सिटिजन्स बैंकद्वारा लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार र असुलीसम्बन्धी कार्यक्रम सम्पन्न



नेपालगन्ज ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०८३/८४ को बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गर्न प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुस्’ कार्यक्रम आयोजना गरेको हो ।

सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि तय गरिएका बजेट तथा रणनीतिक योजनाबारे छलफल गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकको केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने, कर्जा विस्तारलाई रणनीतिक रूपमा अघि बढाउने तथा कर्जा असुली प्रक्रियालाई सुदृढ बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो ।

लुम्बिनी प्रदेशका नौ जिल्लामा सिटिजन्स बैंकका ५१ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । बैंकले प्रदेशमा आफ्नो सेवा विस्तारसँगै कर्जा लगानी र असुलीलाई प्राथमिकतामा राखेको जनाएको छ । बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा ग्राहक लक्षित नयाँ वित्तीय सेवाहरूलाई समेत प्राथमिकता दिँदै आएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४ र २०२५’ अवार्ड प्राप्त गर्न सफल बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।

साथै, क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार हाल २० लाख ८५ हजारभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार