पहिलोपटक अछाम अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया



सुर्खेत ।

पहिलो पटक जिल्ला अस्पताल, अछाममा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

अस्पतालमा पहिलोपटक बाजुराका एक ५० वर्षीय एक पुरुषको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । ती पुरुषमा पेट दुख्ने समस्या बढ्दै गएपछि जिल्ला अस्पताल बाजुरामा पुगेका थिए । त्यहाँका चिकित्सकले एपेन्डिसाइटिस शंका गरेर अछाम अस्पताल रेफर गरेको थियो ।

‘पहिलो पटक अछाम अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको छ,’ डा. अधिराज आचार्यले भने, ‘अब यहाँको नागरिकले एपेन्डिसाइटिस हर्नियालगायत शल्यक्रियाका लागि तल (नेपालगन्ज, धनगढी, सुर्खेत) झर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

एमडीजीपी विशेषज्ञ डा. कमलेशप्रसाद यादवको नेतृत्वमा डा. अधिराज आचार्य, एनेस्थेसियामा गंगा बुढाक्षेत्री र दीपेन्द्र शर्मा, अप्रेसन थिएटर नर्सिङ ममता शाह र सहयोगी चक्र लुहारको संलग्नतामा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो ।

योसँगै अछाम अस्पतालमा एमडीजीपी चिकित्सकले गर्नसक्ने मेजर शल्यक्रिया एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका शल्यक्रिया सुरु हुने भएको छ । यसअघि शल्यक्रियाबाट बच्चा निकाल्ने सेवा मात्रै सञ्चालन हुँदै आएको थियो ।

‘बच्चा जन्माउने शल्यक्रिया मात्रै हुँदै आएको थियो । त्यही ओटीको सेपअपमा प्रयोग गर्दै एपेन्डिसाइटिसलाई चाहिने सामान लिएर शल्यक्रिया गरेका हौँ,’ डा. आचार्यले भने ।

अछाम अस्पतालमा हाल एमडीजीपी, हाडजोर्नी विशेषज्ञ गरी सात जना चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन् । पछिल्ला दिनमा सेवा बिस्तार भएसँगै अछामका मात्रै नभई बाजुरा, दैलेखलगायत छिमेकी जिल्लाका बिरामीलाई पनि सहज हुने डा. आचार्यले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार