हिमाली अर्थतन्त्रमा नयाँ सम्भावनाः चौँरीको दूधबाट व्यावसायिक चिज उत्पादन हुँदै



नन्दराम जैशी । सुर्खेत ।

वर्षौँदेखि हिमाली पाटनमा चौँरी चराउँदै आएका डोल्पाका किसानका लागि अब दूध बेच्ने मात्र नभई त्यही दूधलाई प्रशोधन गरेर उच्च मूल्यको चिज उत्पादन गर्ने सम्भावनाको ढोका खुलेको छ । यसका लागि डोल्पाको जगदुल्ला गाउँपालिका–४ भालुलेखमा रहेको भालु व्यावसायिक चौरी फार्ममा व्यावसायिक रूपमा याक तथा चौँरीको दूधबाट चिज उत्पादन गर्न लागिएको हो । जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी)बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ ।

योसँगै लामो समयदेखि पूर्वाधार तयार भएर पनि सञ्चालनमा आउन नसकेको उद्योगले गति लिने अपेक्षा छ । सम्झौताअनुसार डीडीसीले चिज उत्पादनका लागि आवश्यक प्राविधिक जनशक्ति, तालिम, प्रविधि तथा आवश्यक उपकरण उपलब्ध गराउने तयारी छ भने गाउँपालिकाले उत्पादनको जिम्मेवारी लिनेछ । उत्पादित चिज डीडीसीले खरिद गरी निर्यात तथा बिक्रि गर्नेछ । यसले हिमाली किसानले वर्षौँदेखि भोग्दै आएको सबैभन्दा ठूलो समस्या उत्पादनपछि बजार कहाँ खोज्ने भन्ने चिन्ता अन्त्य हुने अपेक्षा गरिएको छ ।

डीडीसीका महानिर्देशक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले भालुलेखमै पुगेर सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि डीडीसीले आवश्यक प्राविधिक जनशक्ति र उपकरण पठाएर उद्योग सञ्चालनको तयारी अघि बढाएको छ । डीडीसीको योजनाअनुसार करिब १५ दिनभित्र चिज उत्पादन सुरु गर्ने र उत्पादन थालेको तीन महिनाभित्र बजारमा पु¥याउने तयारी छ । जगदुल्ला गाउँपालिकाले चिज उद्योग सञ्चालनका लागि २०७९ सालदेखि नै भवन तथा आवश्यक पूर्वाधार निर्माण गर्दै आएको थियो ।

उपकरणसमेत व्यवस्थापन गरिएको भए पनि प्राविधिक जनशक्ति र बजार व्यवस्थापनको अभावमा उद्योग सञ्चालन हुन सकेको थिएन । अहिले डीडीसीको प्रत्यक्ष संलग्नतापछि भने उद्योग सञ्चालनको बाटो खुलेको हो । डीडीसीका महानिर्देशक पाण्डेका अनुसार जगदुल्लाबाट मात्रै वार्षिक करिब ३० टनसम्म याक चिज उत्पादन गर्न सकिने सम्भावना छ । उत्पादनको बजार सुनिश्चित गर्ने जिम्मेवारीसमेत डीडीसीले लिने भएपछि किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

‘उत्पादन गरेको चिज बिक्री हुने ग्यारेन्टी भएपछि किसानलाई उत्पादन बढाउन सहज हुनेछ,’ उनले भने, ‘हिमाली क्षेत्रमा उत्पादन हुने कच्चा दूधलाई त्यहीँ प्रशोधन गरी उच्च मूल्यको वस्तुमा परिणत गर्ने भएकाले स्थानीय अर्थतन्त्रमा मूल्य अभिवृद्धि हुने सम्भावना पनि यससँग जोडिएको छ ।’ उनका अनुसार समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइमा रहेको जगदुल्लाको भालुलेख चौरी तथा याकपालनका लागि अनुकूल क्षेत्र मानिन्छ ।

मौरे, जगदुल्ला पाटन र भालुलेखलगायत क्षेत्रमा प्रशस्त चरन क्षेत्र छन् । यही प्राकृतिक स्रोतलाई व्यावसायिक उत्पादनसँग जोड्ने प्रयास अहिले सुरु भएको हो ।जगदुल्लामा मात्रै करिब ३० घरधुरी चौँरीपालनमा आबद्ध रहेको स्थानीय बताउँछन् । फार्ममा पाँच, छ सय हाराहारी चौँरी रहेको बताइन्छ । हाल दूध तथा दही उत्पादन हुँदै आए पनि त्यसलाई ठूलो परिमाणमा प्रशोधन गरेर बजारयोग्य चिजमा परिणत गर्ने काम हुन सकेको थिएन ।

स्थानीय उत्पादन उद्योगसँग जोडियो

गाउँपालिका अध्यक्ष रोकायका अनुसार जगदुल्लामा उत्पादित दूध मात्र नभई जुम्लासँगको सीमावर्ती क्षेत्रमा पालिएका याक तथा चौँरीको समेत दूध संकलन गरेर चिज उत्पादन गर्ने योजना छ । यसले उद्योगको कच्चा पदार्थको आधार फराकिलो बनाउने र चौँरीपालन विस्तारमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको उनले बताए ।
‘डोल्पामा चौँरीपालन नयाँ व्यवसाय होइन ।

पुस्तौँदेखि चौँरी तथा याक पालिँदै आएका छन्, तर परम्परागत पशुपालनलाई व्यावसायिक मूल्य शृंखलासँग जोड्न नसक्दा किसानले अपेक्षित आर्थिक लाभ लिन सकेका छैनन्,’ उनले भने, ‘दूध उत्पादन हुन्छ, तर बजार टाढा छ । सडक छैन । दूध लामो दूरीसम्म लैजान कठिन छ । दूधलाई प्रशोधन गरेर लामो समयसम्म सुरक्षित राख्न सकिने वस्तुमा परिणत गर्ने प्रविधि र बजार खोजेका हौँ ।’

चिज उद्योगले यही समस्याको समाधान गर्ने उनको भनाइ छ । उनका अनुुसार दूधलाई चिजमा प्रशोधन गरेपछि उत्पादनको आयतन घट्छ, भण्डारण अवधि बढ्छ र टाढाको बजारसम्म पु¥याउन तुलनात्मक रूपमा सहज हुनेछ । त्यसैले डोल्पाजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा दूधको मूल्य अभिवृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा चिज उत्पादनलाई हेरिएको उनी बताउँछन् ।

उनले थपे, ‘यसको प्रत्यक्ष लाभ चौरीँपालक किसानलाई पुग्न सक्छ । दूधको नियमित खरिद सुनिश्चित भए किसानले चौँरीको सङ्ख्या बढाउने, पशु स्वास्थ्य र पालन व्यवस्थापनमा लगानी गर्ने तथा परम्परागत पशुपालनलाई व्यावसायिक उद्यमका रूपमा विकास गर्ने सम्भावना छ ।’ डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङजस्ता उपल्लो डोल्पाका क्षेत्र चौँरी तथा याकपालनका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छन् । तर सडक, ढुवानी, प्राविधिक सेवा र बजारको अभावमा ठूलो परिमाणमा चिज उत्पादन हुन सकेको छैन । यही कारण जगदुल्लामा डीडीसीको प्रवेशलाई स्थानीय तहले ठूलो अवसरका रूपमा हेरेका छन् ।

दूधका लागि पाँच हजार चौँरी 

डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सो, काइके र जगदुल्लालगायत क्षेत्रमा करिब पाँच हजार चौँरी रहेको अनुमान छ । जिल्लाका अन्य उच्च हिमाली क्षेत्रमा समेत चौँरीपालनको पर्याप्त सम्भावना रहेको स्थानीय व्यवसायी धनबहादुर बुुढाले बताए । ‘डोल्पामा चिज उद्योगका लागि कच्चा पदार्थको आधार कमजोर छैन । समस्या उत्पादनको सम्भावनाभन्दा त्यसलाई बजारसम्म पु¥याउने संरचनाको हो,’ उनले भने, ‘डीडीसीले जगदुल्लाबाट सुरु गरेको कार्यक्रमलाई डोल्पाका अन्य सम्भावित क्षेत्रमा विस्तार गर्ने तयारी गर्नुपर्छ ।’

किसानले व्यावसायिक रूपमा चिज उत्पादन गर्न चाहे स्थानीय तहसँग समन्वय गरेर प्राविधिक, उपकरण र बजार व्यवस्थापनमा सहयोग गर्ने डीडीसीको पनि प्रतिबद्धता छ । डोल्पाको चिजको अर्को सम्भावित विशेषता यसको भौगोलिक र प्राकृतिक स्रोतसँग जोडिएको छ । व्यवसायी बुुढाका अनुुसार उच्च हिमाली पाटनमा याक तथा चौँरीले प्राकृतिक घाँस, जडीबुटी र विभिन्न हिमाली वनस्पति चरन गर्ने गर्छन् । यार्सागुम्बालगायत वनस्पति पाइने क्षेत्र आसपासका प्राकृतिक चरनमा चौँरी चराउने भएकाले दूधको गुणस्तर र त्यसबाट बन्ने चिजको स्वादमा फरकपन आउन सक्ने स्थानीय किसानको विश्वास छ ।

डोल्पामा चिज उद्योगको सम्भावना बलियो भए पनि चुनौती पनि रहेको डेरी व्यवसायी संघ कर्णालीका अध्यक्ष मोहनप्रसाद जैसीले बताए । ‘पहिलो चुनौती कच्चा दूधको नियमित आपूर्ति हो । चौँरीपालन मौसमी चरनमा आधारित भएकाले वर्षभरि एउटै परिमाणमा दूध उपलब्ध नहुनसक्छ,’ उनले भने ‘दोस्रो चुनौती उच्च हिमाली क्षेत्रमा उद्योग सञ्चालनको लागत हो । तेस्रो चुनौती उपकरण, ऊर्जा, दक्ष जनशक्ति र मर्मतसम्भारको हो ।’

उत्पादन स्थलसम्म उपकरण पु¥याउनदेखि उत्पादित चिजलाई बजारसम्म लैजानसम्म उच्च लागत लाग्ने उनको अनुुमान छ । डोल्पाको विकट भूगोलका कारण सामान्य डेरी उद्योगभन्दा यहाँको उत्पादन लागत बढी हुने सम्भावना रहेको उनको भनाइ छ । ‘डीडीसीले बजार सुनिश्चित गर्ने प्रतिबद्धता गरे पनि दीर्घकालीन रूपमा उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन लागत, ढुवानी, गुणस्तर र ब्रान्डिङमा एकीकृत रणनीति आवश्यक देखिन्छ,’ उनले भने, ‘किसानलाई दूधको मूल्य मात्र होइन, उत्पादन बढाउन प्रोत्साहन दिनुुपर्छ, जसले चौँरीको सङ्ख्या बढ्छ, रोजगारी सिर्जना हुन्छ भने स्थानीय स्तरमा दूध संकलन, प्रशोधन, प्याकेजिङ, ढुवानी र बिक्रीसँग जोडिएका नयाँ व्यवसाय पनि विकास हुन्छन् ।’

अब यसको सफलता सम्झौतामा हस्ताक्षर गरेर मात्र निर्धारण हुनेछैन । उद्योग नियमित चल्यो कि चलेन, किसानबाट दूध नियमित खरिद भयो कि भएन, उत्पादनको गुणस्तर कायम रह्यो कि रहेन र बजारले डोल्पाको चिजलाई स्वीकार ग¥यो कि गरेन भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार