देश विकासको लागि महत्वपूर्ण मेरुदण्ड हो युवा पुस्ता । उनीहरु देश विकासका साझेदार समेत हुन् । देशमा हुने गरेका हरेक विपत्तिहरुमा तिनै युवाहरुको अर्थपूर्ण सहभागिता हुँदै आएको छ । पछिल्लो समय २०७२ सालमा गएको भुकम्पको समयमा समेत युवाहरुको भूमिका महत्वपूर्ण रहयो । विगत साढे एक वर्षयता महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाममा समेत युवाहरु भूमिका महत्वपूर्ण रहेको छ । विभिन्न क्षेत्रका युवाहरु विभिन्न माध्यमबाट महामारी विरुद्ध जोडिएका छन् । युवाहरुको भूमिका कदर गर्नको लागि सरकारले सहयोग गर्नुपर्ने आवश्यकता छ । नेपाल एक अल्पविकासित देश हो । यहाँ राजनीतिक अस्थिरताका कारण देशमा रोजगारीको भरपर्दो माध्यम अझै विकसित हुन सकेको छैन । वर्षेनी रोजगारीको खोजीमा युवाहरु विदेशिन्छन् । देश नै तिनै युवाहरुले पठाउने रेमिट्यान्सको भरमा चलिरहेको छ । भर्खरै सरकारले प्रस्तुत गरेको बजेटमा भने केही रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम समेटिएका छन् । महामारीमा युवाहरुको भूमिका, बजेट बारेमा युवाहरुको प्रतिक्रिया, बाँके जिल्लाका युवाहरुको हितका लागि युवा समितिका योजना र रणनीति लगायतका विषयमा जिल्ला युवा समिति बाँकेका अध्यक्ष खेमराज शर्मासँग मिसन टुडे दैनिकका लागि शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अशं :
१. कोरोना महामारीको समयमा तपाईंको दैनिकी कसरी बितिरहेको छ ?
विश्व नै कोरोना महामारीका कारण आक्रान्त छ । हामी पनि कोरोना महामारीको सामना गरिरहेका छौँ । विशेषगरी नेपालमा पनि कोरोनाका कारण धेरै क्षति भइरहेको अवस्था छ । अहिले पनि दोस्रो भेरियन्टसँग लडिरहेको अवस्था छ । यसले बाँके जिल्लालाई पनि धेरै प्रताणित बनाएको अवस्था छ ।म युवा समितिको अध्यक्षको हिसाबले सम्पूर्ण युवाहरुलाई यसबाट बच्न र बचाउनको लागि भूमिका खेल्नको लागि अनुरोध गर्दछु । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका कारण पनि कोरोना महामारीलाई मध्यनजर गर्दै साथीहरुसँग समन्वय र सहकार्य तथा परिचालन लगायतका क्रियाकलाप गर्दै दैनिकी बितिरहेको छ । आफू पनि सुरक्षित हुँदै काम गर्दै आएको छु ।
२. तपाईं बाँके जिल्लाको युवा समितिको अध्यक्ष भएपछि के के काम गर्नु भएको छ नी ?
म युवा समिति बाँकेको अध्यक्षमा नियुक्त भएको जम्मा तीन महिना भएको छ । यो अवधीमा हामीले ठोस काम भने केही पनि गरेका छैनौँ । कोरोना महामारीका कारण हामीलाई काम गर्न कठिनाई भइरहेको अवस्था छ । हामी कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि व्यस्त छौँ । तर कोभिडलाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी अध्यक्षको संयोजकत्वमा कोरोना महामामारी, सूचना तथा सहजीकरण केन्द्र भनेर स्थापना गरेको छ । त्यो केन्द्रले ७७ वटै जिल्लामा अध्यक्षको संयोजकत्वमा काम गर्ने भनेर निर्देशन जारी गरेको छ । हामीले कोरोना महामारीबाट पीडितहरुलाई सहयोग गर्दै आएका थियौँ । औषधि उपचार सँगै स्वास्थ्य सामग्री सहयोग र स्वास्थ्य क्षेत्रका सूचना संकलनको काम गरिरहेका छौँ । यस्तै स्थानीय, प्रदेश र संघीय सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ । मूलभूत रुपमा कोरोना महामारी नियन्त्रण र रोकथामको अवस्था मै रहेका छौँ ।
३. भर्खरै आएको बजेटले जिल्लामा के कस्ता काम गर्न बजेट विनियोजन गरेको छ ?
अहिले युवा तथा खेलकुदको लागि २ खर्व बजेट छुट्याइएको छ ।मन्त्रालयले राष्ट्रिय युवा परिषद्लाई भनेर बजेट छुट्याएको भने छैन । हामी पनि प्रक्रियामा रहेकोले त्यो बजेट हाम्रो कार्यालयको पनि आउँला । कस्तो बजेट आउने हो त्यही अनुसार हामीले काम गर्ने हो । हामीले चाही बिषेशगरेर बेरोजगार युवाहरुलाई रोजगार बनाउनको लागि विभिन्न किसिमका तालिमको आयोजना गर्ने कुरामा जोड दिएको अवस्था छ । स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने छौँ । विदेशबाट आएका युवाहरुलाई रोजगार दिने कुरामा पनि सरकारले ध्यान दिएको अवस्था छ । यसको लागि बैंकसँग पनि सहजीकरण गरिनेछ । सौलियत कर्जाको लागि युवा समिति सधै युवाहरुको पक्षमा रहेको छ । बजेटिङ जिल्ला तहमा पुगिसकेको छैन । बजेट आयो भने हामीले नीति र नियम बनाएर युवाहरुको बजेटमा काम गर्नेछौँ ।
४. अहिलेको बजेट युवामुखी आएको छ की छैन यसमा तपाईंको धारणा के छ ?
पहिलेका बजेटहरुको तुलनामा अहिलेको बजेट युवाहरुको पक्षमा आएको मैले पाएको छु । सरकारले विषम परिस्थितिका बाबजुत पनि युवाहरुको पक्षमा कार्यान्वयमा ध्यान दिनु पर्ने मैले देखेको छु । बजेट राम्रो आएको छ । बजेट कार्यान्वयन भयो भने यसले पक्कै पनि एउटा राम्रो सन्देश दिने मेरो अपेक्षा छ । बजेट कार्यान्वयनको लागि हामीले पनि सरकारलाई साथ दिनुपर्छ । अर्कातिर तपाईंले भन्नु भए जस्तै सरकारले ल्याएका नीति तथा कार्यलाई धेरै नराम्रा टिप्पणी समेत भएका छन् । त्यसैले यसमा धेरै कुरा कारक छन् जस्तो मलाई लाग्दछ । अहिले सरकारले धेरै मुद्धाहरु युवाहरुको पक्षमा समेटेको छ । युवा र विद्यार्थीले उठाउँदै आएका मुद्धाहरु बजेटमा समेटिनु राम्रो कुरा हो । त्यसैले यसलाई हामीले स्वागत गर्नैपर्छ । विभिन्न संगठनका भूमिकाका कारणले पनि प्रमाणपत्र राखेर ऋण दिने लगायतका बुदाँ समेटिएका छन् । त्यसैले बजेटमा समग्र युवा समेटिएका छन् ।
५. बजेट कार्यान्वयनका चुनौतीका विषयमा पनि व्यापक रुपमा प्रश्न उठाइएको छ ? बजेट कार्यान्वयन होला त ?
अहिले देशमा राजनीतिक तलरता छ । राज्यका हरेक अंग चल्नको लागि बजेट नभइ नहुने कुरा हो । बजेटको अनिवार्य कार्यान्वयन हुनुपर्छ भन्ने मेरो पनि माग हो । किन भने बजेट कार्यान्वयन भएन देश विकासमा प्रत्यक्ष असर गर्छ । यस्तो विषय परिस्थितिमा समेत बजेट कार्यान्वयनलाई ध्यान दिएनौँ भने राम्रो सन्देश जादैन । त्यसैले सरकारले अहिलेको बजेट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ । महामारीको समयमा जनमैत्री बजेट आएको छ । सोही अनुसार कार्यान्वयन भयो भने जनताले सरकार भएको महशुस गर्न पाउनेछन् । अर्कातिर सरकारले तोकेको चुनाव हुने नहुने राजनीतिक बाटो हो । यसमा धेरै बहस गर्न पनि उपयुक्त देखिदैन । राज्यका अंगहरुलाई चलाउने जुन निकाय छन् । मुख्य कुरा भनेको बजेट नै भएकोले कार्यान्वयन नगरी त सुखै छैन । यो कुरा अतिआवश्यक समेत रहेको छ ।
६. नेकपा एमाले अहिले फुटको संघारमा छ,अहिले अवस्था आउनुमा को जिम्मेवार छ जस्तो लाग्छ तपाईलाई ?
नेकपा अहिलेको राजनीतिक परिवेश निकै जटिल अवस्थामा गु्रजिरहेको छ । यो निकै दुःखदायी छ । हामी जस्ता इमान्दार कार्यकर्ताका लागि यो राम्रो कुरा होइन । हामी जस्ता लाखौँ कार्यकर्ता अहिलेको अवस्था निकै दुःखी छन् । पार्टी नेतृत्व बीचको असहमतीका कारण अहिलेको अवस्था सिर्जना भएको हो । पार्टी विभाजन हुने स्थितिमा छ । यो पार्टी जीवनको लागि राम्रो संकेत पनि होइन । ककसका कारण यो अवस्थामा पुग्यो भन्दा पनि हामीले यसको लागि भूमिका खेल्यौ भन्ने कुरालाई गम्भीर रुपमा लिइनुपर्छ जस्तो मलाई छ । आलोचना, आत्मआलोचनाका साथमा नेताहरु अघि बढ्नु अहिलेको आवश्यकता हो भन्ने मलाई लाग्छ । पार्टीलाए एकजुट बनाएर लैजानुको नै अहिले मूख्य चूनौतीको रुपमा रहेको यो चुनौतीको सहजीकरण गरेर लाखौँ कार्यकर्ताको मर्म अनुसार नेतृत्व अघि बढ्नुपर्छ । कार्यकर्ताले पार्टीको एकता चाहेका छन् । नेताहरुका कारण समस्या पैदा भएको छ, नेताहरुको सहमतिमा यो कुरा टुंगिन्छ भन्ने आशामा हामी छौँ । यो समस्या समाधान हुन्छ जस्तो लाग्छ ।
७. तपाईले बाँके जिल्लाको युवा समितिको अध्यक्ष रहुञ्जेलसम्म युवाहरुको विषयमा काम गर्नको लागि कस्ता योजना बनाउनु भएको छ ?
मैले बाँकेमा लामो समयमा युवाको क्षेत्रमा काम गर्ने अवसर पाएको छु । सामाजिक क्षेत्रमा समेत मैले युवाहरुको विषयमा काम गरेको छु । त्यो भएर युवाहरुका समस्या र सम्भावनासँग म परिचित छु जस्तो मलाई लाग्छ । त्यसले हिसाबले सरकारले मलाई जुन जिम्मेवारी दिएको छ । त्यो कुशलता पूर्वक पालना गर्ने मेरो पहिलो काम हुनेछ । म चाही बाँके जिल्लामा रहेका सम्पूर्ण पालिकाहरुमा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नेछु । विशेषगरी युवाहरुमा देखिएको समस्या भनेको बेरोजगारी हो । यो समस्या समाधानको लागि मेरो भरपूर प्रयास रहनेछ । उनीहरुलाई सिपमुलक तालिमको व्यवस्था गरिनेछ । युवा स्वरोजगारका लागि स्थानीय तहसँग मिलेर युवामैत्री बजेट विनियोजन गर्न लगाइनेछ । एक शैक्षिक संस्था, एक उद्यम कार्यको परिकल्पना मैले गरेको छु । युवा क्लबहरुको नेतृत्व विकासमा ध्यान दिइनेछ । प्रशिक्षण र तालिम दिइनेछ । युवा प्रतिभाहरुको पहिचान गरिनेछ । विदेशबाट फर्केका युवाहरुको लागि स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्न हामी लागिपर्नेछौँ । आत्मनिर्भरताको बाटोमा युवाहरुलाई लैजानेछौँ । कृषि क्षेत्रमा युवाहरुको सहभागिता सुनिश्चित गरिनेछ ।
८. अन्त्यमा,सम्पूर्ण युवाहरुलाई कोरोना महामारीको समयमा भूमिका खेल्नको लागि के भन्न चाहनुहुन्छ ?
हामी कोरोनाको दोस्रो भेरियन्टसँग लडिरहेको अवस्था छ । भारत लगायतका देशमा तेस्रो चरणको कोरोना फैलिसकेको अवस्थामा हाम्रो देशमा समेत यसको सम्भावना छ । त्यस्तो सम्भावनाका न्युनिकरणको लागि युवाहरुलाई आह्वान गर्दछु । सहयोगी भूमिका खेलेर सरकारलाई सहयोग गर्नुपर्छ भन्न चाहन्छु । स्वास्थ्य मापदण्ड अपनाउन सम्पूर्णलाई आग्रह गर्न चाहन्छु । विभिन्न पार्टी, संस्था र संगठनमा लागेका साथीहरुलाई कोरोनाको अग्रस्थानमा खटिन मेरो अनुरोध छ । सम्पूर्णलाई स्वास्थ्य मापदण्ड पुरा गर्न पनि अनुरोध गर्न चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्