राप्ती सोनारी– ३ मा वडाभरि खेलाडी, छैन स्तरीय मैदान



राप्ती सोनारी गाउँपालिकामा हुने खेलकुद कार्यक्रम हुन् वा जिल्ला स्तरमा हुने प्रतियोगिता राप्ती सोनारी–३ का खेलाडीहरूले नै जित्दै आएका छन् । पालिकास्तरमा हुने खेलकुद प्रतियोगिताहरूमा पनि वडा नम्बर ३ कै दबदबा हुने गरेको छ । खेलाडीहरूले खेलकुदका माध्यमबाट वडा र सिंगो पालिकालाई नै चिनाइरहेका बेला वडा नम्बर ३ मा भने गतिलो खेल मैदानसमेत छैन ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँके राप्ती सोनारी गाउँपालिका–३ का बालकृष्ण चौधरी खेलाडी हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै चारपटक साफ च्याम्पियनसिप खेले । ‘हाइ जम्प’का खेलाडी उनी अन्तर्राष्ट्रिय खेलाडीका रूपमा परिचित छन् । २०७९ मा राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ‘ट्रिपल जम्प’तर्फ यही वडाकी अनिसा थारू नेपाल प्रथम भएकी थिइन् । उसो त राप्ती सोनारी–३ कै सीमा थारूले २०६७ सालमा ‘जेब्लिन थ्रो’ र भागिरथी थारूले ‘चार सय मिटर दौड’मा प्रथम स्थान हासिल गरेका थिए ।

भलिबलतर्फ सोही वडाका विष्णु चौधरी, लक्ष्मी र सुती भण्डारीले राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेका छन् । विष्णु त भलिबलको महिलातर्फ राष्ट्रिय महिला टिमबाटै खेलिसकेकी खेलाडी हुन् । सम्झना चौधरी १ सय र २ सय मिटरतर्फ राष्ट्रियस्तरमै च्याम्पियन भइसकेकी खेलाडी हुन् ।

माथि उल्लिखित खेलाडी त प्रतिनिधि पात्र मात्र हुन् । राप्ती सोनारीमा हुने खेलकुद कार्यक्रम हुन् वा जिल्ला स्तरमा हुने प्रतियोगिता राप्ती सोनारी–३ का खेलाडीहरूले नै जित्दै आएका छन् ।

पालिकास्तरमा हुने खेलकुदका प्रतियोगिताहरूमा पनि वडा नम्बर ३ कै दबदबा हुने गरेको छ । खेलाडीहरूले खेलकुदका माध्यमबाट वडा र सिंगो पालिकालाई नै चिनाइरहेका बेला वडा नम्बर ३ मा गतिलो खेल मैदानसमेत छैन ।

वडामा स्तरीय खेल मैदान नहुँदा त्यहाँका खेलाडीहरूले लामो समयदेखि समस्या भोग्दै आएका छन् । वडामा खेल मैदान हुनुपर्ने त्यहाँका खेलाडी र युवाहरूको माग पूरा हुन सकेको छैन । स्थानीय मोतीराम विश्वकर्मा वडामा खेल मैदान नहुँदा प्रशिक्षणका लागि अन्य वडाहरूमा जानुपर्ने बाध्यता रहेको बताउँछन् । उनका अनुसार वडामा स्तरीय खेल मैदान नहुँदा वडाका खेलाडीले सास्ती भोग्दै आएका छन् ।

अर्का स्थानीय महेश चौधरी वडामा खेल मैदान भए पनि वडा सरकार र सरोकारवालाले ध्यान नदिँदा घाँसे मैदानमा परिणत भएको बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको मैदानको उचित संरक्षण नहुँदा झाडीमा परिणत भएको भन्दै निर्माण गरिनुपर्ने चौधरीले माग गरे ।

स्थानीय युवा चौधरीले भनेझैँ वडा नम्बर ३ स्थित भवानियापुरमा खेल मैदान त छ तर, उक्त मैदानमा खेल खेल्न र अभ्यास गर्न सक्ने अवस्था छैन । भुरभवानी मन्दिरको स्वामित्वमा रहेको मैदानलाई सफाइ गरेर फेरि पुरानै अवस्थामा ल्याउन सकिने विश्वकर्मा र चौधरी बताउँछन् ।

१ बिघा ४ कट्टामा फैलिएको मैदानलाई उपभोगमा ल्याउने प्रयास थालिएको छ । त्यहाँका केही खेलप्रेमी युवा, विद्यालय र वडा सरकारको सक्रियतामा मैदान सम्याउने काम भइरहेको वडा नम्बर ३ को कार्यालयले जनाएको छ । वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीले भवानियापुरमा ठूलो खेल मैदान रहेको र उक्त मैदान सरस्वती माविले भाडामा लिएको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा खेलकुद विकासतर्फ वडाले उक्त मैदानका लागि बजेट नै विनियोजन गरेको छ । सोही अनुसार डोजर लगाएर मैदान सम्याउने काम सुरु गरेको वडाध्यक्ष थारूको भनाइ छ । उक्त खेल मैदान भाडामा लिएर खेलकुद गतिविधि गरिरहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार चौधरी भुरभवानी मन्दिरको नाममा रहेको खेलमैदान विद्यालयले भाडामा लिएर चलाइरहेको बताउँछन् ।

उनले विद्यालयको खेलकुद गतिविधि सञ्चालनका लागि धेरै वर्ष पहिलेदेखि नै प्रयोग गरिरहेको बताए । उक्त जमिनअन्तर्गत १३ कट्टा मैदान उक्त विद्यालयले भाडामा लिएको छ । मासिक रूपमा मैदानको भाडा तिरिरहेको पनि प्रधानाध्यापक चौधरीले बताए ।

‘सरस्वती मावि खेलमा अघि छ । यहाँका धेरै खेलाडी राष्ट्रियस्तरसम्म पुगिसकेका छन् । पालिका तथा जिल्लास्तरमा समेत हामी हरेक विधामा अघि छौँ । अहिले उक्त मैदान वडा सरकारको सहयोगमा थप स्तरीय बन्दैछ,’ उनले भने । उक्त मैदानमा आउँदो पुस महिनामा अध्यक्ष कप सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार