‘सारङ्गी रेटेर दैनिकी चलाउन गाह्रो भएपछि ज्याला मजदुरी गर्न भारतका विभिन्न सहरहरू पनि पुगेँ,’ डम्बरले सुनाए, ‘अहिले उमेर ढल्कदै गएर ज्यालादारी गर्न नसक्ने अवस्थामा पुगेपछि पुरानै पेसा अँगालेको छु ।’ अन्य कुनै रोजगारी नभएकाले अहिले परिवारको हातमुख जोड्नका लागि भए पनि सारङ्गी रेट्दै हिँडिरहेको उनी बताउँछन् । उनी गीतमार्फत नै आफ्नो दुःख पोख्दै सहयोगका लागि आग्रह गर्छन् ।
गणेश रावत । कोहलपुर ।
शिरमा ढाका टोपी । आधाआधी फुलेका दारी । ढल्किँदो जोबन । चाउरी पर्न थालेको मलिन अनुहार । पिठ्युँमा टालेको झुत्रो कालो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै पसल, घर–घरमा मिठो धुन सुनाउँदै दैनिकी चलाउँछन्, डम्बर गायन ।
उमेरले ५३ वर्ष पुगेका डम्बरको दैनिकी नै अहिले सारङ्गी रेट्दै बित्ने गरेको छ । जाजरकोट नलगाड नगरपालिकाका घर भएका उनी सारङ्गी रेट्दै हिजोआज कोहलपुर पुगेका छन् । कोहलपुरका पसहलहरूमा उनी सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै पैसा मागेर हिँडिरहेका भेटिन्छन् ।
उनी पछिल्लो केही वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटेर जीविकोपार्जन गर्दै आएका छन् । १२ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आएका डम्बर केही वर्ष भारतको सिम्लामा पनि बिताएको बताए ।
‘सारङ्गी रेटेर दैनिकी चलाउन गाह्रो भएपछि ज्याला मजदुरी गर्न भारतका विभिन्न सहरहरू पनि पुगेँ,’ डम्बरले सुनाए, ‘अहिले उमेर ढल्कदै गएर ज्यालादारी गर्न नसक्ने अवस्थामा पुगेपछि पुरानै पेसा अँगालेको छु ।’
अन्य कुनै रोजगारी नभएकाले अहिले परिवारको हातमुख जोड्नका लागि भए पनि सारङ्गी रेट्दै हिँडिरहेको उनी बताउँछन् । उनी गीतमार्फत नै आफ्नो दुःख पोख्दै सहयोगका लागि आग्रह गर्छन् । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् ।
परम्परागत जातीय पेसाबाटै आफ्नो पाँच जनाको परिवारको गर्जो टार्न सकेको उनी बताउँछन् । गलामा सारङ्गी भिरेर कोहलपुरका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर दैनिक ८ सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
कोहलपुर, नेपालगन्ज, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत सारङ्गी रेट्दै पुग्ने गरेको उनले बताए । ‘मागेर खान मात्र नभई आफ्नो संस्कृति र पेसा जोगाउन पनि सारङ्गी रेट्ने गरेको छु,’ डम्बरले भने, ‘यसबाट जसोतसो घरखर्च चलाउन पनि सजिलो भएको छ ।’ यो पेसाबाट आफूलाई गर्व महसुस हुने गरेको उनले सुनाए । तर, मानिसहरूबाट अनेकौँ कुरा सुन्नपर्दा भने दुःख लाग्ने गरेको उनको भनाइ छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुख्र्याैली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अँगाल्दै गए पनि आफूले भने यही पेसालाई निरन्तरता दिएको बताए । डम्बरले गाउँ सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत गाउँदै आएका छन् ।
समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुख्र्यौली पेसा अहिले विस्थापित हुँदै गएकोमा डम्बरले चिन्ता व्यक्त गरे । ‘कुनै समय झलक गन्धर्बका गीतले साराको मन छुने गरेको थियो,’ उनले भने, ‘अहिले भने गाइनेका गीतलाई त्यति महत्व दिने गरिएको छैन ।’
बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइहरू हिजोआज देखिन छाडेकोमा उनको चिन्ता छ ।
प्रतिक्रिया दिनुहोस्