डिल्ली शाही । कोहलपुर ।
रोहीणी खोलामा किनारमा हिजोआज मानिसहरुको निकै भिड लाग्ने गरेको छ । कुनै सांस्कृतिक कार्यक्रम वा अन्य कुनै औपचारिक काम नभई त्यहाँ घुम्न आउने पर्यटकहरुको भिड लाग्ने गरेको हो । कोहलपुर नगरपालिका १२ रोहिणी खोलामा रहेको भ्यूटावर अवलोकन गर्ने मानिसहरुको संख्या दैनिक बढ्दै जान थालेको छ । तीन बर्ष अघि स्थापना भएको भ्यूटावरमा मानिसहरु फुर्षदको समयमा अवलोकन गर्न आउने गरेका छन् ।
दैनिक आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेपछि अहिले भ्यूटावर प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकसित हुँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्र अहिले कोहलपुरको भ्यूटावर बनिरहेको छ । सिर्जना सामुदायिक वन उपभोक्ता समूहले भ्यूटावरको निर्माण गरेको हो । कोहलपुर नेपालगन्ज लगायतका ठूला शहरबाट नजिकै र सडकको सहज पहुँचका कारण भ्यूटावर अवलोकन गर्न पुग्नेहरुको संख्या बढिरहेको बताइन्छ ।
समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीले भने, ‘यहाँको मनोरम दृश्यहरु हेर्नको लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन्, भ्यूटावरबाट कोहलपुरको सुन्दर बस्ती र हरियाली वन जंगल सहजै हेर्न सकिन्छ । त्यहीकारणले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ ।’ अध्यक्ष पराजुलीका अनुसार अहिले सरदर दैनिक एकसय ५० भन्दा बढी मानिसहरु भ्यूटावर अवलोकनको लागि पुग्ने गर्दछन् । भ्यूटावर अवलोकन गर्न आएका मानिसहरुलाई धेरै समय भुलाउनको लागि परिसरमा आकर्षण पार्क समेत निर्माण गरिएको छ । भ्यूटावरको चढ्नको लागि समूहले केही शुल्क समेत लिने गरेको छ ।
‘अहिले भ्यूटावर चढ्न आएका मानिसहरुबाट मासिक एक लाखसम्म आम्दानी हुने गरेको छ’ समूहका अध्यक्ष पराजुलीले भने, ‘भारतका विभिन्न स्थानका साथै बाँके आसपासका जिल्लाहरुबाट पनि भ्यूटावर अवलोकनका लागि मानिसहरु आउने गरेका छन् ।’ भ्यूटावरमा शुक्रबार, शनिबार र बिदाको दिन अवलोकन गर्ने मानिसहरुको भिडभाड नै लाग्ने गर्दछ । ‘आउँदो बर्षमा अझै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्वि हुनसक्छ’ उनले थपे, ‘त्यसैलाई मध्यनगर गर्दै भौतिक पुर्वाधार समेत बढाउन सुरु गरिसकेका छौं, यहाँ आउने पर्यटकहरुलाई धरै समय भुलाउन सकियोस् भनेर हात्तीसफारी, बोटिङ्ग, मिनी चिडियाखाना लगायतका संरचना चाँडै निर्माण गर्ने योजनामा छौं ।’ भ्यूटावरमा पुगेका कोहलपुर १० का नैनसिंह केसीले चढ्नैकै लागि पहिलोपटक आएको बताए ।
‘दाङ जाँदै गर्दा बाटोमा नै भ्यूटावर देखेपछि यहाँ आएको हुँ’ उनले भने, ‘अँझै भ्यूटावरको चुच्चोमा पुग्दा एउटा स्वर्ग जस्तो महसुस गरेँ ।’ काम सिलसिलामा कतारमा बस्दै आएका केसीले भ्यूटावरबाट कोहलपुर दृष्य देखिनुका साथै चिसो हावापानीको आन्नद मिलेको बताए । भ्यूटावर परिसरमा रहेको पिकनिक स्थलमा पिकनिक महिनामा दर्जनौं समूहहरु पुग्ने गरेका छन् । कोहलपुरमा रहेको गुरुकुल सकर मन्टेश्वरी विद्यालयका भोजराज शाहीले हरियाली, चराचुरीङ्गकीका आवाज सुन्दै रमाउन यो ठाउँ एकदमै उपयुक्त रहेको बताए ।
‘भ्यूटावर हेर्न पहिलोपटक पुगेको थिएँ, यहाँ त मन नै बहकाउने सुन्दर स्वच्छ हावापानीका साथै बातावरण रहेछ’ उनले भने । भ्यूटावर क्षेत्रलाई कोहलपुर क्षेत्रकै प्रमुख पर्यटकिय स्थलका रुपमा विकास गर्नको लागि समूहले आगामी दिनहरुमा गतिविधि बढाउने जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्वि हुन थालेसँगै वन समूहले आम्दानी समेत बढाइरहेको छ ।