डिल्ली शाही, शुभाकर विश्वकर्मा, कोहलपुर, मधुर पौडेल, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ शंखरियाका ४३ वर्षीय फुलबहादुर थारु दशवर्षदेखि फलामे साङलोमा बेरिएका छन् । मानसिक सन्तुलन गुमाएका उनलाई समाजको डरका कारण परिवारले गाई र गोरुसँगै दशवर्षदेखि गोठमा साङले बेरेर राखेको हो । उनी २०५७ सालदेखि मानसिक रुपमा ठिक छैनन् ।
छिमेकीहरुलाई लखेट्ने, अपशब्द प्रयोग गर्ने र एकै ठाउँमा नबस्ने भएपछि गोठभित्र बाँधेर राखिएको पाइएको छ । उनलाई त्यसरी राखेको मात्रै दशवर्ष भन्दा बढी भइसकेको उनको परिवारले जनाएको छ ।उक्त गोठभित्र उनी राती गाई, गौरु र दिउँसो उनीहरुले दिसा ‐गोबर)सँग पशुतुल्य जीवन व्यथित गरिरहेका छन् । परालको औछ्यान बनाएर सुत्छन् । खुट्टामा फलामे साङलो छ । उनलाई सुत्नको लागि समेत फलाम नै ओछ्यान छ । उनको तल्लो शरिरमा लुगा छैन । धोत्रो सिरकको च्यातिएको खोलले शरिर बेरेका छन् ।

दशवर्षदेखि फलामे साङलोमा बेरिएका बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ शंखरियाका ४३ वर्षीय फुलबहादुर थारु ।
माथिल्लो शरिरमा समेत यस्तै च्यातिएको ज्याकेट छ । फुस्स परेका दाह्री । लामो कपाल । दशवर्षयता उनलाई नुहाइएको पनि छैन । न त राम्रो उपचार नै पाउन सकेका छन् । बस पशुको भन्दा पनि तल्लो स्तरको जीवन उनले जिइरहेका छन् । उनको परिवारले फूलबहादुरलाई उपचारको लागि प्रयास नगरेको होइन् । कहिले ऋण निकालेर अस्पताल लिए । झारफुक गराएँ । तर उनी सध्य हुन सकेनन् । समाजमा धेरै बिराम गरेपछि गाउँलेहरु कै दबाबमा आफूले साङलोले बेरेर राखेको उनकी आमा पार्वती थारु बताउँछन् ।उनी रुदैँ भन्छिन्, ‘मैले जन्म दिएको छोरो हो । माया लाग्छ । फलामे साङलोले छोरो बाँधिएको छ ।
उनको अवस्था हेर्दा मेरो मन भक्कानिन्छ । हजुरको सहयोग चाहिएको छ ।’ उसो त त्यहाँको स्थानीय सरकार र नेताले फुल बहादुरको अवस्था थाहा नपाएका होइनन् । आमा पार्वती छोराको न्यायको लागि कहाँसम्म पुगिनन् । तर ६० वर्षीय उनको चित्कार कसैले सुनेनन् । स्थानीय सरकारले समेत उनको बारेमा कुनै पहल समेत गरेको छैन । नगरपालिका, वडा कार्यालय र अन्य सरोकारवाला कसैले सहयोग नगरेको उनले दुःखेसो गरिन् । आफ्नै छोरालाई साङलोभित्र दश वर्षदेखि हेरेर बस्नु परेको उनको गुनासो छ । उनले आफ्नो छोराको सहयोगको लागि सबैसँग याचना गरेकी छन् । उनलाई खाना खुवाउनको लागि एउटा थाल छ ।
खाना त्यसैमा हालिन्छ । उनी दिशा र पिसाव समेत त्यहिँ गर्छन् । परालले पुछेर बाहिर फाल्छन् । गन्हाउने परालभित्रको उनको दैनिकी देख्दा सबैका आँखा रसाउँछन् । उपचारको लागि घरको आर्थिक अवस्था समेत राम्रो छैन । फुलबहादुरको अवस्था त्यस्तो भएपछि भएकी श्रीमती पनि अर्को पोइला गइन् । उनका अहिले छोरा र नाती मात्रै छन् । उनका आमा र बाबा बुढा छन् । काम गरेर समेत उनलाई पाल्न सक्ने हैसियत छैन उनका परिवारको । कुनदिन छोरो गोठभित्रै भोकले मर्ने हो, पार्वतीलाई त्यसकै पीर छ । यता वडा नम्बर ४ का अध्यक्ष रजमान चौधरीले उनको उपचारको लागि वडाले धेरै पटक पहल गरेको बताए ।
उनका अनुसार वडा कै सक्रियतामा उनको उपचारको लागि डाक्टर सहितको टोली आएको थियो । मानसिक रुपमा ठिक नभएकोले खुला छोड्न वित्तिकै सबैलाई हान्ने गरेको र परिवारले समेत उपचारको लागि लिन आँट नगरेका कारण उनको उपचार हुन नसकेको अध्यक्ष चौधरीले बताए । ‘उनका परिवारका वडामा आएका थिए । मलाई भनेका पनि हुन् । मैले उसको उपचारको लागि पहल पनि गरेको हो । तर पछिल्लो समयमा केही पनि गरेको छैन । उसले राज्यबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले पनि उसको व्यवस्थापनको लागि स्थानीय सरकारले अग्रसरता लिने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्