उपनिर्वाचन भएका चार वडामध्ये २०७९ को स्थानीय तह निर्वाचन कांग्रेसले २, एमाले र माओवादीले एक÷एक जितेका थिए । यस पटक चारवटै वडामा कांग्रेसले जित निकालेको छ । तर, उपनिर्वाचन भएको एक गाउँपालिका उपाध्यक्ष पद २०७९ को स्थानीय तह निर्वाचन कांग्रेसले जितेको थियो । यस पटक भने माओवादीको सहयोगमा नेकपा एमालेले आफ्नो जित निकालेको छ । माओवादीले भने आफूले जितेको एउटा वडासमेत गुमाएको छ ।
शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशका पाँच स्थानमा आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार सम्पन्न मतदानको मतपरिणाम सोमबारसम्म सार्वजनिक भएको हो । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेस चार ठाउँमा विजयी भएको छ भने नेकपा एमाले एक ठाउँमा विजयी भएको छ ।
२०७९ सालको निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएको नेकपा एमालेले बाजुराको स्वामिकार्तिकमा आफ्नो जित निकालेकोे छ । २०७९ को निर्वाचनको मतपरिणामलाई नेपाली कांग्रेसले दुई स्थानमा जित यथावत् राख्न सफल भएको छ भने अन्य एक स्थानमा पद गुमाउनुपरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले २०७९ को निर्वाचनमा जित हासिल गरेका स्थान उपनिर्वाचनमा जोगाउन सकेन ।
स्थानीय तहमा पनि आफ्ना उम्मेदवार खडा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेअनुसारको मत पाउन सकेको छैन । स्वतन्त्रले कन्चनपुरको भीमदत्त नगरपालिका–६ र डोटीको पूर्वीचौकी–६ मा आफ्ना उम्मेदवारलाई निर्वाचनमा उतारेको थियो । तर, दुई ठूला दलबीचको प्रतिस्पर्धामा उनीहरू प्रतिस्पर्धी बन्न सकेनन् ।
स्वामिकार्तिकमा कांग्रेसले गुमायो पद
२०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी नेकपा एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले त्योभन्दा बढी मत पाउँदै उपनिर्वाचन जितेकी छन् ।
२०७९ को निर्वाचनमा एमाले–कांगे्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् । जोशीले १ हजार ८ सय १० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६ सय ३७ मत पाएकी थिइन् । जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २ सय ६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।
सुलोचना १ हजार ७ सय ४० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार पुलतीसराले १ हजार ४ सय ७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५ सय ५३ मत पाएकी छन् । ७ हजार ४ सय ६० मध्ये ३ हजार ९ सय ३ जनाले मतदान गरिसकेका थिए । यहाँ नेकपा एमाले र माओवादीको गठबन्धन रहेको थियो ।
पूर्वीचौकी–६ मा फेरि कांग्रेस
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । थापा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १ सय ६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४ सय ६८ मत पाउँदा देवबहादुरले ३ सय १ मतमै चित्त बुझाउनुप¥यो । २०७४ सालको निर्वाचनमा सोही पदमा देवबहादुरले मोहनलाई हराएका थिए ।
चुनावी मैदानमा रहेका रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे । १ हजार ५ सय ९३ मतदाता रहेको यस वडामा ८ सय ३९ मत खसेको थियो । १३ मत बदर भएका छन् । २०७९ निर्वाचनमा यो वडामा कांग्रेस नै विजयी भएको थियो ।
भीमदत्त–६ मा कांग्रेस विजयी
कन्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बहादुर चन्दलाई ६ सय २० मतको पछि पार्दै कांग्रेस उम्मेदवार प्रकाश चन्द वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
२ हजार ९ सय ९१ मत मध्ये उनले १ हजार १ सय ७ मत पाएका थिए भने एमाले उम्मेदवार चन्दले ४ सय ८७ मत पाएका थिए । राप्रपाका सुनिलकुमार भट्ट तेस्रो भए । उनले ३ सय ६९ मत पाएका थिए ।
दुँहु–४ मा माओवादीलाई हराउँदै कांग्रेसको जित
दार्चुलाको दँुहु गाउँपालिका–५ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ८ सय ७७ मत खस्दा नेपाली कांग्रेसका धनसिंह कुँवर ३ सय ७६ मतसहित विजयी भए ।
नेकपा एमालेका मानसिंह बडालले ३ सय ५८ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत पाए । स्वतन्त्र लालसिंह कुवरले २५ मत पाएका थिए । २०७९ को निर्वाचनमा यहाँ माओवादी उम्मेदवार विजयी भएका थिए ।
सुर्मा–४ एमालेले गुमायो
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । यसअघि एमालेले जितेको वडामा कांग्रेसले बाजी मारेको हो । पुजाराले ६ सय ५७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका थिए ।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए । १ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा १ हजार १ सय ७८ मत खसेको थियो । वडाध्यक्ष सर्जन बोहोराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि बोहरा ६ सय २९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत पाएका थिए ।









प्रतिक्रिया दिनुहोस्