कथाः हामी फेरि भेट भयौँ



शशीराम कार्की

२०७७ सालको आश्विन महिनाको पहिलो सप्ताह । अन्दाजी बिहानको दश बज्नै लागेको थियो । आकाशमा फाट्टफुट्ट चरा उडेका देखिन्थे । पश्चिमी आकाशमा पातलो बादल भए पनि बाँकी आकाश सफा थियो । तुवालो पनि नभएपछि आकाश निर्मल, नीलो र सुन्दर देखिएको थियो । म बाहिर आँपको रूखको पूर्वपट्टि रहेको चट्टानमा बसेर आकाशतिर हेर्दै थिएँ । धेरै दिनपछि मन शान्त थियो । शरीरमा स्फूर्ति भरिएको महसुस गर्दै थिएँ । सायद बहिनी आएकीले पनि हो कि ? बहिनी भान्सामा थिई । सायद खाना बनाउँदै थिई । ऊ हिजो साँझ बी.एड. को परीक्षा दिन आएकी । घरमा आमा नभएपछि माइत आउँदा पनि आफै भान्सामा खट्नु परेको थियो । ‘म पकाउछु । तैँले एक÷दुई छाक पकाएर पनि के हुन्छ र ? सधैँ म आफै पकाएर त खान्छु ।’ भन्दा पनि उसले मान्दिन । उसको घर दाङ भए पनि बी.एड. को फारम महेन्द्र क्याम्पस नेपालगन्जबाटै भरेकीले परीक्षा दिन आएकी । मेरो सडकसँग जोडिएको एक कट्ठा जग्गामा तीन कोठाको घर छ । खेतीका लागि घर पछाडि पाँच कट्ठा जमिन छ । घर अगाडि सानो बगैँचा । बगैँचामा तीनओटा आँप, दुई अम्बा, केराको थाम र एउटा आरुको बोट रहेको छ । त्यसैमा एउटा चट्टान रहेको छ, जसलाई फुटाएर फाल्न सकिएको छैन । जति तल खन्दै गयो, उति माटोमुनि फैलिँदै गएको छ । त्यसैले त्यो स्थायी चट्टान हो । यो कसरी यहाँ आयो, कसैलाई थाहा छैन । त्यसको माथि बिस्तरा लगाएर एउटा मान्छे सुत्न मिल्ने गरी चेप्टो छ । म त्यसैमा बसेको छु।

मैले उत्तरतिरबाट एउटा रिक्सा आएको देखेको छु । चोकमा पुगेपछि त्यसमा बसेकी महिलाले चोकमै घर भएका हवल्दार काकालाई केही सोध्छिन् । उनले चोर औंलाले मेरो घरतिर देखाएको देखेको छु मैले । त्यसपछि रिक्सा मेरो घरतिर सोझिन्छ । मेरो घरनजिक पुगेपछि ती महिला रिक्साबाट ओर्लेर भाडा तिर्छिन् । रिक्सा फर्कँनै लाग्दा अकस्मात् रिक्सावाला पानी पिउन होला, हातेपम्पतिर जान्छ । म ती महिला मेरो घरतिर प्रवेश गर्न लाग्दा उनलाई स्वागत गर्न आँगनतिर लम्किन्छु । उनी मेरो नजिक आउछिन् । मलाई घुरेर हेर्छिन् र अपर्झट मलाई अँगालो हालेर गालामा चुम्बन गर्छिन् । त्यसै समयमा मेरी बहिनी बाहिर आई र अचम्म मान्दै सोधी, ‘आम्मै को हुन् यिनी ?’ यो सुनेर ती महिलाले बहिनीतिर हेरिन् र मलाई च्याट्ट छोडेर रिक्सातिर दगुरिन् । मैले केही सोच्न नपाउँदै उनले रिक्सा खजुरा बजारतिर बढाउने आदेश गरिसकेकी थिइन् ।
उनी थिइन्, सबिना बुढा । पूर्व जनमुक्ति सेनाकी बटालियन कमाण्डर क.उषा । उनको घर सल्यान रागेचौर । मेरो घर हालको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने खोलागाउँ । हामी जनासेनाको एउटै बटालियनमा परेपछि २०५६ सालमा मैले उनलाई पहिलो पटक देखेको हुँ । संयोग नै भन्नुपर्छ, उनी कमाण्डर, म सहायक कमाण्डर । गोरो रङ, गोलो अनुहार, मङ्गोलियन आँखा, ठिक्कको उचाइ, कालो कपाल, ओठ थोरै ठुला र राता, नाक पनि थोरै बसेको । यस्तै थियो उनको शारीरिक बनावट । नाक खालि र कानमा साना मुन्द्री । सैनिक पोशाकमा दमदार देखिन्थ्यो व्यक्तित्व । हामी एउटै बटालियनमा परेपटि धेरैजसो साथसाथै रहन्थ्यौँ । मैले उनलाई देख्ने बित्तिकै मन पराएको थिएँ तर आफ्नै कमाण्डरलाई प्रेम पस्ताव कसरी राख्न सकिन्छ र ? सैनिक अनुशासन भनेको फलामे अनुशासन हो । कार्बाही हुने पक्का । त्यसैले मनको कुरा उनीसामु व्यक्त गर्न नसकी भुटभुटिएको थिएँ ।

एक वर्ष यसरी नै बित्यो । २०५७ सालमा रोल्पाको पाछावाङमा पार्टी केन्द्रको बैठक हुँदै थियो । त्यस बैठकको सुरक्षाको जिम्मा हाम्रो बटालियनलाई दिइएको थियो । त्यतै जाने क्रममा बटालियनका सबै साथीहरू अगाडि थिए । उनी र म अलि पछि परेका थियौं । यही मौकाको फाइदा उठाएर भूमिका बाँधेर उनले नै कुराको थालनी गरिन्, ‘तिमी सधैँ चोरी चोरी मलाई हेरिरहेका हुन्छौ । हरक्षण मेरो ख्याल राखेको देख्छु। म जता जान्छु, निगरानी गरिरहेको देख्छु । यसको कारण एउटा सिपाहीले अर्को सिपाहीलाई गर्ने वर्गीय माया मात्र हो कि अरु पनि केही छ ?’
म केही बोल्न सकिनँ । खालि भुइँतिर हेरिरहेँ । उनले मेरो काँधमा हात राखेर सोधिन्, ‘कति वर्षका भयौ ?’ ‘बीस वर्ष ।’ ‘ए ! म पनि बीस वर्ष ।कुन महिना हो ?’ मैले भनेँ, ‘माघ १५ गते ।’ ‘म एक महिना कान्छी रहिछु । फागुन २० गते । ठिक छ । मैले तिम्रो हरेक गतिविधिबाट थाहा पाएकी छु कि तिमी मलाई मन पराउछौ । ल प्रष्ट भन, के यो कुरा साँचो हो ?’ मैले भने, ‘मन पराउन थालेको त पहिलो पटक देख्दादेखि नै हो तर आफ्नै कमाण्डरलाई भन्ने आँट भएन ।’ ‘त्यसो भए के तिमी मलाई बिहे गर्न चाहन्छौ ?’ ‘चाहन्छु, यदि तपाईको मप्रति भरोसा छ भने ?’
उनले गम्भीर भएर भनिन्, ‘म पनि तिमीसित बिहे गर्न त चाहन्छु तर अहिले होइन ।’ ‘कहिले त ?’ ‘पच्चिस वर्ष नपुगी बिहे गर्ने मन छैन ।’ मैले पनि गम्भीर भएर नै भनेँ, ‘म त्यति बेलासम्म पर्खन तयार छु तर पछि मभन्दा राम्रो मान्छे मिल्यो भने ?’ उनले अट्टआस गरी हाँसेर भनिन्, ‘म त्यस्ती बेइमान महिला होइन । यदि बिहे भयो भने तिमीसित नै हुन्छ, भएन भने कसैसँग पनि हुँदैन । हामी मृत्यु या मुक्ति भनेर हिँडेका मान्छे, भोलि कुनै पनि समयमा ज्यान जान सक्छ । यदि तिमी सहिद भयौ भने म जीवनभर बिहे गर्दिन । यो मेरो वाचा भयो ।’

मैले भनेँ, ‘म पनि तपाईबाहेक कसैसित बहे गर्दिनँ । बरु आजीवन एकल बस्छु ।’ हामी दुवै एकअर्कातिर हेरेर मुस्कुरायौँ । बिस्तारै हाम्रो सम्बन्ध पार्टी र जनसेनामा चर्चाको विषय बन्यो । हामीले अन्यथा लिने कुरा भएन । साथीहरूले ‘भोज कहिले ?’ भनी जिस्क्याउथे । ‘नेपालमा जनवाद आएपछि ।’ भन्ने जवाफ दिन्थ्यौँ, हामी । हामीले २०६३ सालमा बिहे गर्ने मोटामोटी योजना बनाएका थियौँ तर २०६२÷६३ को दोस्रो जनआन्दोललन भयो । सेना समायोजनको कुरा आयो । सेनामा जाने कि बाहिर निस्कँने भन्नेमा बहस चल्यो । धेरै साथीहरू राजनीतिमा लाग्ने भनेर सेना समायोजनमा जान मानेनन् । हामीले पनि सेनामा जाने कि राजनीतिमा भनेर छलफल ग¥यौँ । मैले ‘दुवै सेनामा जाऔँ र छिटै बिहे पनि गरौँ’ भनेँ । उनले समाजवादी क्रान्तिको तयारीका लागि पार्टीमा लाग्दा सजिलो हुने निष्कर्ष निकालिन् । तत्काल बिहे गर्ने समय पनि भएन ।
हामी अलग बाटोमा हिँड्यौँ । उनी राजनीति गर्न भनेर सल्यानतिर लागिन् । म सेनामा मिसिएँ । झगडा नगरिकनै हामी अलग भयौँ । पाँच वर्षसम्मको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन । मैले उनको मायालाई मुटुमा सँगालिरहेँ । विवाह गरिनँ । २०५५ सालमा सेवा प्रवेश गरेको मानेर म २०७५ सालमा स्वैच्छिक अवकासमा निस्किएँ । म सेनाबाट निस्केको केही समयपछि आमा बित्नुभयो । बहिनीको विवाह भइसकेको थियो । बुबा त बहिनी जन्मेकै सालमा बित्नुभएको रे । पार्टीमा पनि मेरो ठाउँ थिएन । खुला वातावरणमा नेता बन्नेको कमी भएन । मलाई गाउँमा बस्न मन लागेन । रुकुमको घरजग्गा बेचेर म बाँकेको खजुरामा झरेँ । पेन्सनमा निस्कँदा पाएको पैसा र घरजग्गा बेचेर आएको पैसा गरेर सानो घरसहितको ६ कट्ठा जग्गा किनेर बस्न थालेँ । बहिनीले सधैँ दाइले विवाह नगरेको भनेर पिर गरिरहन्थी ।

आज उनी आइन् । मलाई म्वाइँ खाइन् अनि केही नभनी जुन रिक्सामा आएकी थिइन्, त्यही रिक्सामा फर्केर गइन् । म केही समय किंकर्तव्यविमूढ भएँ । तुरुन्तै होसमा फर्किएँ र साइकल टिपेर पूर्वपट्टिको बाटो बेतोडसित दौडाएँ । उनको रिक्सा पिपलको रुखनेरको मोडमा पुग्दा म पनि पुगेँ र रिक्साको अगाडि लगेर जोडसित साइकलको ब्रेक मारे । धन्नै रिक्साले ठक्कर दिएको । म साइकलबाट झरेँ । उनी पनि रिक्साबाट ओर्लिइन् र चकित परेर मतिर हेरिरहिन् । मैले रिक्साभाडा दिएर उसलाई जाने इसारा गरेँ । रिक्सा गएपछि सबिनालाई साइकलको पछाडि बस्न संकेत गरेँ । उनी आफ्नो झोला बोकेर साइकलको पछाडि बसिन् । घर पुग्दासम्म हाम्रो कुराकानी भएन । साइकल आँगनमा पुग्दासम्म बहिनी उस्तै अवस्थामा आँगनमै उभिएकी थिई । सायद के भएको बुझ्न नसकेर अचम्ममा परेकी हुँदी हो । मैले भित्र गएर दुईओटा प्लास्टिकका मेच ल्याएँ र आँपको रुखको तल राखेर सबिनालाई बस्ने इसारा गरेँ र बहिनीलाई पानी ल्याउन अह्राएँ । उसले पानी ल्याएर मलाई र सबिनालाई दिई र नजिकै रहेको मुढा तानेर हाम्रो अगाडि बसी । तीनै जनाले एकअर्काको अनुहार हेराहेर ग¥यौँ । बहिनी त मभन्दा दश वर्ष कान्छी हो । त्यसैले तन्नेरी नै देखिन्थी तर म र सबिना त चालिस वर्ष पुग्न दुई–तीन महिना मात्र बाँकी भएकोले प्रौढताको हावाले छोइसकेको थियो । हामी दुवैको कपाल फुल्न थालिसकेको थियो । केही समयसम्म बोल्ने दाउ कसैको आएन । अन्तमा मैले नै कुराको थालनी गरेँ, ‘मेरी बहिनी निर्मला, विवाह दाङ बिजौरीमा भएको छ । बी.एड. को परीक्षा दिन हिजो मात्र आएकी ।’

मेरो कुराले सबिनाको अनुहार केही उज्यालो भयो तर अझै शंसय हटेको थिएन । उनको शंसय पूर्ण रूपमा हटाउन मैले पुनः भनेँ, ‘म एक्लै छु । के यहाँ पनि एकल नै हो र ?’ यो सुन्दा सबिना खुसीले पागल बन्दै फेरि मलाई अँगालो मार्न आइपुगिन् । बहिनीले अक्क न बक्क परेर हेरिरही । सबिनाले नजिकै बहिनी भएको पनि ख्याल गरिनन् । पछि पो लाजले जिब्रो टोकिन् । बहिनीले भनी, ‘ठिकै छ भाउजू, लजाउनु पर्दैन । दाइले कुरा त गर्नुहुन्थ्यो तर देख्न पाएकी थिइनँ ।’ भाउजू शब्द सुन्दा सबिना अझ लजाइन् र भनिन्, ‘हामीले विवाह गर्ने समय नै पाएनौँ । म समाजवादी आन्दोलनको तयारीको लागि भनेर सल्यानतिर लागेँ । उहाँ सेनामा जानुभयो । पार्टी टुटफुट भयो । पार्टीले पनि नारामा मात्र समाजवाद भन्यो । व्यवहारमा पुँजिवाद अपनायो । सच्चा क्रान्तिकारीहरू पाखा लाग्दै गए । अवसरवादीहरूले मौका पाए । धन कमाए । सभासद, मन्त्री भए । विभिन्न ठाउँमा राजनीतिक नियुक्ति पाएर घरजग्गा जोडे । छोराछोरी विदेश पठाए । नातावाद, कृपावाद, चापलुसी, जालझेल मौलायो । अहिले आएर बल्ल हाम्रा आँखा खुले । बेकारमा आफ्नो जीवन खेर फालेको जस्तो लागेर आयो । आफू ठगिएको महसुस भयो । त्यसैले आफ्नै मान्छेसित गएर बुढेसकाल बिताउनु प¥यो भनेर खोज्दै आएकी । यहाँ आउँदा त घरमा महिला देखेँ । उहाँले विवाह गरिसक्नु भएछ भन्ने ठानेर निराश बन्दै, तीब्र वेदना बोकेर रुँदै भागेकी थिएँ । उहाँले बाटोमै भेटाएर फर्काएर ल्याउनु भयो ।’ ‘ए ! एकदम राम्रो भयो । दाइले एक्लै जीवन कसरी काट्नु होला भनेर पिर लागिरहन्थ्यो । रुँने मन लाग्थ्यो । अब ढुक्क भयो ।’ बहिनीले भनी । अनि त खुसी खुसी तीन जनाले हाँसो ठट्टा गर्दैै खाना खायौँ । जीवनमा फेरि नयाँ घाम उदायो । मनमा अपार आनन्दको अनुभव भयो । त्यसको दुई दिनपछि सामान्य तरिकोले स्वयंबर गरेर नयाँ जीवनको थालनी ग¥यौँ । यसरी छुट्टिएको १४ वर्षपछि हाम्रो फेरि भेट भयो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार