
प्रदेशसभा सदस्यका उम्मेदवार अम्बरबहादुर खड्का र विजयकुमार पाठकको उम्मेदवारी खारेजीको माग गर्दै नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका सहकारी पीडितहरु ।
नेपालगन्ज ।
सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोग लागेका २ जना व्यक्ति उम्मेदवार बनेको भन्दै सहकारी पीडितले बाँकेका दुई निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

सहकारीको ४३ करोड अपचलनको अभियोग लागेर केही महिना कारागार बसेर २५ लाख धरौटीमा छुटेका प्रदेश सभा उम्मेदवार अम्बरबहादुर खड्का ।
सहकारी पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाको नेतृत्वमा गएका सहकारी पीडितले सहकारीको रकम अपचलनमा ठगी र संगठित अपराध सम्बन्धी मुद्दाका अभियुक्तद्वय प्रदेशसभा सदस्यको उम्मेदवारहरु अम्बरबहादुर खड्का बाँके क्षेत्र नं। १ (१) र विजयकुमार पाठक बाँके क्षेत्र नं। ३ (२) को उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।
दुबै जनालाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उम्मेदवार बनाएको हो । खड्का र पाठक दुबै जनही २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बाँके क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले ज्ञापन पत्र बुझ्दै यस विषयमा अनुसन्धान गर्ने बताए । उनले कारबाहीका लागि निर्वाचन आयोगमा नै पत्राचार गर्न सुझाव दिएका थिए ।
त्यसपछि मुर्दावादको नारा लगाउँदै पीडितहरु जिल्ला निर्वाचन कार्यालयमा पुगेर पनि ज्ञापन पत्र बुझाएको संघर्ष समितिका सह–संयोजक शुक्लाले जानकारी दिए ।
सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँके जिल्ला अदालतमा खड्का र पाठकसहित ४१ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा ठगी तथा संगठित अपराधको मुद्दा विचाराधीन रहेको छ ।
प्रकरणमा ४३ करोड माग दाबी सहित ४१ माथि मुद्दा दायर गरिएको छ । सहकारी पीडितले पहिलो चरणमा एक हजार ९ र दोस्रो चरणमा ५१७ सहकारी पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । सहकारीका ११ हजार ४०८ बचत र लगानीकर्ताहरु पीडित छन् ।









प्रतिक्रिया दिनुहोस्