेटेको पहिलाभन्दा व्यस्थित र भिजिट गर्न लायक ( यस पटक समयाभावले नभ्याइने ( सहिद पार्कका सदियौँ पुरानो सामन्ती सत्ता समाप्त पार्ने सशस्त्र संर्घषमा साहदत प्राप्त गर्ने सम्पूर्ण सहिदहरूका सालीन र शान्त शालिकहरूतिर फर्केर बाटैबाट सलाम र मनमनै श्रद्धासुमन चढाएर सुरु गर्यौँ हाम्रो दोस्रो दिनको साहसिक मोटर साइकल यात्रा ( सानी छोडेर ठूली भेरीको तिरै तिर भिरको बाटो ।
मिरमिरे उज्यालो भर्खर भएको थियो । हामी चिसापानी पुग्यौँ । तातो चिया पियौँ । चिया पिउँदै गर्दा भेट भएका स्थानीयहरूसँग दुनै पुग्न लाग्ने समय र बाटाको अवस्थाका बारेमा जानकारी लियौँ । बाटो राम्रो त कसैले भनेन । मोटर साइकल यात्रा जोखिमपूर्ण नभन्ने कोही थिएन । हाम्रो उमेर समूह, त्यसमा पनि विशेष गरेर मलाई देखेर अचम्म नमान्ने कोही भएन । दुनै जानु थियो भने राँझा( जुफाल हवाई यात्रा केही घण्टाको नगरेर यत्रो टन्टा नगर्नु पर्ने भनेर भन्नेहरू पनि थिए । समयको बारेमा त फरक फरक ठाँउका फरक फरक मान्छेहरूले फरक फरक कुरा बताए । कसैले केही घण्टा, कसैले पुरै दिन त, कसै कसैले दुईदिनसम्म पनि कुन्नी भने । चिसापानीमा बाटो फाटेको थियो । नलगाडतिर नलागेर हामी लाग्यौँ राडीज्यूलातिर । राडीज्यूला, पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाको केन्द्रबिन्दुमा पुगेपछि हाम्रासाथका एकजना साथीकी परिचित नारी उनका आफ्ना नरसगैँ पसल गरेर बसेकी अकस्मात भेटिइन् । एकछिन ती नरनारीसँग नबसी सुखै पाइएन । खाना खाऊँ भन्थे । खाइएन । समयले दिएन । सट्टामा सातु बद्री जीले लगेको, ती परिचितहरूले अफर गरेको दुधमा राडेर खाएपछि राडीज्युला छोड्यौँ । झोलुङ्गे साँघु तरेर जाजरकोट पट्टीबाट तल्लुबगर पुगियो । पेट्रोल भरियो । फेरी अर्को साँघु तरियो । रुकुमको छोरे बगर हुँदै गोतामकोट पालिकाको त्रिवेणी भन्ने ठाँउमा खाना खाइयो । त्यसको केहीबेरमा अर्को साँघु तरियो । खतङ्ग भन्ने ठाँउमा पुगियो । अब हाम्रा मोटर साइकलका चक्काहरु डोल्पा जिल्लाको भूगोलमा भिरको बाटो भेरीको तिरैतिर गुडिरहेका थिए ।
दुर हिमाली जिल्लाको अड्वेञ्चर टुर,
माथि हेर्यो तारे भिर तल छङ्गाछुर ।
सानो चुकले लास बेपत्ता गाडी चकनाचुर ,
मन आत्तिने जिउ काँप्ने डरले थुर थुर ।
ए हजूर ! त्यहाँबाट खसेपछि सास रहला की भनेर आस मान्ने त कुरै भएन । लासको तलासमा पनि को जान सक्ने ? बाँधेर मन बनाएर निष्ठुर , ‘‘बास बस्न गए है बाबु बैकुण्ठपुर” भन्नु बाहेक अर्को विकल्प हुँदैन । काँतर मन हुनेलाई यस्तो यात्रा काम छैन । साहसीको भने कुरा अर्कै हो । तारेभिरको चट्टान काटेर भर्खरै सेनाले खोलेको ट्रयाकमा केही थान ट्याक्टरहरु र फाट्फुट बोलेरो जीपहरु चल्दा रहेछन् । पैदल यात्री र घोडा खच्चरहरुको घुइँचो घनिभूत छ । सारै अप्ठ्यारो ठाँउमा उत्रिदै , कुनै ठाउँमा मोटर साइकल तान्दै र कुनैमा धकल्दै अरु थप दुईवटा साँघु तरेर कहिले वारी कहिले पारी भिरको बाटो भेरीको तिरैतिर भेरीको शिरै नजिकको कर्णाली प्रदेशको कुनैमा रहेको दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम भू बनोटमा पनि दुनो जस्तो दुनै बजारमा सबैजना सकुशल पुग्यौँ ।
कहीँ धुलोमा पुरिने, कही उत्तानो पारेर राखेका बञ्चरा र तरबारका धार जस्ता पत्थरमा उछिटिने, कही ठाडैठाडो बाटो, बाटो हो की पहिरो ? कही खाल्टो गहिरो, अति तीब्र घुम्तीहरू, कही पानी पानी, कही बगरैबगरवाला अति विकट डगरमा कुशलता पूर्वक मोटरसाइकलमा चढाएर दुनै पुर्याउने श्रेय अरु कसैलाई हैन हाम्रा मित्र उनै बद्री ढकाल र रामु सिग्देललाई जान्छ । गिरीधारीको योगदानलाई कदर गरिएन भने अन्याय हुन जान्छ । सलाम छ मेरो तिनैजनालाई । मेरो योगदान भनेको गाडीले तान्न नसक्ने ठाँउमा झर्नुृ, पर्खेको ठाँउमा पैदल पुगेर फेरी चढ्नु , चढको मोटर साइकलमा दाँत कसेर पछाडीको डण्डी जोडले समाउनु र अलि अलि अघिपछि सर्नु बाहेक अरु गर्र्नु केही थिएन ।
योगदान त अलिअलि हावाको पनि हुन्छ , यदी हावाको रुख थाहा पाएर हावा चलेकै दिशातिर चल्न जान्ने हो भने । सफा दिनमा हिमाली क्षेत्रमा बिहान घाम लागेपछि नदी प्रवाहको विपरित दिशशातिर या भनौँ बेशीदेखि लेकतिर बिस्तारै चल्दै र दिन चढ्दै र घाम चर्कदै गएपछि वायु वेगले बहन थाल्छ । खतङ्गबाट दुनैतिर लाग्दा अझ त्यो भन्दा पनि तेस्रो दिन कागिनीबाट उकालो लाग्दा हामीलाई कसैले पिठँउतिरबाट हल्का हातले धकलेर उकालो चढ्न सहयोग गरिरहेको जस्तो लाग्थ्यो । तर दिन ढल्दै गएपछि हिमाली हावा ओरालो लाग्ने हुनाले त्यतिबेला उकालो चढ्न निकै गारो हुन्छ । यस्तो किन हुन्छ ? भन्ने साथीहरुको जिज्ञासामा, सामान्य ज्ञानका हिसाबले सामान्य तया सफा दिनमा घाम लागेपछि उत्तरतिरका नाङ्गा चट्टानी पहाडहरुका दक्षिणाभिमुख पाखाहरू, वनस्पतिले भरिएको बेशीको तुलनामा चाँडै तात्ने हुनाले त्यहाँ न्युन चापिए वायुदाव सृजना हुन्छ र बेशीको अधिक वायुचापबाट न्युन चापतिर हावा चल्छ । दिन ढलेपछि, घाम डुबेपछि रातमा फेरि यस्को विपरित हुन्छ ( भनेर भन्न सकिन्छ । बाँकी विस्तृत कुराहरू थाहा पाउनलाई मौसम विज्ञानका अध्यताहरूलाई सोध्नुपर्ने हुन्छ । यस्तो नियमित रुपमा तीब्रगतिमा हावा चल्ने ठाँउमा कही कतै विन्ड मिल देख्न पाइएन । यसरी चल्ने हावाको प्रयोगबाट प्रश्सत वायुउर्जा उत्पादन गर्न सकिन्थ्यो । सायद अबका प्रगतिशिल सरकारहरूले यस विषयमा योजना तर्जुमा गर्दै होलान् । आगामी दिनमा, निकट भविष्यमा तीब्रगतिमा चल्ने हावा र पानी दुबैको प्रयोगबाट हरित उर्जा उत्पादन गरी त्यसको उपयोगबाट यहँका अति रमणीय पर्यटकीय स्थलहरूमा पुग्ने अति विकट पदमार्गहरू अत्याधुनिक रज्जुमागहरूबाट विस्थापित हुनेकुरामा आशावादी बनौँ ।
१८ गते बुधबारको दिन ३ः३० बजे अति सकसपूर्ण बाटो साहसपूर्ण तरिकाले पार गरेर दुनै पुगेका हामीहरूलाई प्रवेशद्वारमा फूलमालाले स्वागत गर्न कसैले कुनै चासो नराखेपनि युद्ध जितेका सिपाहीहरुको मनोविज्ञान बोकेर बजारभित्र प्रवेश गर्यौँ । डोल्पा जिल्लाका प्रशासन प्रम्ख, प्रमुख जिल्ला अधिकारी, दुनैका उनै श्री माधव ढकाल निवास खोज्दै पुग्यौँ प्रमुख जिल्ला कार्यालयको प्राङ्गणमा । प्रजिअ साब र उनका समकक्षी, सहकर्मी प्रहरी प्रमुखहरूसँग प्रतिक्षालयमा भेट भयो । पूणर््िामा साहित्य प्रतिष्ठान कोहलपुरका जिउँदा, जाग्दा र जाँगरिला सचिव बद्री ढकाल हिरामणिले प्रदान गरेको ( भेरी नदीमा मिसिने साना तिना पदपार्य नदीहरूमा पैया पार गर्ने क्रममा ओसिला बन्न पुगेका जोसिला र गहकिला पुस्तकहरूको पोको ( पूणर््िामा साहित्यको कोशेली खुसीले ग्रहण गरे साहित्यानुरागी सिडिओ साहवले । सिडिओ साहवको मेजवानी तातो चिसो पानी, चिया र विस्कुटको मजा लिदैँ दुनै बजार, समग्र डोल्पाको वस्तुस्थिति, दुर्गम जिल्ला हुनुको नाताले र यातायातको पहुँच नभएकाले जरुरत मन्दहरूसँग सरकार सहजै पुग्न नसक्ने अवस्था, द्वन्दकालको संक्षिप्त कहानी र त्यसले आजसम्म पारेको प्रभाव लगायत हाम्रो फोक्सुण्डोसम्म पुग्ने योजनामा त्यहाँ जान लाग्ने समय, अपनाउन पर्ने सावधानी र अन्य उनीबाट हुनी सहयोग आदिको बारेमा पनि संक्षिप्तमा सुनिलियौँ ।
फोक्सुण्डो जान आउन कम्तिमा थप तिन दिन लाग्छ भन्ने थाहा लागेपछि जाने की नजाने ? जाने भए उसैदिन बाटो लागेर अलिकति छोट्याउने की या बास दुनैमा नै बसेर बिहान सबेरै निस्कने भन्ने विषयहरुमा व्यापक छलफल हुँदा, जाने नजाने विषयमा अर्को दिन बिहानसम्ममा टुङ्गो लगाउने र ठहर्न चाँही दुनैमा नै ठहर्नु पर्ने बहुमतले ठहर गरेपछि त्यसदिनको ठहराव दुनैमा नै कुनै होटलमा हुने ठहरियो । खासमा माधवजी कै नीजि निवासमा नभए त्यसको आसपासमै भए पनि गासको तिरी बासको फिरी हुन्छ की भन्ने आसमा थिए साथीहरू । माधवजीले पनि साथीहरूको आसलाई निरास नपार्ने प्रयासमा मिठासपूर्ण वचनले नीजि निवासकै पासमा भेरी नदीको किनारमा रहेको ( नदीले सुस्साएको संङ्गितपूर्ण सुसेली मन्द गतिमा कानमा निरन्तर ठोकिरहने भएर पनि होला होटलको नामपनि अंगे्रजीमा त्यस्तै राखेको ( मर्मर होटलमा बासको व्यवस्था मिलाइदिन अर्दलीलाई अहृाई पठाए । अर्दलीले होटल देखाएर फर्के ।










प्रतिक्रिया दिनुहोस्