कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘क्लिन एण्ड ग्रिन सिटी’ को नीति लिएको छ । कोहलपुरलाई स्वच्छ र सुन्दर नगर बनाउनको लागि आवश्यक बजेट समेत विनियोजन भएको छ । सफा र स्वच्छ नगर बनाउने भनिए पनि सोही अनुसार काम गर्न नसकेको गुनासो बढ्दै गइरहेको छ । दैनिक रुपमा नगर क्षेत्रमा उत्पन्न हुने फोहोरमैला अल्पकालिन रुपमा व्यवस्थापन बाहेक अन्य काम हुन सकेको छैन् ।
लामो समयदेखी नगरबासीले दीर्घकालिन फोहोर व्यवस्थापनको माग गर्दै आएका छन् । गत वर्ष निकै तामझामका साथ गुट्खाजन्य पदार्थ मुक्त नगरपालिका घोषणा गरिए पनि घोषणा मै सिमित छ । क्लिन एण्ड ग्रिन सिटीको योजना लिएको नगरपालिकाले फोहोर व्यवस्थापनको लागि भन्दै नगरका चोक चोकमा डस्बिन राखेको छ । बढ्दो फोहोरको अल्पकालिन व्यवस्थापनको लागि डस्बिन राखिएको हो ।
गत आर्थिक वर्षको ५ लाख ५० हजार बजेटबाट खरिद गरेर ५० वटा डस्बिन राखिएको नगरपालिकाले जनाएको छ । त्यसमध्ये ४ लाखमा डस्बिन र १ लाख ५० हजारमा डस्बिन झुण्ड्याउने फलाम रहेको नगरपालिकाका अधिृकत अग्नी आचार्यले जानकारी दिए । उनका अनुसार बसपार्कमा १० थान र अन्य बजार क्षेत्रमा राखिएको छ । वातावरण तथा विपद् व्यवस्थापन शाखा मार्फत खरिद गरेर बजार क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यले डस्बिन राखिएको उनको भनाई रहेको छ ।
बसपार्क तथा अन्य बजार क्षेत्रमा मानिसहरुको अत्यधिक भिड हुने क्षेत्रमा राखिएका डस्बिनबाट फोहोर व्यवस्थापन हुने विश्वास नगरपालिकाले लिएको छ । उता स्थानीयले भने सडक तथा बसपार्क क्षेत्रमा डस्बिन राखिनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । अल्पकालिन रुप मै भएपनि नगरको फोहोर व्यवस्थापन हुने उनीहरुको प्रतिक्रिया छ । स्थानीय सागर गैरेले बजारका विभिन्न चोकमा फोहर संकलन गर्ने डस्टबिनहरु राखेको देख्दा खुशी लागेको बताए । एक दुई बर्ष यता सानै स्केलमा भएपनि फोहोर उठाउने र त्यसको बिसर्जन गर्ने अभ्यास सुखद रहेको गैरेको भनाई रहेको छ । अहिले नगरपालिकाले फोहोर संकलन गरेर संकलित फोहरलाई चपरगौढी स्थित हरियाली सामुदायिक बन भित्रको खाडलमा फाल्दै आएको छ । गत असार महिनामा खरिद गरिएका डस्बिन लामो समय देखी नगरपालिकाको परिसरमा राखिएका थिए ।
मुख्य सहर क्षेत्र रहेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले भने यस विषयमा अनविज्ञता प्रकट गरेका छन् । वडा नम्बर ११ मुख्य सहर क्षेत्रमा पर्ने भएपनि यस विषयमा आफुलाई कुनै पनि जानकारी नपाएको र बिहान बाहिर निस्किदा मात्र थाहा पाएको उनको भनाई छ । अध्यक्ष थापाका अनुसार डस्बिन राख्दा वडा कार्यालय सँग समेत सल्लाह गरिएको थिएन । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले फोहोर व्यवस्थापनको जिम्मा सबै नागरिकको भएको बताएका छन् । नगरको फोहोर व्यवस्थापनको लागि सबै सरोकारवालासँग समन्वय भईरहेको भन्दै आफ्नो आँगनको समेत फोहोर उठाउने समेत नगरपालिकाको जिम्मा हो भन्ने मानसिकता त्याग्न आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्