बाँके ।
जंगली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिकाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । राप्तीसोनारी गाउँपालिका–६ का लालबहादुर थारू र सुरेशशमशेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित नियन्त्रणमा लिइएको हो । राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत रामगणेश शाहले राप्ती सोनारी–६ लक्ष्मीराजपुरका लालबहादुर थारूको घरबाट नीलगाईको काटिएको अवस्थामा टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको जानकारी दिए ।
‘आइतबार राति उक्त घरमा नीलगाई मारेर ल्याएको सुराक हामीले पायौँ, सुराकका आधारमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोली उक्त स्थानमा राति १ बजेको समयमा पुग्यौँ,’ उनले भने, ‘उक्त घरमा सुरेशशमशेर राणा भन्ने व्यक्तिलाई फेला पा¥योँ, उहाँलाई राति नै नियन्त्रणमा लियौँ, रातिको समयमा घर खानतलासी गरेनौँ, रातभर सबै जनाले उक्त घरलाई घेरा हालेर बस्यौँ र बिहान घर खानतलासी ग¥यौँ ।’
‘सोमबार बिहान घर खानतलासी गर्दा ३९ किलोग्राम तौलबराबरको नीलगाईको टाउको, खुर, मासु, छाला र भुँडी गरेर बरामद ग¥यौँ, घरधनी थारूलाई पनि बिहान नियन्त्रणमा लियौँ,” वन अधिकृत शाहले भने, ‘बरामद गरिएको मासुलगायतलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन टोली, स्थानीयबासीको रोहबरमा खाडल खनेर गाड्यौँ र नियन्त्रणमा लिएका राणा र थारूलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा राखेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।’
पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान सुरु गरेको र अनुसन्धानपश्चात् आवश्यक कानुनी कारबाही अगाडि बढाइने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्