बाँसगढीका १०१ स्वास्थ्य स्वयम्सेविका सामाजिक सुरक्षा कोषमा आबद्ध



कोहलपुर ।

बाँसगढी नगरपालिकाले अनौपचारिक क्षेत्रका कामदारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षदेखि यो अभियान थालेको हो ।

गत वर्ष बाँसगढीले नगरपालिकाभित्र रहेका १ सय १ जना महिला स्वास्थ्य स्यमम्सेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको थियो । जसका लागि बाँसगढी नगपालिका पुरस्कृतसमेत भएको छ । ‘यो कार्यक्रम लागू गर्ने हामी पहिलो र धेरै संख्यामा गर्ने पालिका रहेछौँ,’ बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले भने, ‘त्यसैले हामी सामाजिक सुरक्षा दिवसका अवसरमा राज्यबाट सम्मानित पनि भयौँ ।’

गत वर्षदेखि बाँसगढी नगरपालिकाले सामाजिक सुरक्षा कोषमा आबद्ध स्वास्थ्य स्वयम्सेविकाको सामाजिक सेवा कोषअन्तर्गतको प्रतिव्यक्ति मासिक २२ सय रूपैयाँ बेहोर्दै आएको छ । जसका लागि नगरपालिकाले करिब २५ लाख रूपैयाँ खर्च गरेको नगर प्रमुख खड्काले बताए । सामाजिक सेवामा आबद्ध भएका कामदारले स्वास्थ्य उपचार बिमा, दुर्घटना बिमा, ६० वर्षपछि उपदान वा निवृत्तिभर सेवा प्राप्त गर्नेछन् ।

‘पहिलो चरणअन्तर्गत पालिकाभित्रका सबै स्वास्थ्य स्वयम्सेविकालाई हामीले यसमा आबद्ध गरेका छौँ,’ मेयर खड्काले भने, ‘यसलाई निरन्तरता दिँदै अन्य क्षेत्रका कामदारलाई पनि यसमा समावेश गर्छौँ ।’ यसमा लगानी धेरै पर्ने भएकाले पनि सबैलाई एकैपटक समेट्न पालिकालाई अप्ठेरो भएको उनको भनाइ छ । आर्थिक व्यवस्थापन गर्दै अन्य क्षेत्रका कामदारलाई पनि कोषमा जोड्दै जाने उनले बताए ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत ७ गते भएको हो । यस कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य हुन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ । ऐनमा उल्लेखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार