कोहलपुर।
कोहलपुर नगरपालिका १० स्थित रहेको बागेश्वरी एकेडेमीमा सोमबार बिहान विद्यालयको वातावरण केही फरक देखिन्थ्यो । कक्षाकोठाभन्दा बढी चहलपहल मतदान केन्द्र आसपासमा थियो । विद्यार्थीहरूको अनुहारमा उत्साह थियो, हातमा मतदाता परिचयपत्र थियो र मनमा आफ्नो नेतृत्व आफैं चयन गर्ने उत्सुकता ।
विद्यालय नेतृत्व निर्वाचन–२०८३ अन्तर्गत आयोजित लोकतान्त्रिक अभ्यासमा ४६० जना विद्यार्थीहरूले सहभागिता जनाउँदै मतदान गरेका थिए। विद्यालय परिसरमा लाइनबद्ध भएर मतदान गर्न पुगेका विद्यार्थीहरू लोकतन्त्रको वास्तविक अभ्यास गर्दै थिए । कसैले आफ्ना साथीलाई जिताउने अभियान चलाइरहेका थिए भने कसैले योग्य नेतृत्व चयन गर्नुपर्ने जिम्मेवारीबारे छलफल गरिरहेका थिए ।
निर्वाचनमार्फत विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा विभिन्न सदनका प्रमुख र उपप्रमुख चयन गरिएको थियो । मतदानपछि मतगणना सुरु हुँदा विद्यालयको माहोल अझ रोमाञ्चक बनेको थियो । विद्यार्थीहरू परिणामको प्रतीक्षामा उत्सुक देखिन्थे ।
अन्ततः दिपशिखा वली २२३ मतसहित विद्यालय क्याप्टेनमा निर्वाचित भइन् भने सन्देश रावत २०२ मतसहित भाइस क्याप्टेनमा चयन भए ।परिणाम घोषणा भएपछि साथीहरूले ताली बजाउँदै विजयी उम्मेदवारलाई बधाई दिएका थिए । कतिपय विद्यार्थीका लागि यो पहिलो मतदान अनुभव थियो, जसले उनीहरूलाई लोकतन्त्रको महत्व व्यवहारमै सिकाएको देखिन्थ्यो ।
मतदान अधिकृत तथा निर्वाचन संयोजक शेरबहादुर योगीका अनुसार विद्यालयस्तरमै गरिने यस्ता अभ्यासले विद्यार्थीहरूमा जिम्मेवारीबोध, नेतृत्व क्षमता र लोकतान्त्रिक संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । विद्यालयका प्रधानाध्यापक श्रीधर गोराथोकीले नेतृत्व चयन केवल पद प्राप्त गर्ने प्रक्रिया नभई जिम्मेवारी वहन गर्ने अवसर भएको बताउँदै विद्यार्थीहरूलाई सकारात्मक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे ।
बागेश्वरी एकेडेमीले हरेक वर्ष यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई पुस्तकभित्र सीमित शिक्षा मात्र नभई व्यवहारिक जीवन, सामाजिक उत्तरदायित्व र नेतृत्वको पाठ पनि सिकाउँदै आएको छ । यसपटकको निर्वाचनले विद्यालयमा लोकतन्त्रको अभ्यास मात्र होइन, भविष्यका जिम्मेवार नागरिक तयार गर्ने सन्देश पनि दिएको छ ।









प्रतिक्रिया दिनुहोस्