बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने



बाँके ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले तिहारका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । तिहारको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने कार्यहरू बढी हुने गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको बाँके प्रशासनले जनाएको छ ।

जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पड्काउने तथा जुवातास विरुद्ध विशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) आयुसप्रसाद जोशीले जानकारी दिए ।

देउसी भैलोको पनि समय निर्धारित गरिएको उनले बताए । दसैँ र तिहारका लागि जिल्ला प्रहरी कार्यालयले तयार पारेको सुरक्षा योजना अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको बताउँदै डिएसपी जोशीले सोही बमोजिम जिल्लामा करिब एक हजार प्रहरी परिचालन गरिएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाँके जिल्ला शान्ति सुरक्षाको हिसाबले निकै संवेदनशील जिल्ला भएको जनाउँदै सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको दाबी गरे ।

सोही अनुसार नै जिल्लामा राति १० बजेपछि देउसीभैलो खेल्न पनि निषेध गरिनुका साथै पटाका आयात, बिक्री र पड्काउन समेत रोक लगाइएको र जुवातासमा पनि कडा निगरानी बढाइएको छ ।

तिहार सुरक्षाका लागि नेपाल प्रहरीका साथै शसस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँचलाई समेत बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार