रामशरण गुरुले ‘पौडी’ शीर्षकको पाठ पढाएपछि प्रश्न गरे, ‘नानीबाबू, पौडी कसरी खेलिन्छ ?’
विद्यार्थीहरूले पालैपालो उत्तर दिए । सुतनले उत्कृष्ट उत्तर दिएकोमा विशेष स्याबासी नै पाए ।
गुरु एक्कासि जङ्गिए, ‘तनुज, तिमी त कति बोधो, आबा न चाबाको ! ’
टन्टलापुर जेठको घामले उखरमाउलो गर्मी भइरहेको थियोे । रामशरण गुरुले विद्यार्थीहरूलाई स्कुलबाटै पौडी खेलाउन लगे ।
तनुजले खोलामा झ्याप्ल्याङ्ङ हामफाल्यो र धमाधम पौडी खेल्न थाल्यो ।
‘अरे म त झन् के कम र ! मैले त ‘पौडी’ कसरी खेलिन्छ भन्ने प्रश्नको राम्रो उत्तर दिएर स्याबासी नै पाएको छु ।’ सुतनले मनमनै गुन्दै पानीमा झ्याप्ल्याङ्ङ हामफाल्यो । खोला गहिरो थियो । अचानक सुतनका नाकमुखले पानी पिउन थाले । अनि चिच्यायो, ‘आबुई, म त डुबें ।’
तनुज अझै पौडी खेल्दै थियो । रामशरण गुरु खोला किनारमा यता र उता गर्दै थिए । उनले हतारिँदै तनुजलाई भने, ‘ए तनुज, सुतन त डुब्दै छ । चाँडै निकाल उसलाई ।’ तनुजले अचम्मित हुँदै भन्यो, ‘हैन गुरु, हजुरलाई पनि सुतनलाई जस्तै पौडी खेल्न आउँदैन कि क्या हो ?’
सिर्जनाकुञ्ज, खोटाङ ।










प्रतिक्रिया दिनुहोस्