कोहलपुरमा यातायात कार्यालय स्थापनाको निर्णय



सोमबारको लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । लामो समयदेखि कोहलपुरबासीले माग गर्दै आएको विषय मन्त्रिपरिषद् बैठकबाट सम्बोधन भएसँगै अब यातायातको सेवा कार्यालय स्थापना हुने पक्का भएको छ । सेवा कार्यालय स्थापनापछि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताब नवीकरण र पटके सेवा कोहलपुरबाटै प्रवाह हुनेछ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेश सरकारले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । सोमबारको लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गर्ने गरेको हो । प्रदेश सरकारको निर्णयसँगै अब कोहलपुरमा सेवा कार्यालय खुल्ने निश्चित भएको छ । लुम्बिनी सरकारको निर्णयअनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुनेछ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कोहलपुरमा सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको बताए । उनका अनुसार स्थापना हुने सेवा कार्यालयबाट पटके शुल्क संकलन, लाइसेन्स तथा सवारी साधन पुर्जा नवीकरणको काम गरिनेछ ।

यसअघि गत कात्तिक ३० गते नेपालगन्ज उपमहानगरपालिकाले गरेको छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कोहलपुरमा सेवा कार्यालय खुल्ने बताएका थिए । नेपालगन्जको यातायात कार्यालय कोहलपुरमा नसर्ने तर कोहलपुरमा सेवा कार्यालय विस्तार गरिने जानकारी दिएका थिए ।

मन्त्री न्यौपानेले भनेको दुई साता नबित्दै कोहलपुरमा सेवा कार्यालय विस्तार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री न्यौपानेले मिसन टुडेलाई जानकारी दिए ।

उनका अनुसार कोहलपुरमा सेवा कार्यालय स्थापना गर्ने निर्णयबमोजिम अब थप प्रक्रिया अघि बढ्नेछ । कोहलपुर सेवा कार्यालयले तीन वटा शीर्षकमा काम गर्नेछ । सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताब नवीकरण र पटके सेवा कोहलपुर कार्यालयबाट उपलब्ध हुने उनले बताए ।

मन्त्री न्यौपानेका अनुसार कोहलपुर यातायातको सेवा कार्यालय छिट्टै नै उद्घाटन हुनेछ । ‘हाल नेपालगन्जमा रहेको कार्यालय कोहलपुरमा सर्दैन । त्यहाँको सेवा पनि बढ्ने वा घट्ने होइन । नेपालगन्जमा रहेको कार्यालयको सेवामा कुनै प्रभाव पर्दैन,’ मन्त्री न्यौपानेले मिसन टुडेसँग सोमबार भने, ‘कोहलपुरमा सेवा कार्यालय मात्रै विस्तार हुनेछ । जिल्लाको समग्र वस्तुस्थितिलाई मध्यनजर गर्दै सेवाग्राहीहरूको सहजताका लागि सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो ।’

प्रदेश सरकारको आर्थिक दायित्व नबढ्ने, सेवामा प्रभाव नपर्ने, सेवा कार्यालयमा बाँकेकै जनशक्ति खटिने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले कोहलपुुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेसँगै कोहलपुरबासीमा खुसियाली छाएको छ । यहाँका सरोकारवालाले कोहलपुरमा यातायात कार्यालय खोल्ने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

हाल, नेपालगन्जस्थित रामलिला मैदान नजिकै भाडाको घरमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । कोहलपुर नगरपालिका–२ स्थित ३ बिघा क्षेत्रफलमा यातायात कार्यालयकै नाममा ट्रायल सेन्टर अहिले पनि सञ्चालित छ । नेपालगन्ज–कोहलपुर १६ किलोमिटर मात्रै दूरी छ । कोहलपुरमा हाल सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिने गरिन्छ ।

नेपालगन्ज कार्यालयलाई कुनै प्रभाव पर्दैन 

प्रचण्डविक्रम न्यौपाने
मन्त्री
लुम्बिनी प्रदेश सरकार

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोहलपुरमा सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । लामो प्रयासपछि काम सुरु हुने भएको छ । प्रदेश सरकारको आर्थिक दायित्व नबढ्ने गरी सेवा कार्यालय खुल्नेछ । नेपालगन्ज कार्यालयबाट भइरहेको सेवामा कुनै प्रभाव पर्ने छैन । सेवा कार्यालयमा बाँकेकै जनशक्ति खटिनेछन् ।

कार्यालयले सबै काम गर्न पाउँदैन । तीन वटा शीर्षकमा मात्रै काम गर्नेछ । कार्यालय खुलेसँगै नागरिकले सुलभ सेवा पाउनेछन् । नेपालगन्जको कार्यालय पनि भाडामा चलिरहेको छ । त्यहाँसमेत केही समयमा सरकारी संरचनामा सेवा सुचारु गरिनेछ ।

यो खुसीको खबर हो

संगीता सुवेदी

कार्यबाहक नगर प्रमुख

कोहलपुर नगरपालिका

कोहलपुरमा सेवा कार्यालय खुल्ने निर्णय कोहलपुरका लागि अत्यन्त खुसीको खबर हो । कोहलपुर नगरपालिका, नगरबासी र राजनीतिक दलको वर्षौंदेखिको चाहना पूरा भएको छ । कार्यालय छिट्टै स्थापना गर्ने कुरामा अब हाम्रो जोड रहन्छ ।

सेवा कार्यालय स्थापनाका लागि पुरानो बसपार्कको संरचना नै प्रयोग हुन्छ । कार्यालय प्रयोजनका लागि एक जना कार्यालय सहयोगीको व्यवस्था नगरपालिकाले नै गर्नेछ । हामी अत्यन्त खुसी छौँ । हाम्रो वर्षौंदेखिको चाहना पूरा भएको छ । हाम्रो प्रयासले सार्थकता पाएको छ । सेवा सुरु गर्न हामी आतुर छौँ ।

स्वागतयोग्य निर्णय भएको छ

वीरेन्द्रकुमार शाह

नगर सभापति

नेपाली कांग्रेस, कोहलपुर

प्रदेश सरकारको यो स्वागतयोग्य निर्णय हो । कोहलपुरमा सेवा कार्यालय स्थापना गर्ने निर्णयले कोहलपुरबासीलाई खुसी दिएको छ । प्रदेश सरकारलाई धन्यवाद छ ।

यो निर्णयप्रति मुख्यमन्त्रीज्यू र यातायात मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु । हाम्रो आग्रहलाई उहाँहरूले स्वीकार गरिदिनुभएको छ । यहाँका राजनीतिक दलको समेत यो कार्यालय स्थापनामा ठूलो भूमिका छ । हाम्रो पटकपटकको अनुरोध र ध्यानाकर्षणका कारण कार्यालय स्थापना हुने भएको छ ।

कार्यालय छिटो सुचारु होस्

कुलप्रसाद भट्टराई
नगर अध्यक्ष
नेकपा एमाले, कोहलपुर

कोहलपुरमा यातायात व्यवस्था कार्यालयअन्तर्गत सेवा कार्यालय विस्तार हुनु अत्यन्तै सकारात्मक कुरा हो । कार्यालय स्थापनाले विशेषगरी यस क्षेत्रका जनतालाई ठूलो राहत मिल्नेछ । कार्यालय छिटो सुचारु होस् । हामी सेवा लिन आतुर छौँ । कार्यालय सञ्चालनमा विलम्ब गर्नुहुँदैन ।

निर्णय कार्यान्वयनमा आशंका छ

अवराज खड्का
नगर अध्यक्ष
नेकपा (माओवादी केन्द्र) कोहलपुर

प्रदेश सरकारको यो निर्णयप्रति पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्दछु । निर्णय भएको छ । तर निर्णय चाँडो कार्यान्वयन होस् । निर्णय कार्यान्वयनमा अझै आशंका छ । कार्यालय कार्यालय स्थापना गर्न ढिलो गर्नु हुँदैन ।

कोहलपुरमा कार्यालय खोल्ने भन्दै जनताको आँखामा छारो हाल्ने काम नहोस् । देश शान्ति प्रक्रियामा जाँदादेखि नै सुरु भएको प्रयास लामो अन्तरालपछि कार्यान्वयनमा आउन लागेको छ ।

जिल्लाका अन्य क्षेत्रबाट समेत कोहलपुरमा सेवा लिन आउँदा कोहलपुरमा आर्थिक गतिविधि बढ्नेछ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार