कथाः चियावाली



भरत बहादुर रानाभाट

सामान्य कुर्थासुरवालमा सजिएकी युवती । अनुहार आर्कषक र तेजिलो । झट्ट हेर्दा कुनै मोडेल जस्तो देखिने धपक्क बलेको त्यो सुन्दर चेहरा । दायाँ हातमा दुईवटा थर्मस, बायाँ हातमा एउटा थर्मस र पलास्टिकका गिलास लिएर अगाडि लम्किरहेका उसका पाइला । धपक्क बलेको अनुहारमा आत्मविश्वासले भरिएको कान्तिमय दिव्य आभा र मन्द मुस्कान । बिहानको आठ बजेको हुँदो हो । भर्खरैमात्र होलसेल दोकानहरुका सटर तान्दै गर्दा बढ्दै गरेको चहलपहल र व्यस्तता । बिहानको चिसोचिसो चलेको स्याँठ । ठिक त्यही समयमा टुप्लुक्क एउटी सुन्दरीले पसलपसलमा दिदै गरेको तातो चिया । चिया भन्दा पनि सारै नै रहस्यमय मिठो उसको मुस्कानले छोडेको जादु । त्यही बाफिलो चियाको चुस्की लिएपछि चियावालीको मुस्कानमा लठ्ठ परेर हराउने दोकानका कामदार युवाहरुको बढ्दो जमात । नम्रता मुसुक्क हास्छे । त्यहीं हाँसो भित्र उसको दृढअठोट लुकेको थियो । त्यहीँ हाँसोको पर्दा भित्र उसका पिडा र दर्दहरु पनि चाङ लागेर लुकेका थिए । ऊसँग सम्पत्तिको नाममा मात्र लगन र इमान्दारीता थियो । त्यसमाथि उसको बोलीमा जादुमय नरमपन र मिठास थियो । उसको ओठबाट निस्कने जादुमय मुस्कानले उसको चियाको व्यापार चलेको थियो । त्यही व्यपारले उसको र भाइको गुजाराको रोजीरोटी चलेको थियो । नम्रताको हाँसोमा भुलेर कैयौँ युवाहरु लठ्ठ हुन्थे । त्यो हाँसोलाई धेरैले एउटा मनोरन्जन र दुःख भुल्ने अचुक औषधी मानेका थिए । त्यही हाँसोमा भुलेर धेरै युवाहरुले कल्पनाका ठुलाठुला आपूm अलुकुल महल खडा गर्थे । चिया पिउने बहानामा नम्रताको एक झुल्को मोहनी हाँसो हेर्न धेरै युवा हरेक दिन बिहानैदेखि लालायित देखिन्थे । केही समयलाई आफ्नो सबै पिर व्यथा भुलेर दुनियाँको एउटा सुखद लोकमा पुगेर कल्पनामा बहकिन्थे युवाहरु । आफ्नो रुची अनुसार चियावाली नम्रताको साथमा मायाको रसास्वादन गरेको मिठो भ्रम साँचेर बाँचेका हुन्थ युवा जमात । तर वास्तबिकताको धरातल भने आकाश पाताल फरक हुन्थ्यो ।

हातमा चियाको थर्मस बोकेर आउने नम्रतालाई हेर्न, पसलका कामदार युवाहरुले आआफ्ना पसलबाट, सडकभरी बैंसका बिषालु नजर बिच्छाएर जाल थापेका हुन्थे । नम्रताले दिएको एक कप तातो चियाको चुस्की पिउँथे । त्यो तातो चिया पिएसँगै धेरै युवाहरुको बेचैनीको सास ह्वात्तै बढेर छट्पटीले भित्रभित्रै पिरोलिन्थे । त्यसपछि युवाहरुले आफ्नो हृदयमा आफैआगो झोसेर अशान्तको भुमरीमा जलेर मन्द विषको प्रभावले लठ्ठ हुन्थे । यो क्रम एकदिन होइन, दुई दिन होइन । निरन्तर चलीरहन्थ्यो, महिनौं सम्म । पसलका कामदार भने पुराना हराउँथे नयाँ नयाँ थपिदै जान्थे । सबैको मनोदशा भने उस्तैउस्तै हुन्थ्यो हरेक महिना र वर्षमा । नम्रता मुसुक्क हाँसे पनि अरुले थापेको प्रेमको पासोमा पर्नबाट सधैं बचिरहेकी थिई । सरल र सरलता उसको पहिचान बनेको थियो । छक्कापन्जा जालझेल उसमा केही थिएन । उसको रुप र यौवन देखेर कसैकसैले षडयन्त्रको तानाबाना बुन्ने प्रयत्न गर्थे । तर नम्रताको होसियारीपन र निडर स्वभावले ति प्रयत्नहरु पानीको फोका जस्तै क्षणभरमा आफै बिलाएर जान्थे । नम्रताको त्यो मिठो हाँसो भित्र पनि पिडा दबिएका थिए । ऊसँग पनि कति दर्दको भारी लुकेको हुँदो हो? अपमानको सिंगो पहाडले कति अचेटेको हुँदो हो? कर्तव्य र जिम्मेवारीले कति पिरोलेको हुँदो हो? त्यो कुरा नम्रतालाईमात्र थाहा थियो ।
तर बाहिरबाट हेर्ने कयौँलाई लाग्दो हो, नम्रताको त्यो हाँसो बैंसको उन्मत्त हाँसो हो? त्यहीँ हाँसो मार्फत उसको यौवन छरपस्ट बाहिर छचल्किएर पोख्खिन थालेको छ ? ऊ यौवनले उन्मत्त भएर मुसुक्क हासेर हिंडेको हुनुपर्छ, भन्ने पनि लाग्दो हो । तर यथार्थ भने धेरै फरक थियो । सबै कुरा आफ्नो वशमा हुँदो हो त नम्रताले पनि उन्मत्त हाँसो ओठमा लिएर ऊ काठमाण्डौंका नाम चलेका कलेजहरुमा गएर अध्ययान गरेकी हुँदी हो । तर पढ्ने मन र उमेर हुँदाहुँदै पनि रहरलाई थाती राखेर रोजीरोटीको लागि काठमाण्डौंका गल्लीगल्लीमा भौतारिएर हिंड्नु पर्ने थिएन ।
समयको कठोर प्रहरले उसलाई एउटा सानो भाइको जिम्मेवार अभिभावक बनाएको थियो । भाइको सुदुर भविष्यलाई नजरअन्दाज गरेर अगाडि बढ्न सक्ने सामथ्र्य ऊसँग थिएन । त्यही एउटा भाइको मायामा पग्लीएर उसले आफ्ना हरेक रहर र चहानालाई बन्धक बनाएकी थिई । भाइको मायाले उसलाई हरहमेसा कर्तव्यपथमा लम्किन उर्जा र प्रेरणा प्रदान गरीरहेको थियो ।

आफै सम्पन्न भएर ठुलाठालुहरुबाट घेरीएर गजधम्म परेको काठमाण्डौंले दुर दराजको अभावलाई चिन्दैनथ्यो । गरिबहरुलाई त्यसले झन् चिन्ने कुरै भएन । त्यो कोलहाल र भिडको बिचमा बाच्न कति हण्डर र ठक्कर खानुपर्छ भन्ने कुरा भोग्नेलाईमात्र थाहा हुन्छ । गाउँको जस्तो माया ममता र स्नेह आफै सम्पन्न भएको सहरमा खोजेर पाइँदैन । सहर बिरसिलो र न्यास्रो छ । सहर पैसावालाको हो । सहर पावरवाला र पहुँचवालको मात्र हो । गरिबको अभावलाई सहरले कहिल्यै चिन्दैन । सहरले चिन्ने भनेकै धनी र पैसामात्र थियो । सहरमा पसेका गरिबहरुको अभाव र भोकलाई सहरले कहिल्यै आत्मसाथ गर्न भ्याउँदैन र सहरले त्यस्ता दुखीहरुलाई चिन्दैन पनि । नम्रताकोे न साथमा योग्यता थियो, न कुनै सिप । तर पनि लगनसिल र ईमान्दारीतालाई साथमा लिएर सपनाको सहरमा प्रवेश गरेको पनि बीस वर्ष पुगेछ । बीस वर्ष अगाडि एउटा सानो भाइलाई अगाडि लगाएर बिरानो काठमाण्डौंको थानकोट कटेकी थिई नम्रता । त्यो बीस वर्षको बिचमा उसले भोगेका हन्डर, अभाव र दुःखको रामकहानी धेरै छ । जाल झेल छलकपटका कथाहरुसँग ऊ राम्रो सँग परिचित भएकी छ । दुःखमा काम नलाग्ने आफन्तहरुलाई राम्रोसँग बुझेकी छ उसले ।सबैभन्दा बढी अभावमा कसरी बाच्नुपर्छ भन्ने कुरा दुबै दिदीभाइलाई राम्रोसँग थाहा छ । बाँकेको राप्ती नदी किनारमा घर थियो । बुबा हितकाजी ट्रक चालक थियो । साहुको ट्रकमा सामान लोड गरेर सामान छोड्न ऊ कहिले कता, कहिले कता डुलीरहन्थ्यो । बुबाको साथमा कहिलेकाहीँ खलासीहरु पनि घरमा आएर बस्थे । यो क्रम पटकपटक दोहोरिन्थ्यो । हितकाजी ट्रकको चालक ,त्यसमाथि मदिरा सेवन गर्ने आदत थियो, उसको । ट्रक लिएर खलासी सहित घरमा आउँदा मदिरा नभई नहुने गथ्र्यो । हितकाजीले एकदिन नसाकै तालमा खलासी र श्रीमती थुमकलीबिच भान्सा कोठाको कुनामा संकास्पद तरिकाले खासखुस गरेको देख्यो । खलासीलाई घरमा लिएर आउँदा उसले बिचार नगरेको होइन । तर मदिरा खाएपछि आफ्नै खुट्टाले भुइँमा टेक्न सक्दैनथ्यो उसले । त्यही मौकाको फाइदा खलासीले खोजीरहेको थियो ।

हितकाजीसँग घरमा आइरहने एकजना खलासीसँग थुमकली बेपत्ता भई । ट्रकमा थरीथरीका खलासीहरु लिएर घरमा आइरहने हुनाले पनि श्रीमती थुमकली र खलासीको बिचमा बढेको हिमचिम हितकाजीले थाहा पाउँन सकेन । मदिरामा आफै रमाएर बेहोस हुँदा आफ्नै स्टापले श्रीमती बेपत्ता बनाउँदा समेत उसले सुइको समेत पाएन । ऊ भने हाइवयमा गाडी लिएर हिँड्दा होटलमा काम गर्ने युवतीहरुसँग ठट्टा गरेर मस्कीमस्की हिँड्थ्यो । खलासीलाई साथमा लिएर घरमा आएपछि मदिराको खोलो बग्थ्यो । रातभर नाचगान र रमाइलो हुन्थ्यो । अर्को दिन स्टाप सहित ट्रकमा गन्तव्य तर्फ लाग्थ्यो । हितकाजी कहिलेकाहीँ मात्र घर आउँथ्यो । ट्रकचालक भएकोले घरमा बस्ने कुरा हुँदैनथ्यो । श्रीमती हिंडेपछि हितकाजीले होटेलमा काम गर्ने केटीसँग मायाप्रित जोड्यो । त्यही केटीलाई श्रीमती बनाएर बजारमा डेरा खोजेर राखेको थियो । उता घरमा छोराछोरी मात्रै थिए । नम्रता भाइलाई लिएर सानिमाको घर वुटवल गएकी थिई । भदौको महिना लगातार मुसलधारे पानी परिरहेको थियो । राप्तीमा पानीको सतह बढेर खतराको सङ्केत देखिएको थियो । चार पाँच दिन देखि लगातार पानी परिरहेको थियो । एकदिन मध्यरातमा अचानक राप्ती नदी समतुल्य भएर सुसाउँदै उर्लेर आयो । मानिसहरुको रुवाबासी भयो । राप्ती नदी आसपासमा रहेका घर कटेरा खेत केही बाँकी नराखी नदीले कटान गर्दै सोहोरेर लग्यो । धेरै परिवारको बिचिल्लि भयो । हितकाजीको घर र कटेरो बगायो । खेतको नामोनिसान रहेन । हितकाजी ट्रक लिएर बाहिर गएको हुनाले आपूm बच्यो । सानिमाको घरमा गएका नम्रता र बल्लभ भने भाग्यले बाँचे । राप्ती नदीले हितकाजी लगायत कयौँ परिवारको बिचिल्लि बनायो । धेरै मानिस बेपत्ता भए । धेरैको धनमाल नोक्सान भयो । हेर्दाहेर्दै धेरै परिवारको उठीबास भयो । राप्ती नदीको रौद्ररुपले धेरै परिवारको खुसी र भाग्य एकसाथ मिनेटभरमा राप्तीको भँगालोमा बिलय भयो ।

नम्रता र बल्लभ केही समय सानिमाको घरमा बसे । बुबाको अत्तोपत्तो थिएन । आमालाई बैंस चढेर नयाँ लोग्नेसँग रमाउँदै थिई । घर समेत बाँकी नरहेपछि दुई दिदी भाइको बिचिल्ली भयो । सानिमाले चिनेको एकजना मानिसको घर काठमाण्डौंमा थियो । उनै मानिसको घरमा घरेलु कामदारको रुपमा दुई दिदीभाइ काठमाण्डौं पुगेका थिए । उता हितकाजी ट्रक चलाएर नयाँ दुलहीसँग रमाईरहेको थियो । नयाँ श्रीमती पाइपछि बिस्तारै छोराछोरीलाई वास्ता गर्न छोड्यो । नम्रता र बल्लभ बेसहारा भएर काठमाण्डौंमा भौतारिन थाले । काठमाण्डौंमा पुगेपछि ति दुई दिदी भाइले दुःख र अभावका दिनहरु झेल्न थाले । उनीहरुले थुप्रै अपमानको विषपान गरेका थिए । पैसाको अभावमा भोकभोकै बसेका धेरै कथाहरु थिए उनीहरुसँग । सम्पन्न काठमाण्डौंले उनीहरुलाई चिन्ने कुरा भएन । पेट पाल्नको लागि जोखिम मोलेर संघर्ष गर्नुको बिकल्प अरु थिएन ति दिदीभाइसँग । नम्रताले कामको सिलसिलामा काठमाण्डौंको धेरै स्थान घुमेकी थिए । प्राय नम्रताले चिया पसलमा भिडभाड देख्ने गरेकी थिई नम्रताको दिमाखमा चिया पसल खोलेर गुजरा गर्ने जुक्ति फु¥यो । अन्ततः चिया पसलले चिनारी पनि दियो । दिदीभाइको भोको पेट पनि भरीयो । काठमाण्डौंको महाबौद्ध, वीर अस्पतालको पश्चिम पट्टिको भूभाग । त्यहाँ तयारी कपडा, झोला, जुत्ता,चप्पल र इलोक्ट्रोनिक सामानको होलसेल पसलहरु रहेको स्थान । देशको विभिन्नि स्थानबाट होलसेल व्यापारीहरु सामान खरिद गर्न हरेक दिन पुग्ने देशको प्रमुख व्यापारिक केन्द्र थियो । त्यहाँ देशैभरीका व्यवसायीहरु होलसेल सामान खरिद गर्न हरेक दिन पुग्ने गर्थे । उक्त स्थानमा कहिल्यै ग्राहक खाली हुँदैनथे । व्यापारिक प्रयोजनका लागि सिजन अनुसारको होलसेल सामान पाउँने प्रमुख व्यापारीक गन्तव्य पनि भएकोले त्यहाँ दशैँ तिहार र जाँडोयाममा देशैभरीका व्यवसायीहरुको भिड लाग्थ्यो ।

महाबौद्धकै भित्री गल्लीमा नम्रताको डेरा थियो । भाइ बल्लभ नजिककै सरकारी हाईस्कुलमा अध्यायन गथ्र्यो । नम्रताको डेरामा चारवटा ग्यास सिलिण्डर थिए । ठुला ठुला दुईवटा डेक्चीमा चिया पाक्दै थियो । एउटा डेक्चीभरी दुध उम्लीरहेको थियो । पाँचवटा ठुला थर्मसभरी चिया भरिएको थियो । नम्रताको मोबाइलमा सयजना होलसेल पसलका चियापारखी साहुहरुको फोन नम्बर थियो । फाल्गुनको महिना, बिहानको आठ बजेको हुँदो हो । नम्रता हातमा तिनवटा थर्मस र पलास्टीकको गिालास बोकेर चियापसलबाट बाहिर निस्कदै गर्दा कुनैकुनै व्यापारीको फोनकलको भरमा नम्रताले सिधैं पसलमा पुगेर चिया दिन्थी । कसैकसैले उसलाई देखेपछि चिया भनेर बोलाउँथे । कसैले बहिनी भन्थे । कसैले हेलो चिया भन्थे । कसैले चियावाली भन्थे । जसले जे भने पनि ऊ मुसुक्क हाँसेर चिया दिन्थी । नम्रता हरेक गल्लीका कुना कुना सम्म चिया बोकेर पुगेकी हुन्थी । नम्रतालाई सबै पसलेहरुले चिनेका थिए । कसैकसैले नम्रतालाई ईष्र्या गरेर आँखा तर्थे । ति मध्य होलसेल पसलका केही साहुनीहरुले पनि ईष्र्यालुभावले हेर्ने गर्थे । नम्रता असाध्यै राम्री भएकीले कता आफ्ना लोग्नेको नजर नम्रतामाथि पर्ने हो कि? भन्ने संशय पनि हुँदो हो, उनीहरुको मनमा ? कुनैकुनै साहुनीहरुले नम्रतालाई राम्रो मानेर सम्झाउँथे । ति मध्य होलसेल पसलकी शुभेच्छा दिदीसँग दिनको एक दुईपटक चिया लिएर दोकानमा पुग्दा भेट हुन्थ्यो । शुभेच्छाले हरेक समय नम्रताको ख्याल गरेकी हुन्थिन् । शुभेच्छाले नम्रतालाई हरेक समय भेट हुँदा काम सानो ठुलो हुँदैन । अहिले जे काम गरेकी छौँ । यहीँ पेशालाई राम्रोसँग चलाउनुपर्छ भनेर हौसला प्रदान गर्थिन् र सोध्ने गर्थिन् ।
“नम्रता तिम्रो चियाको व्यवसाय ठिक छ ?”

“ हजुर दिदी अहिलेसम्म सन्तोषजनक छ ” “ काम सानोठुलो हुँदैन । तिमीले इमान्दारीता पूर्वक गरेको कामलाई निरन्तरता दिनु, कामलाई पूजा गर्नु, एकदिन सफलता मिल्छ । चिया बेचेर हिँड्नु परेको छ भनेर तिमीले कहिल्यै सानो मन नगर्नू है ?” “ हस् दिदी मलाई अहिले सबैले चियावाली भन्छन् । मलाई त्यो सुनेर आनन्दनै लाग्छ दिदी ” “ नम्रता ढुक्कसँग आफ्नो व्यवसाय गर । तिमीलाई केही समस्या परेको खण्डमा मलाई भन्नु है ” “ हस दिदी, मलाई किनकिन हजुरलाई देखेपछि यो बिरानो ठाउँमा मेरो पनि कोही छ जस्तो लाग्छ ” नम्रताको आँखा रसाए ।
शुभेच्छाले मायाले लाटी भन्दा दुबैजना खितित्ति गरेर हाँसे । “ किन किन तिमीलाई देख्दा, तिम्रो अनुशाशन र व्यवहारले म प्रभावित छु ”
“ रगतको नाता भन्दापनि भावनाको नाता ठुलो हुँदोरहेछ दिदी ” ल सबै कुरा छोड, काम गर । तिमीलाई अप्ठ्यारो हुँदा तिम्रो दिदी छ । शुभेच्छाले यति भनेपछि नम्रताको उज्यालो अनुहार झन उज्यालो भयो । भित्री गल्लीमा चिया पसल गर्ने एक दुईजना साहु र साहुनीले पनि नम्रता माथि ईष्र्या गर्थे । उनीहरुको सोचाइमा नम्रताले गर्दा आफ्नो व्यपार कम भएको ठान्थे । नम्रताले हाँसेर ग्राहकलाई चिया दिएको देखेर उनीहरुलाई जलन हुन्थ्यो । त्यहीँ हाँसोले गर्दा नम्रताको चिया बिकेको र आफ्ना ग्राहक घटेको उनीहरुको ठम्म्याई रहन्थ्यो । तर यथार्थमा बाटोमा हिंडेने बटुवा र पसललेहरुले नै चिया मागे पछि नम्रताले हाँसीहाँसी चिया दिन्थी । उसको हाँसो हेर्दै चिया खादा कतिपयले आफैलाई भुल्थे । समय सधैं एकनासको कहाँ हुन्थ्यो र ? समय अव धेरै अगाडि बढेको थियो । काठमाण्डौँका धेरै गल्लीगल्ली घुमेर सुख दुःखका धेरै अनुभव संगालेकी नम्रताको जीवनले पनि बिस्तारै फड्को मारेर अगाडि बढीरहेको थियो ।

इमान्दार लगनसिल र कामप्रतिको निरन्तर लगनले गर्दा काम सानो वा ठुलो नभनी कामलाई पूजा गरेर लागिरहने हो भने एकदिन सफलता हात लाग्छ भन्ने कुराको उदाहारण हो, चियावाली नम्रता । यो कुरा उसको कामबाट प्रमाणित भएको थियो । नम्रताले आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै पहिलेकै स्थान नजिकै ठुलो घर भाडामा लिएर “ न्यू नम्रता होटेल एण्ड रेष्टुरेन्ट ” संचालनमा ल्याएकीथिई । होटेलमा काम गर्ने स्टापहरुनै दश बाह्र जना थिए । ग्राहकहरुको सधैं भिड हुन्थ्यो । नम्रताको व्यवसाय फस्टाएको थियो । नम्रता विभिन्न सामाजिक क्षेत्रहरुमा आवद्ध भएर सामाजिक कार्यहरुमा पनि सहभागी हुँदै आएकी थिई । उसलाई त्यो एरियामा सबैले चिन्थे । तिसौँपटक रक्तदान गरी मानवताको परिचय दिएकी नम्रता रेडक्रससँग पनि आवद्ध थिई । धेरैले उसलाई सहयोगीको रुपमा पनि चिन्ने गरेका थिए । बिमारीहरुलाई रगतको आवश्यकता परेको खण्डमा आफै पुगेर सहयोग गरेकी हुन्थी उसले । प्लस टु पास गरेपछि भाइ बल्लभले खुला प्रतिस्पर्धाबाट नाम निकालेर नेपाल प्रहरीमा असई को जागिरे भएको थियो । दुबै दिदी भाइको अथक मेहनत ,लगन, इमनदारीता र जिम्मेवारीबोधले गर्दा दुबै दिदी भाइको जीवनले सार्थकता पाउँदै थियो । काम सानो ठुलो हुँदैन, निरन्तरता, लगनसिल, इमान्दारीता, जिम्मेवारीबोध र आत्मविश्वासकासाथ जस्तोसुकै चुनौतीलाई पनि सहज तरिकाले समाधान गर्दै अगाडि बढ्ने हो भने सफलता धेरै टाढा छैन, भन्ने कुरा चियावाली नम्रताको संघर्षको कथाले समाजलाई एउटा सकारात्मक सन्देश दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार